close

फाइभजी परिक्षणको तयारीमा भारत, बहिष्कारमा परे चिनियाँ कम्पनी

टेकपाना टेकपाना

बैशाख २२, २०७८ ११:७

फाइभजी परिक्षणको तयारीमा भारत, बहिष्कारमा परे चिनियाँ कम्पनी

काठमाडौं । भारतले फाइभजी परीक्षणका लागि दूरसञ्चार सेवाप्रदायकलाई अनुमति प्रदान गरेको छ । भारतको दूरसञ्चार विभागले मंगलबार तीन निजी र एक सरकारी स्वामित्वकाे कम्पनी गरी कूल चार कम्पनीलाई फाइभजी परीक्षणका लागि अनुमति दिएको हो ।

यसअन्तर्गत निजी सेवाप्रदायक भारती एयरटेल, रिलायन्स जियाे इन्फोकम र भिआई (भोडाफोन आइडिया) ले अनुमति पाएका छन् । त्यस्तै सरकारी स्वामित्वमा सञ्चालित महानगर टेलिफोन निगम लिमिटेड (एमटीएनएल) लाई पनि फाइभजी परिक्षणका लागि अनुमति दिइएको छ ।

फाइभजी परीक्षणकाे तयारीका लागि सेवाप्रदायकलाई ६ महिनाकाे अवधि दिइएको छ । जसमा दुई महिना प्रोक्युरमेन्ट र पूर्वाधार तयारीका लागि दिइएको छ । यसका लागि सरकारले सेवाप्रदायकलाई ३.२ गिगाहर्जदेखि ३.६७ गिगाहर्ज अथवा मिलिमिटर वेभ ब्याण्ड र २४.२५ गिगाहर्जदेखि २८.५ गिगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी उपलब्ध गराउने भएको छ ।

यसका साथै टेलिकम सेवा प्रदायकले आफूसँग उपलब्ध ८०० मेगाहर्ज, ९०० मेगाहर्ज, १८०० मेगाहर्ज र २५ सय मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सी पनि प्रयोग गर्नसक्ने जनाइएको छ । यो परीक्षण व्यवसायिक हुने छैन ।

त्यस्तै फाइभजी परीक्षणबाट संकलन गरिएका डेटा भारतमै स्टोर हुनुपर्ने जनाइएको छ । भने, परीक्षणका लागि तीन निजी कम्पनीहरूले इरिक्सन, नोकिया र सामसङसँग सहकार्य गरिसकेका छन् । भने सरकारी कम्पनीले सेन्टर फर डेभलपमेन्ट अफ टेलिम्याटिकसँग सहकार्य गरेकाे छ ।

तर सेवाप्रदायकले चिनियाँ कम्पनीहरुलाई बहिष्कार गरेका छन् । ह्वावे र जेडटीई जस्ता ठूला भेन्डर नै भारतमा फाइभजी परीक्षणबाट बाहिरिएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१