close

बिजनेश ट्यागसहित आफ्नो लोकेशन शेयर गर्न मिल्ने नेपाली एप ‘कहाँ’

टेकपाना टेकपाना

बैशाख २१, २०७८ १३:१५

बिजनेश ट्यागसहित आफ्नो लोकेशन शेयर गर्न मिल्ने नेपाली एप ‘कहाँ’

काठमाडाैं । तपाईं कुनै कुराको ठेगाना थाहा पाउन कहाँ भनेर प्रश्न गर्नु हुनेछ । हामी पुग्ने स्थानबारे कुनै जानकारी छैन भने, वा कुनै ठाउँको बारेमा जानुकारी लिनु छ भने हामी कहाँ भनेर सोध्छौं ।

कुनै ठाउँ, रेस्टुरेन्ट, घर, कार्यालय पुग्न तपाईंलाई सम्बन्धित व्यक्तिसँग सोध्नुपर्छ । अब तपाईंलाई कहाँ एपले तपाईंले खोज्नुभएको ठाउँबारे जानकारी दिनेछ ।

‘कहाँ’ नेपालका लागि तयार पारिएकाे एप हो । यसलाई प्रयोग गर्न निकै सजिलो छ । नेपाली भाषामा समेत उपलब्ध यस एपलाईं गत आइतबार सार्वजनिक गरिएको छ ।

मेसोभिजन टेक्नोलोजीले विकास गरेको ‘कहाँ’ एपले केही क्लिकमै सोधिएका धेरै प्रश्नको उत्तर दिने छ ।

प्रविधिको चरम विकास भएको अवस्थामा पनि नेपालमा ठेगानालाई डिजिटलाइज्ड गर्न सकिएको छैन । विदेशमा हेर्दा ठाउँको चिनारी दिन सडक, गल्ली, घरलाईं कोड नम्बर दिएर नक्सामा समावेश गरिएको पाइन्छ ।

कसैलाई घरमा बोलाउँदा पहिले त्यस व्यक्तिकाे लोकेसन सोधेर सवारी साधनमा फलानो ठाउँमा झर्ने, त्यहाँबाट दायाँ लाग्ने, यस्तो रंगको घर देखिन्छ, त्यसलाईं छाडेर अर्को गल्ली लाग्ने भन्दै धेरै ठाउँको अवस्था वर्णन गरेर बोलाउनुपर्ने अहिलेको अवस्था छ ।

अनलाइनबाट सामान किन्दा डेलिभरी गर्ने व्यक्तिलाई त्यसैगरी आफ्नो लोकेसन देखाउनुपर्ने अवस्था छ । यस्तो समस्यालाईं समाधान गर्न ‘कहाँ‘ एप सार्वजनिक गरिएको एप डेभलपर नारायणबहादुर क्षेत्रीले बताए ।

‘कहाँ’ एपमा व्यक्तिगत ठेगाना र आफ्नो व्यवसायलाई सूचीकृत गराउन सकिन्छ । आफ्नो व्यवसाय सूचीकृत गरेपछि यसमा व्यवसायको ठेगाना, तस्वीर, उत्पादनहरूलाई व्यक्ति स्वयंले एपमा राख्न सक्छ ।

त्यसलाई अरू प्रयोगकर्ताहरूलाइ ट्याग बाँड्न सकिन्छ । एपलाई प्रयोगकर्तामैत्री बनाइएको भन्दै डेभलपर क्षेत्रीले एपभित्रै सन्देश आदानप्रदानको सुविधा रहेकाे जानकारी दिए ।

आफ्नो समुदायमा भएका असामान्य घटनाहरू जस्तै दुर्घटनाको स्थान, चोरी, आगलागी लगायतका खतरनाक गतिविधिहरू रिपोर्ट गर्न यस एप प्रयोग गर्न सकिन्छ ।

व्यक्तिगत प्रयोगकर्ताहरूलाई ठेगानाका लागि स्थायी ट्यागहरू दिइनेछ ।

‘कहाँ’ एपबाट आफ्नो ठेगाना नजिकै उपलब्ध वस्तु तथा सेवाको जानकारीसमेत पाउन सकिन्छ । एपले प्रदान गर्ने ट्यागहरूमार्फत नजिकका, पसल, ग्याँस डिपो, बालुवा डिपो, ब्युटीपार्लर, बार्वर सपलगायतका स्थानहरू खोज्न सकिन्छ ।

यसमा होटेल, रिसोर्ट र गेस्ट हाउस, विद्यालय, कलेज र शैक्षिक सेवाजस्ता स्थायी ट्यागहरू रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१