close

२१ टन तौल भएको चिनियाँ रकेट नियन्त्रण बाहिर, शनिबारसम्म पृथ्वीमा खस्ने चेतावनी

टेकपाना टेकपाना

बैशाख २२, २०७८ १५:२५

२१ टन तौल भएको चिनियाँ रकेट नियन्त्रण बाहिर, शनिबारसम्म पृथ्वीमा खस्ने चेतावनी

काठमाडौं । २१ टन तौल रहेको चिनियाँ रकेट नियन्त्रण बाहिर गएको छ । नियन्त्रणबाहिर गएको यो रकेट आउँदो शनिबार पृथ्वीमा क्र्याश हुनसक्ने आँकलन गरिएको छ ।

अमेरिकी सरकारले मानव वस्तीबाहिर रकेट खस्ने सम्भावना रहेको भन्दै चेतावनी समेत दिएको डेलिमेलमा उल्लेख छ । पृथ्वीको पर्यावरणमा रकेटको पुनः आगमनको सम्भावना रहेको उल्लेख गर्दै अमेरिकी प्रतिरक्षा विभागका प्रवक्ताले यसको प्रवेश विन्दु यकिन रुपमा अहिले नै निर्धारण गर्न नसकिने बताएका छन् ।

स्पेस ट्र्याकमा दैनिक रुपमा त्यसको लोकेसन अपडेट गरिने भन्दै उनले यस सम्बन्धि थप जानकारी उपलब्ध भएसँगै प्रदान गरिने जनाएका छन् । अन्य स्याटेलाइट ट्र्याकरहरुले समेत १०० फिट लामो, १६ फिट चौडा आकारको ‘२०२१-०३५ बी’ नामक यो रकेट प्रति सेकेन्ड चार माइलको गतिमा यात्रा गरिरहेको पत्ता लागाएका छन् ।

‘अमेरिकाको स्पेस कमाउन्ड यसप्रति सचेत छ र चाइनिज लङ्ग मार्च ५ बीको अन्तरिक्षको लोकेसन ट्र्याकिङ गरिरहेको छ । तर पुनः प्रवेशको केही घण्टा नभएसम्म यसको पृथ्वीको पर्यावरणमा प्रवेश गर्ने विन्दु निश्चित गर्न सकिन्न ।

त्यो ८ मे वरिपरी हुनसक्ने अन्दाज छ,’ अमेरिकी प्रतिरक्षा विभागका प्रवक्ता माइक हवार्डले भनेका छन् । तियान्हे पठाउनका लागि लङ्ग मार्च रकेट ५ बी प्रयोग गरिएको थियो । जुन अन्तरिक्षमा चीनको आफ्नै स्पेस स्टेसन बनाउने उद्देश्यका साथ चीनले गत साता मात्रै प्रयोग गरिएको थियो ।

२९ अप्रिल बिहीबारका दिन चीनले हिनानमा रहेको वेनचाङ स्पेस लञ्च सेन्टरबाट तियान्हे प्रक्षेपण गरेको थियो । लङ्ग मार्च ५ बी चीनको सबैभन्दा ठूलो रकेट क्यारियर हो ।

केही दिन अघि मात्र एकजना विज्ञले उक्त रकेटको ब्याकबोन पृथ्वीको पर्यावरणमा अनियन्त्रित तवरमा पुनः प्रवेश गर्ने बताएका थिए । पृथ्वीको पर्यावरणमा रहेका वस्तुहरु ट्र्याक गर्ने एक जना अन्तरिक्ष यात्री जोनाथन म्याकडोयलले स्पेसन्युजसँगको कुराकानीमा रकेटले न्यूयोर्कको केही उत्तर, मड्रिड, बेइजिङ र चिलिको पश्चिमी भाग र न्युजिल्याण्डको विलिङ्टनको बाटो समात्न सक्ने बताएका छन् ।

यो उक्त क्षेत्रको जुनसुकै भागमा अवतरण हुनसक्छ । पृथ्वीको पर्यावरणमा प्रवेश गर्नु अघि नै रकेट पर्यावरणमा जलेर नष्ट हुनसक्ने अपेक्षा पनि छ । जलेर नष्ट नभएका ट्क्राहरु भने समुद्र अथवा निर्जन क्षेत्रमा खस्नेछन् । स्पेस न्युजको रिपोर्टमा भनिएको छ, ‘तर जनधनको क्षति हुनसक्ने जोखिम भने बाँकी नै छ ।’

अन्तरिक्षका कृतिम टुक्राटाक्री ट्र्याक गर्नेहरुले केही दिनदेखि रकेट क्रमशः पूर्वानूमान गर्न नसकिने गरी पृथ्वीतिर फर्किरहेको अवस्था नियालीरहेका छन् । रकेट पुनः पृथ्वीमै फर्केपछि यो नै अहिलेसम्मकै सबैभन्दा ठूलो अनियन्त्रित फर्किने यान हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१