close

प्रभु पेको अपाङ्गतामैत्री डिजिटल वालेट, भुक्तानीमा ‘टकब्याक’ फिचर

टेकपाना टेकपाना

बैशाख २३, २०७८ १२:१६

प्रभु पेको अपाङ्गतामैत्री डिजिटल वालेट, भुक्तानीमा ‘टकब्याक’ फिचर

काठमाडौं । कोभिड–१९ को महामारीसँगै प्रविधिको विकास र त्यसको प्रयोगले नयाँ उचाई छोएको छ । त्यसमा पनि बैंकिङ तथा आर्थिक कारोबारको क्षेत्रमा पछिल्लो समय प्रविधि आत्मसाथ गर्नेमा सबैभन्दा अघि छ ।

अनलाइन भुक्तानी, अनलाइन कारोबार, अनलाइन बैंकिङ, अनलाइन जरिवाना भुक्तानी जस्ता शब्दसँग प्रयोगकर्ता निकै नै नजिक भएका छन् । कुनै समय आफूले पठाएको पैसा भनेको ठाउँमा जाने हो वा होइन भनेर डराएर कारोबार नै नगर्ने मनस्थितिका प्रयोगकर्ता पनि विस्तारै अनलाइन माध्यममा भर पर्न थालेका छन् ।

यसरी अनलाइन कारोबार, अनलाइन शपिङ, अनलाइन भुक्तानीप्रति प्रयोगकर्तामा विश्वास पैदा हुँदै जाँदा यसले सबैलाई जोड्दै जानु स्वभाविक नै हो । जो सक्षम छन्, उनीहरुका लागि त अवसरहरु धेरै छन् ।

तर, प्रविधिबाट बाहिर रहेका, अपाङ्गता भएका व्यक्तिलाई प्रविधिसँगै अघि बढाउनुमा सेवा प्रदायकको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । विभिन्न सेवा प्रदायकले पछिल्लो समय त्यही अनुसारको प्रविधि विकास गरिरहेका छन् ।

स्मार्टफोन नहुने प्रयोगकर्ताले पनि अनलाइन कारोबार गर्न सकुन भनेर बारफोनबाट अनलाइन कारोबार गर्न सक्छन् । अपाङ्गता भएकाहरुका लागि उनीहरुको सहजता अनुसार प्रविधि उपलब्ध गराउने काम मोबाइल वालेट कम्पनीहरुबाट सुरु भएको छ ।

जसको एउटा उदाहरण हो, प्रभु पे । प्रभु गु्रप अन्तर्गत सञ्चालित प्रभु पेले आफ्नो सेवालाई प्रभावकारी बनाउन प्रविधि प्रयोगमा निकै काम गरिरहेको छ । बैंकिङ कारोबारबाट बाहिर रहेका मानिसलाई जोड्ने योजनाका साथ ‘बारफोन’ बैंकिङ सेवा उपलब्ध गराउँदै आएको कम्पनीले त्यस्तै अर्को फिचर ‘अपाङ्ग मैत्री’ कारोबार पनि उपलब्ध गराउन थालेको छ ।

अपाङ्गता भएका व्यक्तिहरुले पनि आजको प्रविधिको उपयोग गर्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ प्रभु पे अपाङ्गमैत्री बनाइएको कम्पनीका बजार व्यवस्थापक सन्तोष गुरुङ बताउँछन् । उनी भन्छन, ‘हामीले अपाङ्गता भएका व्यक्तिको पनि डिजिटल कारोबारमा पहुँच पुगोस् भन्ने उद्देश्यका साथ यो फिचरको सुरुवात गरेका हौं ।’

कोभिड–१९ को पहिलो लहरसँगै डिजिटल कारोबारले प्रोत्साहन पायो । सरकारले जारी गरेको लकडाउनले गर्दा सबै घरमा बस्न बाध्य भए । उनी अगाडि भन्छन्, ‘यस्तोमा जोसँग डिजिटल पहुँच थियो, उनीहरुले अनलाइन कारोबार गर्न सफल भए ।

तर, जो डिजिटल कारोबारभन्दा बाहिर थिए, उनीहरुले लकडाउनमा भोगेको भोगाई नमिठो थियो । त्यसैलाई मध्यनजर गर्दै बारफोन कारोबार र अपाङ्गमैत्री एपको विकास गरेका हौं ।’ यसका लागि कम्पनीले अपाङ्गगता भएका दुई जना कर्मचारी नै नियुक्त गरेको छ ।

यसरी अपाङ्गता कर्मचारी नै नियुक्त गरेर सेवाको सुरुवात गर्ने प्रभु पे नै नेपालको पहिलो वालेट कम्पनी भएको गुरुङको दाबी छ । यसरी कर्मचारी नै नियुक्त गरेर वालेट निर्माण गर्दा उनीहरुको आवश्यकता के हो र कस्तो सेवा उपलब्ध गराउँदा ऊनीहरुलाई सहज हुन्छ भन्ने विषय बुझ्न समेत सहज भयो ।

जसले प्रभु पेको एपलाई पूर्णरुपमा अपाङ्गमैत्री बनाउन मद्दत गरेको ऊनी सुनाउँछन् । ‘अहिले अपाङ्गता भएका व्यक्तिले पनि प्रभु पे एपमार्फत सहज रुपमा अनलाइन कारोबार गर्न सक्छन्,’ उनी भन्छन् ।

यसका लागि प्रभु पेको उक्त एपले ‘टकब्याक’ लाई सपोर्ट गर्छ । यसको अर्थ यदि तपाईंले ‘टकब्याक’ फिचर अन गर्नुभएको खण्डमा प्रभु पेमा उपलब्ध हरेक फिचरमा क्लिक गर्दा उक्त फिचर के हो भन्ने बारेमा फोनले नै आवाजमा बोलेर जानकारी दिनेछ ।

जसले गर्दा दृष्टिबीहिन भएका व्यक्तिले वालेटमा उपलब्ध फिचरहरु औंलाले छोएर सुनेको आधारमा कारोबार गर्न सक्छन् । तर त्यसका लागि अपाङ्गता भएका व्यक्तिले केवाईसी फाराम भर्दा आफ्नो अपाङ्गताको प्रकार छनौंट गरी अपाङ्गता परिचयपत्र राख्नुपर्ने हुन्छ ।

यसरी जोडिँदा उनीहले विशेष क्यासब्याक समेत पाउने गुरुङ बताउँछन् । कम्पनीले यो सेवा सुरु गरेको जम्मा चार महिना भएको छ । तर, यसमा जोडिने प्रयोगकर्ताको संख्या भने २ सयभन्दा बढी भइसकेको गुरुङले जानकारी दिए ।

के हो ‘टकब्याक’ फिचर ?

टकब्याक फिचर दृष्टिबिहीन अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि एन्ड्रोइडले उपलब्ध गराएको फिचर हो । यसले अपाङ्गता भएका व्यक्तिहरुलाई एन्ड्रोइड फोन प्रयोगमा सहयोग पुर्‍याउँछ ।

यदि तपाईंले एन्ड्रोइडमा यो फिचर अन गर्नु भएको छ भने मोबाइलले प्रयोगकर्तालाई मोबाइल स्क्रिनमा भएको ईमेल, टेक्स लगायतका विषय बोलेर सुनाउँछ । त्यसआधारमा आफूले प्रयोग गर्न खोजको के हो पत्ता लगाएर फोन प्रयोग गर्न सकिन्छ ।

यसै फिचरमा मिल्नेगरी प्रभु पेले आफ्नो एप तयार पारेको हो । यसको अर्थ प्रभु पेको यो फिचर एन्ड्रोइड फोन प्रयोगकर्ताले मात्रै प्रयोग गर्न पाउने छन् ।

कसरी अन गर्ने ‘टकब्याक’ फिचर ?

यो फिचर तपाईंले एन्ड्रोइड फोनमा विभिन्न तरिकारले अन गर्न सक्नुहुनेछ । मोबाइलको सेटिङभित्र गएर अन गर्ने तरिका सबैभन्दा प्रभवकारी हुनसक्छ । त्यसका लागि सुरुमा मोबाइलको ‘सेटिङ’ खोल्नुहोस् ।

सेटिङ खोलेसँगै त्यसभित्र तपाईंले ‘एक्सेसिबिलिट’ विकल्प देख्नुहुनेछ । उक्त विकल्पमा जानुहोस् र त्यहाँ रहेको ‘टकब्याक’ मा थिच्नुहोस् ।

उक्त ‘टकब्याक’ मा क्लिक गरेसँगै त्यहाँ तपाईंले उक्त सेवा अन गर्ने अथवा अफ गर्ने विकल्प पाउनुहुनेछ । यदि तपाईं टकब्याक फिचर प्रयोग गर्ने हो भने ‘अन’ गर्नुहोस् र ‘ओके’ बटन दबाउनुहोस् ।

सँधै यसरी सेटिङमा गएर ‘अन’/‘अफ’ गर्ने कार्य झन्झटिलो हुन सक्छ । त्यस्तोमा तपाईंले सोही सेटिङभित्र रहेको ‘एक्सेसेबिलिटी’ अन्तर्गतको ‘शर्टकर्ट’ मा क्लिक गरी ‘टकब्याक’ छनौंट गर्न सक्नुहुन्छ ।

यसो गर्दा तपाईंले अर्को पटकदेखि दुवैै भोलुम बटन एकसाथ थिचेकै भरमा यो फिचर अन अफ गर्न सक्नुहुनेछ । यस अलवा तपाईंले गुगल एसिस्टेन्टमार्फत पनि यो फिचर ‘अन’/‘अफ’ गर्न सक्नुहुन्छ ।

यसको अर्थ तपाईंले गुगल एसिस्टेन्ट अन गरी ‘हे गुगल’ भनेर ‘टर्न अन’ अथवा ‘टर्न अफ’ टकब्याक’ भनेर निर्देशन दिनुपर्ने हुन्छ । यसो गर्दा बोलेकै भरमा टकब्याक फिचर खुल्ने र बन्द हुने गर्छ ।

यसरी ‘टकब्याक’ फिचर अन गरी दृष्टिबिही भएका व्यक्तिले पनि प्रभु पे मार्फत मोबाइल रिचार्ज गर्ने, बिजुली, खानेपानी, इन्टरनेट, टेलिफोनको बिल तिर्ने जस्ता सेवा लिन सक्छन् । यसका साथै हवाई टिकट काट्ने लगायतका सेवाको अनलाइन भुक्तानी सेवा समेत यसबाट लिन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१