close

वाईफाई राउटर के हो र यसले कसरी काम गर्छ ?

टेकपाना टेकपाना

बैशाख २२, २०७८ १६:५९

वाईफाई राउटर के हो र यसले कसरी काम गर्छ ?

काठमाडाैं । हाम्रो घरमा यस्ता धेरै उपकरणहरू छन्, जो इन्टरनेटसँग जोडिएका हुन्छन् । राउटरले नै हाम्रो मोबाइल तथा कम्प्युटरलाई इन्टरनेटसँग जोड्ने काम गरिरहेको हुन्छ ।

हामीले राउटरलाई एउटा सानो बक्सको रूपमा देखिरहेका हुन्छौं । तर यो बक्सभित्र धेरै कामहरु भइरहेको हुन्छ ।

राउटर एकप्रकारको कम्प्युटर जस्तै हो । नाम जस्तै यसले इन्टरनेट ट्राफिकलाई इन्टरनेट उपकरण र मोबाइल तथा कम्प्युटरबीच राउट गर्ने अर्थात ओहोरदोहोर गराउने काम गर्दछ ।

जसरी सडकमा ट्राफिकले एकतर्फबाट आइरहेका सवारीलाई अर्कोतर्फ पठाउँछ, त्यसैगरी राउटरले इन्टरनेट ट्राफिकलाई बिभिन्न उपकरणहरूमा वितरण गर्दछ । यसले कुन संकेत कहाँ बाट आउँदैछ र कहाँ जाँदैछ भनेर व्यवस्थापन गर्ने काम गर्छ ।

कम्प्युटरमा जस्तै, यसको पनि आफ्नै सीपीयू, मेमोरी, बोर्ड र अपरेटिङ सिस्टम हुन्छ। जसले कुन डिभाइसमा के पठाउने भनेर डेटा व्यवस्थापन गर्दछ ।

यदि हामीले ल्यापटपमा एउटै समयमा धेरै काम गर्न थाल्यौं भने ल्यापटप स्लो अनि ह्याङ हुन थाल्दछ । हो ठीक त्यसैगरी एउटै राउटरबाट धेरै मोबाइल तथा कम्प्युटरमा इन्टरनेट चलाउँदा इन्टरनेट डिस कनेक्ट हुने र स्लो चल्ने समस्या देखिन थाल्छ ।

तपाईंले प्रयोग गर्ने राउटरको गुणस्तले समेत इन्टरनेट कत्तिको प्रभावकारी हुने भन्ने कुरा तय गर्दछ । प्रविधिको विकाससँगै राउटरमा समेत नयाँ नयाँ फिचर थपिन थालेका छन् । जसको आधारमा तपाईंले सहजै राउटर सेटअप गर्न तथा नियन्त्रण गर्न सक्नुहुन्छ ।

यसमा तपाईंले आफ्नो वाईफाई नेटवर्कलाई इनक्रिप्टेड राख्ने, पासवर्ड परिवर्तन गर्ने, वाईफाईको नाम फेर्ने, फार्मवेयर अपडेट गर्ने जस्ता काम गर्न सक्नुहुन्छ ।

केही राउटर त अहिले प्रयोगकर्ता मैत्री एपसहित आउने थालेका छन् । जसमा तपाईंले गेस्ट नेटवर्क, प्यारेन्टल कन्ट्रोल, प्रयोगको समय र नेटवर्क व्यवस्थापन लगायतका काम गर्न सक्नुहुन्छ ।

राउटरमा वाइड एरिया नेटवर्क (डब्लूएएन) लोकल एरिया नेटवर्क (एलएएन) लगायत विभिन्न पोर्टहरु हुन्छन् । जसमध्ये डब्लूएएन मार्फत तपाईंले अर्को राउटर जोड्न सक्नुहुन्छ भने एलएएन मार्फत ल्यापटप तथा कम्प्युरटमा इन्टरनेट चलाउन सक्नुहुन्छ ।

एलएएनमार्फत तपाईंले अर्को राउटर जोड्न र ल्यापटप तथा कम्प्युटरमा इन्टरनेट चलाउन सक्नुहुन्छ ।

यसमा तपाईंले एउटा सानो रिसेट बटन देख्नुहुनेछ । यदि तपाईंले यो बटन दबाउनु भयो भने राउटरमा गरिएको सेटिङ डिफल्ट अवस्थामा फर्किन्छ ।

यसको अर्थ नाम र पासवर्ड सहितको सेटिङ पुरानै स्वरुपमा परिवर्तन हुन्छ ।

एमयू-एमआईएमओ राउटरको पछिल्लो प्रविधि हो । जसमा मल्टिपल युजर, मल्टिपल इन्पुट तथा आउटपुटको सुविधा हुन्छ ।

अर्थात यस किसिमको राउटरले इन्टरनेट सिग्नललाई धेरै डिभाइसमा राम्रोसँग ओहोर दोहोर गराउन सक्छ ।

साइबर अपराधिहरुले तपाईंको घरको नेटवर्कमा घुसपैठ गरेर मालवेयर तथा भाइरसहरु राखिदिन सक्छन् । त्यसैले यस किसिमका साइबर आक्रमणलाई रोक्न सक्नेगरी राउटरमा नेटवर्क तहको सुरक्षा, स्वचालित अपडेट, डिभाइस क्वारेन्टिन र माल्वेयर अपडेट हुन जरुरी छ ।

हेर्नुहाेस् याे भिडिओ ट्युटाेरियल

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१