close

क्लाउड कम्प्युटिङ उद्योगमा अमेजनको वर्चस्व, माइक्रोसफ्ट र गुगल पछ्याउँदै

टेकपाना टेकपाना

बैशाख १९, २०७८ ११:३४

क्लाउड कम्प्युटिङ उद्योगमा अमेजनको वर्चस्व, माइक्रोसफ्ट र गुगल पछ्याउँदै

काठमाडौं । २०२१ को पहिलो त्रैमासकमा क्लाउड कम्प्युटिङ शीर्षकमा हुने विश्वको खर्च ४१ अर्ब ८० करोड डलर पुगेको छ । जसको वर्षिक ३५ प्रतिशत वार्षिक वृद्धिदर रहेको एनालिस्ट कम्पनी क्यानालिसले उल्लेख गरेकाे छ ।

क्यानालिसको २०२१ को पहिलो त्रैमासिकको क्लाउड स्पेन्डिङ रिपोर्टका अनुसार यस क्षेत्रमा अग्रपङ्तिमा अमेजन वेब सर्भिस अर्थात् एडब्लुएस कम्पनी छ, जसको बजार हिस्सा ३२ प्रतिशत छ ।

यस्तै दोस्रो स्थानमा रहेको माइक्रोसफ्ट एज्यूरको बजार हिस्सा १९ प्रतिशत र गुगल क्लाउडको हिस्सा ७ प्रतिशत छ । गत वर्षको अन्तिम त्रैमासिकदेखि यी तीन कम्पनीबीचले ओगटेको बजार हिस्सामा कुनै परिवर्तन आएको छैन ।

कोभिड महामारीका कारण सबै कम्पनी तथा बिजनेस हाउसहरु डिजिटल रुपान्तरणतिर अगाडि बढिरहँदा यी क्लाउड जायन्ट कम्पनीहरु पनि तीव्र गतिमा वृद्धि हासिल गरिरहेका छन् ।

अमेजनले हालै सार्वजनिक गरेको आफ्नो पहिलो त्रैमासिकको नयाँ आँकडाअनुसार कम्पनीले ३२ प्रतिशतको वार्षिक बिक्री वृद्धिदरसहित यसवर्ष क्लाउड उद्योगबाट मात्र ५४ अर्ब डलर कमाउने लक्ष्य लिएको छ । एडब्लूएसले अमेजनको अपरेटिङ आम्दानीमा हाल ४ अर्ब १६ करोड डलरको योगदान दिइरहेको छ ।

माइक्रोसफ्टले पनि यसै हप्ता २०२१ को तेस्रो त्रैमासिकमा आफ्नो कमर्सियल क्लाउड आम्दानी १७ अर्ब ७० करोड हुने बताएको छ । जुन एक एक वर्षको अवधिमा ३३ प्रतिशत वृद्धि हो । माइक्रोसफ्ट एज्युरको आम्दानी यस वर्ष ५० प्रतिशतले बढेको छ ।

क्यानालिसका अनुसार २०२१ को पहिलो त्रैमासिकमा पहिलोपटक क्लाउडको खर्चले ४० अर्ब डलर पुरा गरेको हो । २०१८ मा भने यो निकै न्यूनस्तरमा थियो । यद्यपि त्यसयता यसको विकासले गति लिएको छ । यसबाहेक अघिल्लो वर्षकाे तुलनामा कूल खर्च ११ अर्ब डलरले बढेको छ र २०२० को चौंथो त्रैमासिकको तुलनामा यो खर्च करिब २ अर्ब डलरले बढेको छ ।

यस्तै गुगलको क्लाउडले पनि यसै हप्ता आफ्नो रिपोर्ट सार्वजनिक गर्‍यो । जसमा उसको २०२१ को पहिलो त्रैमासिकमा क्लाउडतर्फ ४ अर्ब ४ करोड ७० लाख डलर आम्दानी भयो । जुन ४६ प्रतिशतको वार्षिक वृद्धिदर हो ।

तर उसले यही अवधिमा क्लाउड उद्योगमा ९७ करोड ४० लाख डलरको अपरेटिङ घाटा पनि बेहोर्नुपरेको बताएको छ । तर अघिल्लो वर्ष सोही अवधिमा उसको घाटा योभन्दा धेरै, एक अर्ब ७३ करोड डलर रहेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१