close

के साच्चिकै नागरिक एपबाट खाता खोल्दा बैंकमा पुग्नैपर्छ ?

टेकपाना टेकपाना

बैशाख १९, २०७८ १७:२४

के साच्चिकै नागरिक एपबाट खाता खोल्दा बैंकमा पुग्नैपर्छ ?

काठमाडौं । सरकारले आइतबारदेखि नागरिक एप औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । औपचारिक रुपमा सार्वजनिक भएसँगै नागरिक एपबाटै बैंक खाता खोल्न सकिने सुविधा समेत उपलब्ध भएको छ । 

तर केही प्रयोगकर्ताले भने नागरिक एपबाट खाता खोल्दा बैंकमै पुग्नुपर्ने म्यासेज आएको भन्दै स्क्रिनशटहरु सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् । यस विषयमा टेकपानाले सिद्धार्थ बैंकसँग बुझ्ने प्रयास गरेको छ । 

बैंकका विजनेस सपोर्ट हेड सुरेश महर्जनले म्यासेञ्जरको पुरानै अटो रेस्पोन्स सिस्टमका कारण यस्तो म्यासेज गएको प्रष्ट पारेका छन् । ‘सरकारले आज मात्र नागरिक एपबाट बैंक खाता खोल्न सकिने सुविधा सुरु भएको घोषणा गर्‍यो । यो घोषणा हामीले गर्ने विषय थिएन,’ उनले भने, ‘भर्खर मात्र सरकारको तर्फबाट यसको घोषणा भएकाले सिस्टम लाइभमा गइसकेको छ । तर हाम्रा सबै सिस्टम त्यससँग सिंक्रोनाइज गर्न बाँकी छ ।’

बैंकले स्वचालित रुपमा प्रयोगकर्तालाई जाने म्यासेज सच्याउन थालिसकेको जानकारी दिएको छ । ‘अब बैंक अकाउन्ट खोल्दा ग्राहक बैंकमै पुग्नुपर्ने बाध्यता छैन,’ विजनेस सपोर्ट हेड महर्जनले भने ।

यसअघि बैंक खाता खोल्न आवश्यक कागजात र त्यससँग सम्बन्धित व्यक्ति एउटै हो वा होइन भन्ने विषय प्रमाणीकरण गर्न बैंकमै पुग्नुपर्ने बाध्यता रहेको थियो । अब भने त्यस किसिमको प्रमाणीकरणको काम नागरिक एपले नै पुरा गरिदिने भएको हो ।

एपमा व्यक्तिको नागरिकता, मतदाता परिचयपत्र, राहदानी, तस्वीर, मोबाइल नम्बर जस्ता प्रमाणीत विवरण हुन्छन् । एक व्यक्तिले अर्को व्यक्तिको नाममा नागरिक एपको खाता खोल्न सकिँदैन । 

सरकारले नै प्रमाणीत गरेका विवरणको आधारमा नागरिक एपले सहजै व्यक्तिको पहिचान प्रमाणीकरण गर्दछ । ‘त्यसैले अब व्यक्तिगत विवरण र व्यक्ति पहिचान गर्न बैंकमै आएर भेरिफाई गर्नुपर्छ भन्ने जरुरी हुँदैन,’ महर्जनले अगाडि भने, ‘तर चेकबुक तथा डेबिट कार्डका लागि अनुरोध गरेको खण्डमा भने बैंकमै पुग्नुपर्ने हुन्छ ।’

चेकमा हस्ताक्षर राखिने तथा चेकबुक र डेबिट कार्ड सम्बन्धित व्यक्ति बाहेक अरुलाई दिन नहुने हुँदा त्यसका लागि सम्बन्धित व्यक्ति बैंकमै पुग्नुपर्ने भएको हो । अन्यथा इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङबाट मात्र कारोबार गर्नका लागि भने बैंकमा आउनुपर्ने अवस्था नरहेको बैंकले जनाएको छ ।

‘प्रक्रिया पुरा भइसकेपछि सम्बन्धित व्यक्तिको ईमेलमा बैंक खाता नम्बर पठाउँछौं । त्यसका लागि अहिलेको अवस्थामा बढीमा आधा घण्टा जति समय लाग्ने गरेको छ,’ महर्जनले भने, ‘क्रमशः यसलाई सुधार गर्दै रियल टाइममै (अनुरोध गरेकै बखत) बैंक खाता प्राप्त गर्न सकिने तर्फ काम गरिरहेका छौं ।’

भर्खरै सुरु भएको प्रविधि भएकाले यहाँसम्म ल्याइएको र थुप्रै कुरामा सुधार गर्दै लैजानुपर्ने  आवश्यकता स्वभाविक हुने उनको स्पष्टीकरण छ । ‘नेपालमा बैंक स्थापना भएदेखि नै खाता खोल्न सम्बन्धित व्यक्ति बैंकमा पुग्नुपर्ने अभ्यास रहेको छ,’ महर्जनले अगाडि भने, ‘यति पुरानो प्रथामाथि हस्तक्षेप गरेर परिवर्तन गर्न केही समय त अवश्य लाग्छ ।’

नागरिक एपबाट खोलेको खातामा भौतिक रुपमा बैंकमै उपस्थित भएर खोलिएको खाता सरह तत्काल कारोबार गर्न सकिने बताइएको छ । राष्ट्र बैंकको निर्देशिकामा यो नयाँ सुविधाको विषय स्पष्ट रुपमा उल्लेख हुन भने बाँकी छ । यद्यपी निर्देशिका संसोधनको काम अगाडि बढिसकेको राष्ट्र बैंकले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१