close

नागरिक एपमा समेत क्यूआर कोड, सेवा लिन कागजात बोक्नै नपर्ने

टेकपाना टेकपाना

बैशाख १९, २०७८ १२:३७

नागरिक एपमा समेत क्यूआर कोड, सेवा लिन कागजात बोक्नै नपर्ने

काठमाडौं । पछिल्लो समय अनलाइन भुक्तानी सेवामा क्रान्ति ल्याइरहेको क्यूआर कोड अब नागरिक एपमा समेत राखिएको छ । नागरिकको पहिचान प्रमाणीकरण गर्नुपर्ने सेवा तथा कार्यालयलाई लक्षित गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो ।

आइतबार नागरिक एपको औपचारिक सुरुवात भएसँगै एपमा क्यूआरकोड उपलब्ध भएको छ । यो विश्वमै क्यूआरकोडको नौलो प्रयोग भएको सरकारी दाबी छ ।

सरकारी कार्यालय होस् वा बैंक तथा वित्तीय संस्था, सार्वजनिक सेवा प्रवाह गर्ने निकाय होस् वा शिक्षण संस्था, सबैलाई नागरिकको पहिचान प्रमाणीकरण सधैं टाउको दुखाईको विषय हुनेगरेको छ । अर्कोतर्फ कुनै सेवा लिन नागरिकताको फोटोकपी, सम्बन्धित कागजात अनि पासपोर्ट साइजको फोटो साथमा बोकेर जानुपर्ने झन्झट पनि उस्तै ।

त्यसमाथि व्यक्तिगत विवरण दुरुपयोग र किर्ते हुने गरेका समाचार पनि हामीले बारम्बार सुन्दै आएका छौं । अब भने नागरिक एपले यस किसिमका समस्याको समाधान गरिदिने भएको छ ।

नागरिक एपमा हरेक नागरिककाे नागरिकता, राहदानी, मतदाता परिचयपत्र, शैक्षिक प्रमाणपत्र, प्यान नम्बर आदि जस्ता प्रमाणीत विवरणहरु जोडिएका छन् । तिनै विवरणको आधारमा नागरिक एपले नागरिकको पहिचान स्थापित तथा प्रमाणीत गर्नेछ ।

यसका लागि नागरिक एपमा माथि दायाँ कुनामा क्यूआर कोड स्क्यानर राखिएको छ ।अबको समयमा कुनै पनि सेवा लिन व्यक्तिगत विवरण तथा कागजात बुझाउनुपर्ने बाध्यताको अन्त्य यही क्यूआरले गर्नेछ ।

उदाहरणको लागि नागरिक एपबाट क्यूआर स्क्यान गरेर नै अनलाइनबाट बैंक खाता खोल्न, लोकसेवाको फारम भर्न र सिम कार्ड लिन सकिन्छ । साथै ईकमर्स, हवाई जहाजको टिकट खरिद, होटेलको बुकिङ लगायत नागरिकको पहिचान खुलाउनुपर्ने सबै स्थानमा यो सुविधा सजिलै प्रयोग गर्न सकिने बताइएको छ ।

यसबाट नागरिकको समय बचत हुने, खर्च जोगिने र सम्बन्धित निकायलाई ढड्डा खडा गर्नुपर्ने बाध्यता र किर्ते हुनसक्ने जोखिम समेत रहने छैन । नागरिकको पहिचान प्रमाणीकरण गर्न एपमा व्यक्तिका आधारभूत विवरण ५ भागमा वर्गीकरण गरिएका छन् ।

जसमा प्रोफाइलअन्तर्गत व्यक्तिको नाम, ठेगाना, जन्ममिति, लिङ्ग, मोबाइल नम्बर, ईमेल ठेगाना र तस्वीर राखिएको छ । यस्तै नागरिकता, राहदानी, स्थायी लेखा नम्बर-प्यान, शैक्षिक प्रमाणपत्र जस्ता जानकारीलाई पनि छुट्याएर राखिएको छ ।

नागरिकलाइ सेवा दिने कार्यालयहरु नागरिक एपमा क्लाइन्टको रुपमा सूचीकृत हुन्छन् । जसलाई नागरिक एपले नागरिकको आवश्यक जानकारीमा मात्र पहुँच दिन्छ ।

नागरिक एपबाट नागरिक पहिचान प्रमाणीकरण गर्दा सेवाप्रदायक निकायले व्यक्तिगत विवरणको प्रतिलिपि भने लैजान नपाउने बताइएको छ । पहिचान प्रमाणीत गर्न क्यूआर स्क्यान गर्दा नागरिक एपमा सम्बन्धित निकायले कुन कुन व्यक्तिगत सूचनामा पहुँच बनाउन खोजिरहेको छ भन्ने जानकारी देखिन्छ ।

त्यस किसिमको पहुँच दिने वा नदिने भन्ने विषय सम्बन्धित नागरिक आफैंले निर्धारण गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१