close

सेवाप्रदायकले नै नियामकलाई कम आँकिरहेका हुन्छन्

टेकपाना टेकपाना

बैशाख २२, २०७८ २०:३०

सेवाप्रदायकले नै नियामकलाई कम आँकिरहेका हुन्छन्

ठूला दूरसञ्चार सेवाप्रदायकहरुको तुलनामा आजको दिनमा इन्टरनेट सेवाप्रदायकहरु (आईएसपी) सँग सीमित पूर्वाधार छ । त्यसैले आईएसपीहरु सहकार्यमा काम गर्छन् र आपसमा पूर्वाधारको सहप्रयोग पनि गरिरहेका छन् । 

यद्यपि आईएसपीहरुबीच पनि सहप्रयोग एकदमै न्यून छ । आजको समयमा सहप्रयोग कसरी भइरहेको छ भने मैले कुनै ठाउँमा मेरो फाइबर अर्को आईएसपीलाई प्रयोग गर्न दिन्छु र उसले मलाई अर्को ठाउँमा आफ्नो फाइबर दिन्छ ।

यसरी फाइबर लिजमा लिने दिने गरेका छौं । कतिपय कम्पनीलाई चाहिँ फाइबर पोर्ट पनि दिने गरेका छौं । तर सहयप्रयोग यतिमा मात्र सीमित छ ।

ठूलो रुपमा अंगालो मारेर सहयप्रयोग भइरहेको चाहिँ छैन । यहिँनिर विश्वासका कुराहरु आउँछन् ।हामीबीच केही व्यापार पनि हुन्छ । हामी एउटा खेलाडीसँग फाइबर किनेर अर्को बजारमा बेचिरहेका हुन्छौं ।

त्यसबाहेक पप (प्वाइन्ट अफ प्रिजेन्स) पनि शेयर भइरहेका छन् । हामी उपकरणहरुलाई एकैठाउँमा राखेर पनि शेयर गरिरहेका हुन्छौं । यति मात्र होइन हामी आईएसपीबीच फाइबर पोर्ट पनि आदान प्रदान भइरहेको हुन्छ । 

तर यो ठूला टेलिकम सेवाप्रदायकसँग त्यस किसिमको सहकार्य हुन सकेको छैन । किनभने ठूला अपरेटरहरु यति ठूला छन् कि उनीहरुलाई अरु कोही चाहिँदैन ।

जब भारतीय सरकारको सहयोगमा नेपाल टेलिकमले पूर्वपश्चिम फाइबर ब्याकबोन निर्माण गरेको थियो, तब एनसेलले त्यसको सहप्रयोगका लागि आग्रह गर्दा टेलिकमले अस्वीकार गरेको थियो । अनि एनसेल आफैले छुट्टै फाइबर नेटवर्क निर्माण गरेको थियो ।

ठूला सेवाप्रदायकहरुको कुरा सिधा छ । उनीहरुसँग पूँजी छ, आवश्यकता छ र आफै निर्माण गर्छन् । उनीहरु अरुमाथि निर्भर हुँदैनन् । तर आईएसपीसँग आफ्नै फाइबर ब्याकबोन निर्माण गर्न त्यति धेरै पैसा छैन ।

आजसम्म पूर्वपश्चिम राजमार्गमा फाइबर ब्याकबोन निर्माण गर्ने टेलिकम र एनसेल गरी दुई कम्पनी कम्पनी मात्रै हुन् । उनीहरु त्यो पूर्वधार अरु कसैलाई भाडामा दिदैँनन् । 

मेरो कम्पनी वर्ल्डलिङ्कले पूर्वाधारमा पहुँच माग्नका लागि यी दुवै ठूला कम्पनीसँग धेरै आग्रह गर्‍यो । तर दुवै कम्पनीले कुनै न कुनै बाहाना बनाएर पन्छाइरहेका छन् । नदिने पनि भन्दैनन् ।

नेपालमा पूर्वाधार सहप्रयोग सम्बन्धि नियामवली आज पनि विद्यमान भएको कारण दिन्न भन्नु अवैधानिक हुन्छ । नाई भन्न नमिले पछि कुनै न कुनै बहाना बनाएर रोकिरहेका हुन्छन् । 

यसरी आफ्नो पूर्वाधार सहप्रयोगका लागि नदिनुको पछाडि परम्परागत मानसिकता नै मुख्य कारण हो । यदि मैले सम्भावित प्रतस्पर्धीलाई पूर्वधार शेयर गरिनँ भने म सधैं बलियो रहिरहन्छु भन्ने मानसिकता उनीहरुमा छ ।

त्यसबेला त वर्ल्डलिङ्क यी दुई सेवाप्रदायकसँग प्रतिस्पर्धाको हैसियत नै राख्दैन थियो । यदि मैले पूर्वाधार शेयर गरेँ भने म पछि पर्न सक्छु भन्ने डर छ । 

अन्य बजारमा हेर्ने हो अवस्था फरक छ । यदि मैले पूर्वाधार शेयर गरेँ भने पूर्वाधारमा मेरो नियन्त्रण हुनेछ र पूर्वधार निर्माणको प्रतिस्पर्धा पनि हुने छैन । प्रतिस्पर्धामा समेत मेरै नियन्त्रण हुनेछ र त्यसबाट पनि मैले आम्दानी गर्न सक्छु भन्ने बुझाई उनीहरु राख्छन् । 

अझ काठमाडौं जस्तो सहरी क्षेत्रमा त पूर्वाधार निर्माण गर्न सजिलो र सस्तो छ । अत्यधिक जनघनत्व भएको क्षेत्रमा फाइबर तानेर नयाँ नेटवर्क बनाउनु धेरै ठूलो काम होइन र धेरै लगानी पनि लाग्दैन । साथै यहाँ कुनै विवाद पनि आउँदैन ।

पोलमा तार हाल्दा कसैले रोक्दैन । त्यसैले कुनै नयाँ सेवाप्रदायक आउँदा सबै कुरा आफैं सुरु गर्छ। नयाँ अपरेटरहरुमा सीजी आउँदैछ, प्रभु तथा डिशहोम आइसके । यिनीहरु आउँदा हामीकहाँ पूर्वाधार शेयरका लागि आग्रह गर्न आउँदैनन् ।

टेलिकमलाई हामीले प्रस्ताव गरेका थियौं कि तपाईंहरु तार नतान्नुहोस् बरु हामी नै पोर्ट दिन्छौं । तर उनीहरुले मानेनन् किनभने मैले आफ्नै नेटवर्क बनाएँ भने म सुरक्षित हुन्छु भन्ने सुनिश्चितता हुन्छ र धेरै बाक्लो जनसंख्या भएको क्षेत्रमा पूर्वाधार निर्माणका लागि धेरै खर्च लाग्दैन । 

शेयरिङ फलदायी पनि छ । नेपाल टेलिकमले पूर्वाधार बनाएर लगानी गरिसकेको छ । अब त्यही फाइबर अरु टेलिकम कम्पनी तथा आईएसपीहरुलाई दिदाँ के घाटा हुन्छ ?

प्रतिस्पर्धाकै डर मान्ने हो भने त उसको पूर्वाधार भएको ठाउँमा भोलि अन्य सेवाप्रदायक नपुग्ने पनि होइनन् । तीन चार महिना ढिला पुग्लान् । त्यस्तोमा अर्को तरिकाबाट पुग्नुपर्ने हुन्छ । तर त्यहाँ पूर्वाधार बनाएर सेवा त अन्य कम्पनीले पनि सुरु गरि हाल्छन् ।

मैले त टेलिकमलाई भीस्याटकै जमानादेखि भन्दै आइरहेको छु, तपाईंहरु हामीलाई भिस्याट दिनुहोस् । फाइबर तान्ने मानसिकता फेर्न समय लाग्छ । त्यसमाथि टेलिकम जस्ता ठूला कम्पनीमा धेरै किसिमका मानसिकता भएका मानिसहरु हुन्छन् ।

त्यसलाई फेर्न समय लाग्छ । तर जाने तरिका त त्यही हो । सन् २००४ सालको कुरा हो । प्राधिकरणले त्यसै बेला निजी कम्पनी तथा आईएसपीहरुलाई पनि एडीएसएलमा एक्सेस देऊ भनेर निर्देशन दिइसकेको थियो ।

तर टेलिकमले बाहाना बनाएर दिएन । त्यसैबेला एडीएसएल दिएको भए आजको दिनमा टेलिकम आईएसपी बजारमा महत्वपूर्ण खेलाडी हुने थियो । किनभने हामी गएर कहिल्यै पनि फाइबर नै हाल्ने थिएनौं ।

एडीएसएलमा नै रमाउने थियौं । डायलपमा त हामी रमाएकै थियौं । किन लगानी गर्ने ? किन सडकमा तार टाङ्ग्ने ? किन झन्झट गर्ने ? टेलिकमले त्यति गरेको भए एनसेलले पनि हामीलाई पोर्ट दिन्थ्यो होला ।

हामी त्यसैमा रमाउँथ्यौं । तर टेलिकमले त्यो अवसर गुमायो । उसले मेरो हो, मै किन दिने भन्ने सोचाई राख्यो । त्यो मानसिकताबाट निस्किन नसकेकै कारण उसले अवसर गुमायो । टेलिकमले त्यसैगरी अर्को अवसर पनि गुमायो ।

हामी पहिले टेलिकमबाट नै ब्याण्डविथ लिने गर्थ्यौं । त्यसपछि प्राधिकरणले हामीलाई भिस्याटको लाइसेन्स दियो । हामीले भिस्याटबाट ब्याण्डविथ लिँदा हामीलाई धेरै नै महङ्गो पर्थ्यो । तर टेलिकमले त्यही गर्दा धेरै सस्तो पर्ने रहेछ ।

किनभने टेलिकमसँग बलम्बुमा १६/१६ मिटरका डिशहरु छन् । तर हामीहरु ससाना डिश हाल्छौं । जसले गर्दा हामीले सेवा लिँदा महङ्गो पर्छ । टेलिकमले त्यसैका लागि धेरै नै महङ्गो रेट लियो । उसले अडान छाडेन ।

त्यो मानसिकताबाट त्यहीबेला टेलिकम निस्किएर अन्तर्राष्ट्रिय दरभन्दा सस्तोमा दिन्छौं भनेको भए हामी किन भिस्याट हाल्थ्यौं ? त्यसपछि फाइबर आयो । पहिलोपटक नेपालमा फाइबर ल्याउने वर्ल्डलिङ्क, सुबिसु वा भायनेट होइन ।

त्यो त नेपाल टेलिकम नै थियो । उसले बीएसएनएल मार्फत फाइबर ल्याएको थियो । त्यसमार्फत टेलिकमले हामीलाई ब्याण्डविथ पनि बेच्यो । तर जब हामीले सस्तोमा फाइबर नै दिनुहोस्, सय सर्किट र उच्च क्षमता दिनुहोस् भनेर माग्दा एनटीसीले आफ्नो रेटभन्दा सस्तोमा जान मानेन ।

अनि सिधै विदेशी कम्पनीसँग सम्झौता गर्दा सस्तोमा पाउने भएपछि हामी त्यतै गयौं । यसरी टेलिकमले धेरै पटक अवसरहरु गुमाइरहेको छ । अबको ब्याकबोनमा भने टेलिकमलेले अवसर नगुमाओस् । अन्य सेवाप्रदायकले त्यति धेरै महङ्गो पर्ने ब्याकबोन किन बनाउनु ?

त्यो खर्चलाई बहन गर्न आईएसपीहरुसँग पर्याप्त आम्दानीको स्रोत छैन । तर टेलिकमसँग त धेरै सेवाहरु छन् । उसले मोबाइल, भ्वाइस, ब्रोडब्याण्ड लगायतका धेरै सेवा दिइरहेको छ । यो समस्या नेपाल टेलिकमा मात्र होइन, एनसेलको पनि त्यही समस्या छ ।

उसले ‘टेलिकमले नदिएपछि हामीले त्यति ठूलो ब्याकबोन बनायौं, अब हामी किन दिने ?’ भन्छ । ब्याकबोन लिजमा दिएर गरेको आम्दानी एकदमै न्यून हुन्छ भन्छ । पूर्वाधार शेयर गर्दा हाम्रो आम्दानी खुम्चने होइन बढ्छ भनेर जबसम्म मानसिकता फेरिँदैन, तबसम्म यो हुँदैन ।

सेवाप्रदायकहरु हामीकहाँ टन्नै छन् । भोलिको दिनमा एउटा मात्र होइन, धेरै सेवाप्रदायक कम्पनीहरुले सेवा लिदैँ पैसा दिँदै जान्छन् । यसरी आम्दानी पनि उल्लेखनीय हुँदै जान्छ । 

जब कि टेलिकम सेवाप्रदायकहरुको भ्वाइस कलतर्फको आम्दानी खस्किदै गइरहेको छ । यस्तो अवस्थामा आम्दानीका अन्य स्रोत पनि खोज्न पर्‍यो नि ! यस्तो अवस्थामा पूर्वाधार शेयरिङ र त्यसबाट हुने आम्दानीको विषय त एकदमै सान्दर्भिक हुन्छ । 

पूर्वाधार सहप्रोगमा हामीले सबैको भूमिका र सक्रियताको अपेक्षा गरेका छौं । सबैभन्दा पहिले त सहप्रयोगको ‘इच्छा’ नै हो । प्राधिकरणले पनि यो मामिलामा कानुनतः कडाई गर्नुपर्‍यो । ऊसँग स्पष्ट र बलियो अख्तियारी हुनुपर्छ ।

पूर्वाधार सहप्रयोग अस्वीकार गरेको खण्डमा कडाई साथ कानूनी रुपमा प्रस्तुत हुन सक्नुपर्छ । कुनै पनि सेवाप्रदायकले सहप्रयोगका लागि माग्दा प्राधिकरणमा गएर प्रक्रिया अगाडि बढाउने  अनि उसले मध्यस्तता गरिदिने प्रक्रिया अहिले पनि छ ।

तर त्यसलाई प्राधिकरणले कडा रुपमा कार्यान्वयन गर्नु पर्‍यो । सहप्रयोग नगर्दा त्यही अनुसार दण्ड दिनु पर्‍यो । सहप्रयोग रोक्न अहिले सबैभन्दा राम्रो उपाय भनेको प्राविधिक समस्या देखाइदिनु हो । मैले यो गर्न सकिनँ, मसँग यो भएन, यस्तै भन्छन् ।

त्यो बहानालाई प्राधिकरणले विश्लेषण गरेर हेर्नु पर्ने हुन्छ । प्राधिकरण सधैं उस्तै छ । न त बलियो छ, न कमजोर । तर सेवाप्रदायकहरुले यो विषयमा प्राधिकरणलाई कम आँकेका छन् । त्यसै कारणले नै प्राधिकरणले दबाब दिन नसकेको जस्तो देखिन्छ ।  

इन्टरनेट सेवाप्रदायकले चरम ठगी गरेको आरोप निराधार हो

अहिले पनि आईएसपीहरुले ब्याण्डविथ बढी दिने तर मूल्य नघटाउने प्रवृत्ति देखा परेको आरोप लाग्ने गरेको छ । हामीकहाँ कहिलेसम्म हामीले आईएसपीबाट अन्तर्राष्ट्रिय मापदण्डको आधारभूत ब्रोडब्याण्ड तीन चार सय रुपैयाँमा कहिले पाउन सक्छौं भन्ने प्रश्न धेरै उठ्ने गर्छ ।

वास्तवमा ब्रोडब्याण्ड सेवालाई सस्तो बनाउने कुरामा हामीले धेरै छलफल गरेका छौं । तर यहाँ प्रतिव्यक्ति आयको कुरा गरिएको छ भन्ने कुरा यहाँ मान्छेले बुझ्दैनन् । नेपाल दूरसञ्चार प्रधिकरणको तथ्याङ्कअनुसार आजको दिनमा एउटा ब्रोडब्याण्डले लगभग पाँचजनालाई सेवा दिइरहेको छ ।

पाँचजनाको अन्तर्राष्ट्रिय मापदण्डको ब्याण्डविथ अफोर्डिबिलिटीको मूल्य हेर्ने हो भने करिब दुई हजार हुन्छ । आजको दिनमा नेपालमा नेपाल टेलिकमले आठ सयमा र अन्य सेवा प्रदायकले टिभी समेतगरी हजारदेखि १२ सयसम्ममा सेवा दिइरहेका छन् ।

यसको अर्थ अहिले नेपालीहरुले झण्डै साढे दुई सयमै ब्रोडब्याण्ड सेवा पाइरहेका छन् । यूएनले दिएको तथ्याङ्क प्रतिव्यक्ति आयको कुरा प्रति प्रयोगकर्ताको तहमा हो । अब केबल टेलिभिजनकै मूल्य बराबरमा इन्टरनेटको खोज्ने हो भने त्यो असम्भव छ भनेर म भन्दिनँ ।

तर यसका लागि पताईं हामीले इन्टरनेटको भिन्न प्रकृतिलाई बुझ्नुपर्छ । केबल सेवाप्रदायकले एउटा टिभी सिग्नल लिएर करोडौं मान्छेहरुलाई बाँडिदिन सक्छन् । एकपटक सिग्नल लिइसकेपछि अतिरिक्त खर्च लाग्दैन । तर इन्टरनेटमा हामीले लिएको ब्याण्डविथ हरेक ग्राहकले खपत गर्छन् ।

एउटा थप ग्राहक आउने बित्तिकै ब्याण्डविथ खपत पनि बढ्छ । ग्राहक बढ्दा ब्याण्डविथ खर्च बढाउनु पर्छ । यसको निश्चित मूल्य छैन । थप हुँदै जाने मूल्य छ । टिभी व्यवसायमा त्यस किसिमको लगानी हुँदैन । 

पछिल्लो तीनचार वर्षको परिदृश्य हेर्दा ब्रोडब्याण्डमा ब्याण्डिथ खपत बढेको छ । मूल्य घटेको छ, त्यो पनि फाइबर इन्टरनेट । नेपालमा जत्तिको सस्तो मूल्यमा फाइबर इन्टरनेट तपाईंले सायदै अन्य मुलुकमा पाउनुहुन्छ । नेपाल सस्तो इन्टरनेट हुने विश्वकै शीर्ष १० वा पाँच मुलुकभित्र पर्छ ।

आईएसपीहरुलाई जुन चरम ठगीको आरोप लगाइन्छ, त्यो निराधार छ । यदि चरम ठगी गरेकै भए सेवाप्रदायक अहिले कुनै ठगीको मुद्दा झेलिरहेका हुन्थे ।। वर्ल्डलिङ्क पनि २५ वर्षको हुँदैन थियो । त्यो भन्न मिल्दैन । सेवामा कमजोरी हुनु कुनै अनौंठो कुरा होइन ।

हामीले चार लाख घरमा सेवा दिएका छौं । त्यसका प्रयोगकर्ता करिब २५ लााख छन् । दैनिक २५ लाख प्रयोगकर्तले सेवा प्रयोग गरिरहेका हुँदा ०.१ प्रतिशतले मात्रै गुनासो गरे पनि ठूलै संख्या हुन जान्छ । साँच्चै चरम ठगी भएको भए यसको ठूलो हाहाकार हुने थियो । सबै सेवाप्रदायक यसैमा ध्वस्त हुने थिए । 

हामीले सेवा दिदाँ प्राविधिक पक्षमा कहिलेकहिँ कतै न कतै त्रुटि भइरहेको हुन्छ । त्यो हामी निरन्तर बनाइरहेका हुन्छौं र नै हामी कहाँ सेवाग्राही टिकेर बस्छन् । अन्यथा यो त एउटा प्रतिस्पर्धात्मक बजार हो । यति धेरै सेवाप्रदायकहरु छन्, यहाँ । 

थ्रीजी सुरु भएदेखि फिक्स्ड ब्रोडब्याण्ड इतिहास नै हुन्छ भन्नेे कुरा मैले सुन्दै आइरहेको छु । थ्रीजी आएपछि पाँच, छ एमबीपीएसको स्पिड त मोबाइलमै पाइन्छ, मान्छेहरु किन एक एमबीपीएस कुरेर बस्छन् भनेर सोधिरहेका हुन्छन् ।

अहिले फोरजी र फाइभजी आइरहेको समयमा यही प्रश्न दोहोरिरहेका छन् । भारतलाई छोड्ने हो भने विगत एक वर्षदेखि नेपालको फोरजी यस क्षेत्रकै सस्तो हो । तै पनि मान्छेहरुले फिक्स्ड ब्रोडब्याण्ड रोजिरहेकै छन् ।

भोलिको दिनमा सय एमबीपीएस मोबाइल ब्रोडब्याण्डमा आउँदा पनि मान्छेहरुले फिक्स्ड नै रोज्नेछन् । किनभने फिक्स्डको प्रयोग घरमा र कार्यालयमा हुने हो । जहाँ मान्छेहरुलाई कुनै क्याप बिना अनलिमिटेड र हाई डेटा रेट चाहिन्छ ।

मोबाइल डेटाको प्रयोग घरबाहिर बाटोमा मात्र प्रयोग हुने हो । फिक्स्ड ब्रोडब्याण्डको विश्वसनीयता भोलिको दिनमा पनि सधैं कायम रहनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१