close

तपाईंको सिमकार्ड कसको नाममा दर्ता छ ?

टेकपाना टेकपाना

बैशाख १९, २०७८ १९:२३

तपाईंको सिमकार्ड कसको नाममा दर्ता छ ?

काठमाडौं । पहिले पहिले एउटै व्यक्तिले आफ्नो नाममा धेरै सिमकार्ड निकाल्थे । यस्ता सिम आफ्ना परिवार र साथीभाइलाई बाँडिन्थ्यो । तर अब सरकारले आफ्नै नाममा दर्ता भएका सिममात्रै प्रयोग गर्न आग्रह गरेको छ ।

नागरिक एप, राष्ट्रिय परिचयपत्र, विभिन्न बैंकिङ एप, वालेट लगायतका सेवा सुचारु गर्न अहिले मोबाइल नम्बर आवश्यक हुन्छ । कतिपय एपहरुमा अरुकै नाममा भएका सिम प्रयोग गर्न सकिने भएपनि सुरक्षाको जोखिम हुने जानकारहरू बताउँछन् ।

अर्कोतिर नागरिक एपजस्ता सार्वजनिक सेवा उपयोग गर्न मिल्ने एपहरुमा भने आफ्नै नामको मोबाइल नम्बर अनिवार्य बनाइएको छ । यदि तपाईंले प्रयोग गरिरहनुभएको सिमकार्ड आफ्नो नाममा छैन भने तुरुन्त नामसारी गर्ने प्रक्रिया थाल्नुहोस् ।

अहिले एउटै सेवाप्रदायकका दुईभन्दा बढी सिम कार्ड नरहने व्यवस्था गर्दै नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले त्यसको कार्यान्वयनका लागि सेवाप्रदायकहरुलाई निर्देशन समेत दिइसकेको छ ।

यस्तोमा टेलिकम, एनसेललगायतका सेवाप्रदायकले अरुको नाममा रहेका तथा दुईभन्दा बढी सिमकार्ड रहेका ग्राहको पहिचान गरी सचेत गराउन थालेको छन् ।

यसैक्रममा नेपाल टेलिकमले अनस्टक्चर सप्लिमेन्ट्री सर्भिस डेटा (यूएसएसडी) मार्फत आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा दर्ता भएको छ भनेर थाहा पाउन सकिने व्यवस्था मिलाएको छ ।

टेलिकमले यसअघि म्यासेज पठाएर आफूले प्रयोग गरिरहेको सिमबारे जानकारी लिनसक्ने व्यवस्था मिलाएको थियो । अब भने प्रयोगकर्ताको थप सहजताको लागि यूएसएसडी मार्फत समेत त्यस्तो सुविधा दिन थालिएको हो ।

यसको लागि टेलिकमका सिम प्रयोगकर्ताले आफ्नो मोबाइलमा *९२२# डायल गरेर थाहा पाउन सक्नेछन् । साथै त्यसमा सिम दर्ता भएको व्यक्ति तपाईं स्वयम् हो वा अरु नै हो भन्ने विषयमा समेत सोध्ने गरिएको छ ।

*९२२# डायल गरी दर्ता भएको व्यक्ति तपाईं स्वयम् हो भने १ तथा होइन भने २ नम्बर टाइप गरी पठाउनुहोस् ।

याे पनि पढ्नुहाेस् : अरुको नाममा दर्ता भएको सिमकार्ड चलाउनुहुन्छ ? आफ्नो नाममा यसरी गर्नुहोस् नामसारी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१