close

नागरिक एप चलाउन आफ्नै नामको सिमकार्ड अनिवार्य

टेकपाना टेकपाना

बैशाख १९, २०७८ १३:३७

नागरिक एप चलाउन आफ्नै नामको सिमकार्ड अनिवार्य

काठमाडाैं । सरकारले आइतबार नागरिक एपको फुल भर्सन सार्वजनिक गरेको छ । संभव भएसम्मका सबै सरकारी सेवा मोबाइल एपबाटै दिने उद्देश्यले यो एप ल्याइएको हो ।

तर यो एप प्रयोग गर्न प्रयोगकर्ताको आफ्नै नाममा सिम दर्ता भएको हुनुपर्ने बताइएको छ । अर्कैको नाममा सिम भएका प्रयोगकर्ताले सुरुमै एप लगईन गर्न सक्दैनन् ।

अझै पनि धेरै प्रयोगकर्ताले अर्कैको नाममा रहेको सिमकार्ड बोक्ने गरेको पाइन्छ । यस्तो अवस्थामा नागरिक एप प्रयोग गर्न आफ्नै नाममा सिमकार्ड नामसारी गर्न सेवाप्रदायकले आग्रह गरेका छन् ।

आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा छ र आफ्नो नाममा कसरी नामसारी गर्ने भनेर जानकारी लिनु आवश्यक छ ।

नेपाल टेलिकम

यदि तपाईं नेपाल टेलिकमको सिम प्रयोगकर्ता हो र तपाईं अरु कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने अब सिमकार्ड आफ्नो नाममा नामसारी गर्नुपर्ने अवस्था आएको छ । त्यसकालागि सुरूमा सिमकार्ड कसकाे नाममा छ पत्ता लगाउन आवश्यक छ ।

त्यति गरेर तपाईं टेलिकमको कार्यालय भने अनिवार्य रुपमा पुग्नुपर्नेछ । टेलिकमले प्रिपेड र पोस्टपेड गरी दुई फरक सिमकार्ड उपलब्ध गराउँदै आएकाले सिमकार्ड नामसारीको प्रक्रिया पनि सिम अनुसार फरक नै रहेको छ ।

१. प्रिपेड

टेलिकमका अनुसार यदि प्रिपेड प्रयोगकर्ताले अन्य व्यक्तिको नाममा रहेको सिमकार्ड आफ्नो नाममा परिवर्तन गर्नुपरेको खण्डमा लामो समयदेखि उक्त सिमकार्ड आफैले प्रयोग गरिरहेको हुनुपर्छ ।

यदि त्यसो भएको खण्डमा तपाईं सक्कली नागरिकताको साथमा एक प्रति नागरिकताको फोटोकपी र एक प्रति फोटाे लिएर कार्यालयमा पुग्नुपर्ने हुन्छ । त्यहाँ तपाईंले कबुलियत नामको एउटा फर्म भनुपर्ने हुन्छ ।

त्यस्तै विगत ६ महिनाभित्र उक्त सिमकार्ड बाट कल गर्नुभएको ५–७ ओटा नम्बर भेरिफाइ गर्नुपर्ने हुन्छ । यति गरेर तपाईंले अर्को व्यक्तिको नाममा रहेको सिमकार्ड आफ्नो नाममा परिवर्तन गर्न सक्नुहुन्छ । यसका लागि ५० रुपैयाँ शुल्क लाग्नेछ ।

२. पोस्टपेड

पोस्टपेडको हकमा भने नामसारीको प्रक्रिया केही झन्झटिलो रहेको छ । त्यसका लागि सिमकार्ड लिने र सिमकार्डमा नाम भएका दुवै व्यक्ति कार्यलयमा उपस्थिति हुनुपर्नेछ । यदि सिमकार्डमा नाम भएको व्यक्ति उपस्थिति हुन नसकेको खण्डमा उक्त व्यक्तिको वारिसनामा सहित कार्यालयमा पुग्नुपर्नेछ ।

त्यतिमात्रै नभएर साथमा लिने व्यक्तिको सक्कली नागरिकता सहित फोटो कपी र सिमकार्डमा नाम भएको व्यक्तिको नागरिकताको फोटोकपी अनिवार्य छ । भने, लिने व्यक्तिको एक प्रति फोटाे पनि आवश्यक पर्नेछ ।

यदि संस्थाको हकमा भएको खण्डमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्नेछ । यी कागजपत्र लिएर कार्यालय पुगी त्यहाँ तपाईंले एउटा फर्म भर्नुपर्ने हुन्छ । उक्त फर्म भरी ५ सय ६५ रुपैंया तिरेर तपाईंले सिमकार्ड आफ्नो नाममा सार्न सक्नुहुनेछ ।

एनसेल

यदि तपाईं एनसेलको सिम प्रयोगकर्ता हो र तपाईं अरु कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने एनसेलको कार्यालयमा सिमकार्ड लिने र दिने दुवै व्यक्तिको उपस्थिति अनिवार्य छ ।

साथै नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता, फोटो साथमा हुनुपर्नेछ । यदि सिमकार्डमा नाम भएको व्यक्ति उपस्थिति नभएको खण्डमा उक्त व्यक्तिको वारिसनामा आवश्यक छ । तर, त्यसका लागि तपाईंले उक्त सिमकार्ड विगत एक वर्षदेखि प्रयोग गरेको हुनुपर्छ ।

पछिल्लो ६ देखी ८ महिनाअघि डायल गरेका १० देखि १५ वटा नम्बर उपलब्ध गराउनुपर्नेछ । उक्त नम्बरमा भएको कल डिटेल हेरी कार्यालयले भेरिफाइ गर्नेछ । साथै सम्भव भएको खण्डमा सिमकार्ड किन्दा उपलब्ध हुने पिन र पुक कार्ड नम्बर समेत उपलब्ध गराउनु पर्नेछ ।

यति भएको खण्डमा सिमकार्ड नामसारी हुनेछ ।

स्मार्टसेल

यदि तपाईं स्मार्टसेलको सिम प्रयोगकर्ता हो र तपाईं अरु कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने अन्य अन्य सेवा प्रदायकमा जस्तै स्मार्टमा पनि त्यही नै प्रक्रिया छ । त्यसका लागि तपार्ईं स्मार्टको कुनै पनि सेन्टरमा पुग्नुपर्छ ।

साथमा सिमकार्डमा नाम भएको व्यक्ति र सिमकार्ड लिने व्यक्ति दुबै उपस्थिति हुनुपर्छ । सिमकार्डमा नाम भएको व्यक्ति उपस्थिति हुन नसकेको खण्डमा उसको वारिसनामा, उक्त व्यक्तिको नागरिकताको फोटोकपी भने आवश्यक छ ।

सिमकार्ड लिने व्यक्तिको हकमा उसको सक्कली नागरिकता, नागरिकताकाे एक प्रति फोटोकपी र एउटा फोटो आवश्यक पर्छ ।

यति भएसँगै तपाईंले कार्यालयमा गएर त्यहाँ रहेको एउटा फर्म भरी आफूले सिमकार्ड प्रयोग गरिरहेको तथ्य खुलाई एउटा निवेदन बुझाउनु पर्नेछ । यति गरेको खण्डमा तपाईंले प्रयोग गरिरहेको सिमकार्ड तपाईंकै नाममा आउने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१