close

अन्तरसहकारी विद्युतीय भुक्तानी कारोबार सुरु, अब मोबाइलबाटै रकम जम्मा गर्न र पठाउन सकिने

टेकपाना टेकपाना

बैशाख २०, २०७८ ९:९

अन्तरसहकारी विद्युतीय भुक्तानी कारोबार सुरु, अब मोबाइलबाटै रकम जम्मा गर्न र पठाउन सकिने

काठमाडौं । अब सहकारीहरुबीच विद्युतीय भुक्तानी कोराबोर गर्न सकिने भएको छ । यसका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले आफ्ना सदस्य संस्थाहरुका लागि अन्तरसहकारी विद्युतीय भुक्तानी प्रणाली सुरु गरेको छ ।

राष्ट्रिय आईसीटी दिवसकाे अवसर पारी नेफ्स्कुनले आइतबारबाट याे प्रणाली कार्यान्वयनमा ल्याएकाे हाे । नेफ्स्कुनमा आबद्ध सहकारी संस्थाहरूकाे सहजताका लागि भुक्तानी सेवा सुरु गरिएकाे संघका अध्यक्ष परितोष पौड्यालले जानकारी दिए ।

नेफ्स्कुनले यो सेवालाई ‘कनेक्ट साकोस’ को नाम दिएको छ । अध्यक्ष पौड्यालका अनुसार अन्तरसहकारी भुक्तानी काराेबारमा अब नेफ्स्कुनका सदस्यद्वारा जारी भुक्तानी पूर्जा फरफारक तथा अन्तरसाकोस सदस्यहरूबीच भुक्तानी सेवामा सहजता हुनेछ ।

याे प्रणालीमार्फत जुन सहकारी संस्थामा सदस्य भएपनि नेटवर्कमार्फत् भुक्तानी काराेबार काम गर्न सकिने छ । यसले सहकारीमै उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य गरिदिएकाे अध्यक्ष पाैड्यालले बताए ।

उनका अनुसार यस सेवामार्फत संघमा आवद्ध सबै संस्थाहरूको भुक्तानी पूर्जा संघका कुनै पनि सदस्य संस्थामा गई सटही गर्न सकिनेछ ।

त्यस्तै मोबाइल बैंकिङको उपयोग गरी संस्था–संस्था र सदस्यहरूबीचमा रकम स्थानान्तरण गर्न सकिने छ । सस्थाका सदस्यले संघमा आवद्ध कुनै पनि संस्थाबाट बचत जम्मा गर्न तथा फिर्ता लिने सुविधा हुनेछ ।

संस्थाका सदस्यहरूले नजिकको सदस्य संस्थाबाट बचत जम्मा गर्न, बचत फिर्ता लिन तथा मोबाइल बैंकिङमार्फत बचत जम्मा गर्ने, भुक्तानी दिने, रकमान्तर गर्ने लगायतका सुविधा घरमै बसेर प्राप्त गर्न सक्ने पौड्यालले बताए ।

यसले दोहोराे सदस्यता अन्त्यका लागि सहयोगी भूमिका खेल्न पनि बताइएको छ । पहिलो चरणमा नेफ्स्कुनमा सदस्य भएका नेपाल भरका सहकारीहरू सहभागी हुनेछन् । आगामी दिनमा ईआरपी प्रणालीमा जाने तयारी भइहेको पनि पौड्यालले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१