close

कोरोना सर्न नदिन मोबाइल सफा गर्ने ६ उपाय (भिडियो सहित)

टेकपाना टेकपाना

बैशाख २२, २०७८ १४:६

कोरोना सर्न नदिन मोबाइल सफा गर्ने ६ उपाय (भिडियो सहित)

कोभिड-१९ अर्थात कोरोना भाइरस अहिले विश्वभर नै व्यापक रुपमा फैलिरहेको छ । नेपालमा पनि केही व्यक्ति यो भाइरस बाट संक्रमित भएको बताइएको छ ।

नेपाल कोरोनाको उच्च जोखिममा छ । त्यसैले यसबाट बच्न सबैले सावधानी अपनाउन एकदमै जरुरी छ । यो भाइरसबाट बच्न,  नियमित साबुन पानीले हात धुन, फोहोर हातले आँखा, नाक, मुख कतै नछुन, मास्कको प्रयोग गर्न भनेर त तपाईं हामीले सुनिरहेकै हुन्छौँ ।

तर, अर्को एउटा महत्वपूर्ण कुरा पनि हामीले अपनाउन एकदमै जरुरी छ, त्यो हो आफ्नो फोन नियमित सफा राख्नु । हामी प्रायः हरेक क्षण मोबाइल छोइरहेका हुन्छौँ । त्यसैले यसबाट कोरोना भाइरस सर्ने सम्भावना पनि एकदमै धेरै हुन्छ ।

हामीले हरेक पटक फोन छोएपछि आफ्नो हात, अनुहार अनि भुँइमा भएको कीटाणूहरु स्क्रिनमा सारिरहेका हुन्छौं ।  यती मात्र नभएर, हामीले फोन राखेको ठाउँमा यदी यो भाइरस छ भने अवश्य पनि हाम्रो फोनमा सरेको हुन्छ । 

डीएसकाउन्टले गरेको अनुसन्धान बाट एउटा व्यक्तिले औषत रुपमा एक दिनमा २६१७ चोटी आफ्नो फोन उठाउँछ । अनि ७६ पटक प्रयोग गर्छ ।

अझ डाक्टर चार्ल्सले केही वर्ष अघि आफ्नो युनिभर्सिटीका विद्यार्थीहरुको फोनको अनुसन्धान गर्दा  उनीहरुको फोनमा ट्वाइलेट सिटमाभन्दा १० गुणा बढी किटाणु हुने गरेको तथ्य बाहिर आएको थियो । फोनमा भएका यस्ता कीटाणू हाम्रो शरीरमा छिर्ने सम्भावना एकदमै धेरै हुन्छ ।

त्यसैले बच्नका लागि आफ्नो फोन नियमित रुपमा सफा गर्नु तपाईंको उच्च प्राथमिकताको विषय हुनै पर्छ । आज हामी तपाईंलाई कोरोना भाइरस सर्न नदिन फोन कसरी सफा गर्ने भन्ने बारेमा केही टिप्स तथा ट्रिक्स बताउँदै छौँ । 

अल्कोहल स्वाब

मेडिकलहरुमा सजिलैसँग पाइने यो अल्कोहल स्वाबले तपाईंलाई कोरोना भाइरसबाट बचाउन सक्छ । अल्कोहल स्वाब बाट आफ्नो फोन सफा गर्न सुरुमा  आफ्नो फोनको ब्याट्री झिक्नुहोस् । यदी ब्याट्री झिक्न मिल्दैन भने स्विच अफ गर्नुहोस् ।

अनि हल्कासँग आफ्नो मोबाइलको स्क्रीनलाई पुछ्नुहोस् र अब केही समय सुक्न दिनुहोस् । यो अल्कोहल स्वाब तपाईंले नजिकैको मेडिकल स्टोरमा सजिलै पाउन सक्नुहुन्छ । 

माईक्रो फाइबर क्लोथ

माईक्रो फाइबर क्लोथको प्रयोग गर्दा तपाईंको फोनको स्क्रीन कोरिने सम्भावना हुँदैन । यो कपडा हामीले प्रायः चस्मा सफा गर्नका लागि प्रयोग गरिरहेका हुन्छौँ । अन्य कपडाहरु प्रयोग गर्दा चाहिँ फोन स्क्य्राच हुने सम्भावना बढी हुन्छ । त्यसैले त्यस्ता कपडा र कागजहरु प्रयोग नगर्नु होला ।

माईक्रो फाइबर क्लोथबाट फोन सफा गर्न सबैभन्दा पहिला आफ्नो फोनको ब्याट्री झिक्नुस् । यदी ब्याट्री झिक्न मिल्दैन भने स्विच अफ गर्नुहोस् ।

अब ह्यान्ड स्यानिटाइजरलाई यो कपडाको छेउमा राख्नुहोस् र हलुका किसिमले मोबाइलको स्क्रीन सफा गर्नुहोस् । स्यानिटाइजरलाई सोझै स्क्रीनमा हाल्ने गल्ति चाहिँ कहिल्यै पनि नगर्नुहोस् । 

तातोपानी

कतिपयले फोन सफा गर्न हल्कोहलको प्रयोग पनि गरिरहेका हुन्छन् । तर धेरै जसो फोनमा चाहिँ अल्कोहल प्रयोग नगर्न सल्लाह दिइएको हुन्छ । त्यसैले अल्कोहलको साटो तातो पानीको प्रयोग गर्न सक्नु हुन्छ। जुन केहि हदसम्म प्रभावकारी हुन्छ ।

यसका लागि एउटा कपमा उमालेर सेलाएको मनतातो पानी लिनुहोस् । अनि यो कपडा को टुक्राको छेउको भागलाई हलुकासँग भिजाउनुहोस् ।

अनि विस्तारै यसरी स्क्रीन सफा गर्नुहोस् । अब नभिजेको भाग ले हलुकासँग पुछेर एकछिन नचलाई राख्नु होस् ।  पानीलाई सिधै स्क्रीनमा छर्किने काम चाहिँ कहिल्यै नगर्नु होला ।

डिस्टिल वाटर र रबिङ अल्कोहोल 

हातको कीटाणू मार्नका लागि हामीले प्रायः रबिङ अल्कोहल प्रयोग गरिरहेका हुन्छौँ । तर यसलाई फोनको किटाणू मार्नका लागि पनि प्रयोग गर्न सकिन्छ ।

यसको प्रयोग गर्न सबै भन्दा पहिला एउटा सानो भाँडोमा आधा भन्दा केही बढी (६०%) डिस्टिल वाटर अनि बाँकी (४०%) रबिङ अल्कोहोल मिलाउनुहोस् र माइक्रो फाइबर क्लोथमा हालेर अघि जस्तै हलुका सँग पुछ्नुहोस् ।

केही समयका लागि सुख्न छोडिदिनुहोस् । अल्कोहलको साटो तपाईं ह्वाईट भिनेगर प्रयोग गर्न पनि सक्नु हुन्छ ।  

एरबड्स

कान सफा गर्न प्रयोग हुने यो एयरबड्स फोन सफा गर्नका लागि पनि प्रयोग गर्न सकिन्छ । अघि कपडालाई पानीमा भिजाए जस्तै गरी एयरबड्सको टुप्पोलाई तातो पानी मा वा ह्याण्ड स्यानिटाइजरमा  भिजाउनुहोस् । अनि कपडाले पुछ्न नमिल्ने भागहरुमा यसले सफा गर्न सक्नुहुन्छ ।

स्क्रीन क्लिनर

बजारमा ल्यापटप तथा फोनको स्क्रीन सफा गर्नका लागि भनेर लगभग दुई तीन सय रुपैयाँमा स्प्रे पाउन सकिन्छ । त्यसको प्रयोग गरेर पनि हामीले फोनको स्क्रीन सफा गर्न सक्छौं ।

यो सबै  कुरा गर्नु अघि आफ्नो हात सफा गर्न चाहिँ नबिर्सिनु होला । किन भने हात सफा छैन भने यो सबै सरसफाइ गरेको काम लग्ने छैन । अनि, यसरी फोन सफा गरेपछी सफा ठाउँमा राख्न चाहिँ नबिर्सिनु होस् ।

ट्वाइलेटमा, किचेनमा अनि धेरै धुलो भएको ठाउँमा फोनको प्रयोग सकेसम्म नगर्नुहोस् । प्रयोग गर्नैपरे सफा गर्न नबिर्सिनुहोस् ।

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि त झन् दिनमा दुई पटकसम्म फोन सफा गर्न जरुरी छ । कोरोना भाइरसले मानिसको ज्यानै लिन सक्ने भएकाले सरसफाइमा ध्यान दिएर आफू बच्नुहोस् अनि अरुलाई पनि बचाउनुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१