close

ब्याण्डविथ के हो, अनि कसरी नापिन्छ इन्टरनेटको स्पिड ?

टेकपाना टेकपाना

बैशाख २३, २०७८ १७:६

ब्याण्डविथ के हो, अनि कसरी नापिन्छ इन्टरनेटको स्पिड ?

काठमाडाैं । इन्टरनेट हाम्रो दैनिकीको महत्वपूर्ण हिस्सा बनिसकेको छ । खानु, सुत्नु, उठ्नु जस्ता आफ्ना साना भन्दा साना आवश्यकता पुरा गर्नका लागि समेत हामीलाई इन्टरनेटको आवश्यकता पर्दछ । इन्टरनेट एउटा निकै ठूलो विद्युतीय जालो हो ।

यो तारयुक्त र ताररहित दुवै प्रकारको हुने हुने गर्दछ । दुवै किसिमको विकल्पमा इन्टरनेट प्रयोग गरिरहँदा हामी कहिलेकाहिँ एउटा शब्द सुन्न पुग्छौं, ब्याण्डविथ ।

यो ब्याण्डविथ के हो भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा हुँदैन । आज हामी ब्याण्डविथ के हो, यसले कसरी काम गर्दछ, यसको प्रयोग कहाँ र कसरी हुने गर्दछ आदि विषयमा चर्चा गर्दै छौं ।

ब्याण्डविथ के हो ?

एउटा निश्चित समयमा कति डेटा एउटा स्थानबाट अर्को स्थानमा पुर्‍याउन सकिन्छ भनेर मापन गर्ने विधिलाई नै ब्याण्डविथ भनिन्छ । आम रुपमा ब्याण्डविथलाई बाइटरेटको रुपमा व्यक्त गरिन्छ ।

यसलाई बिट्स प्रतिसेकेन्डमा नापिन्छ । ब्याण्डविथ कुनै कनेक्सनको प्रसारण क्षमता अर्थात ट्रान्समिसन क्षमतालाई जनाउँदछ । जब इन्टरनेटको गुणस्तर र गतिको विषय आउँछ, त्यस्तो बेलामा यो महत्वपूर्ण कारक बन्न पुग्छ ।

ब्याण्डविथको प्रयोग कहाँ कसरी हुन्छ ? 

कम्प्युटरमा इन्टरनेटबाहेक अन्य प्राविधिक क्षेत्रमा ब्याण्डविथको प्रयोग गरिन्छ । उदाहरणका लागि सिग्नल प्रोसेसिङको क्षेत्रमा, फ्रिक्वेन्सीको माथिल्लो र तल्लो आवर्तनको अन्तर जनाउन यसको प्रयोग हुने  गर्दछ ।

यस्तो प्रसारण रेडियोको समेत हुनसक्छ । रेडियोमा यसलाई हर्जको रुपमा नापिन्छ । पाइपमा रहेको पानीको मापनका लागि समेत ब्याण्डविथको प्रयोग हुने गर्दछ ।

यस्तोमा प्रतिसेकेन्ड बिट्सको साटो ग्यालन प्रतिमिनेटको दरमा मापन गरिन्छ । अघि भनेजस्तै ब्याण्डविथलाई बिट्स प्रतिसेकेन्डमा नापिन्छ । जसलाई बीपीएसको रुपमा जनाइन्छ ।

यद्यपि हालका दिनहरुमा ब्याण्डविथलाई जनाउन थप सहज भएको छ । अचेलका नेटवर्क निकै धेरै ब्याण्डविथ क्षमताका हुने गर्दछन् । जसलाई साना ईकाइको रुपमा समेत सजिलै जनाउन सकिन्छ ।

मेट्रिक्सका ठूला अंक देख्ने र बुझ्ने कुरा सहज भइसकेको छ । एमबीपीएस (मेगाबिट्स प्रतिसेकेन्ड), जीबीपीएस (गिगाबिट्स प्रतिसेकेन्ड), टीबीपीएस (टेराबाइट्स प्रतिसेकेन्ड) को रुपमा हुने गर्दछ ।

टेराबिट्सपछि पेटाबिट, एक्जिबिट, जिटाबिट, योटाबिट आउँछ । जसले प्रत्येक दशको अतिरिक्त शक्तिको प्रतिनिधित्व गर्दछन् ।

ब्याण्डविथ मापन गर्ने विधिः

ब्याण्डविथ मापन गर्ने अनेक तरिकाहरु छन् । आम रुपमा ब्याण्डविथ मापन गर्नका लागि सफ्टवेयर वा फर्मवेयर अथवा नेटवर्क इन्टरफेसको प्रयोग गरिन्छ । उदाहरणका लागि सामान्य ब्याण्डविथ मापनमा टीटीसीपी, पीआरटीजी नेटवर्क मनिटर टेस्टको उपयोग गर्न सकिन्छ ।

टीटीसीपीले दुई वटा होस्ट (पठाउने र पाउने) बीच आईपी नेटवर्कमा प्रभाव क्षमतालाई नाप्ने गर्दछ । अर्थात दुई वटा नेटवर्कबीच कति गतिका साथ सम्पर्क भइरहेको छ भन्ने कुरा यसले मापन गर्दछ ।

दुवै होस्टबीच एकतर्फको यात्रा गर्न लागेका बाइट्सको संख्या र कुल समयको संख्यालाई जनाउँदछ । पीआरटीजीको उपयोग लामो अन्तररालको ब्याण्डविथ मापनका लागि उपयोग हुने गर्दछ ।

यसले  ग्राफिक इन्टरफेस अथवा चार्टको रुपमा ब्याण्डविथलाई दर्शाउँछ । साथै विभिन्न इन्टरफेसबीचको ट्राफिकलाई समेत मापन गर्दछ ।

आम रुपमा ब्याण्डविथ मापनका लागि एउटा विशिष्ट समयावधिबीच पठाइएका र प्राप्त गरिएका ट्राफिकको कूल मात्रालाई गणना गरिन्छ । परिणामस्वरुप यसलाई प्रतिसेकेन्डमा मापन गरिएको संख्याको मात्राको रुपमा व्यक्त गरिन्छ ।

ब्याण्डविथ मापन गर्ने एउटा अर्को तरिका पनि छ । निश्चित साइजका केही फाइललाई ट्रान्सफर गरिन्छ र त्यसक्रममा कति समय लाग्छ, त्यसको मापन गरिन्छ ।

त्यसपछि प्राप्त परिणामलाई बीपीएसमा परिवर्तन गरिन्छ । यसक्रममा फाइल साइजलाई लागेको कुल समयले भाग गरिन्छ । अधिकांश कम्प्युटरमा इन्टरनेट स्पिड टेस्ट गर्नका लागि यही विधि प्रयोग गरिन्छ । 

ब्याण्डविथले कसरी गर्छ काम ? 

ब्याण्डविथ कहाँ कहाँ र कुन एप्लिकेसनमा प्रयोग हुँदैछ अनि त्यसका लागि कति ब्याण्डविथ लाग्छ भन्ने कुरा टेलिकम्युनिकेसन सेन्टरले पत्ता लगाउनुपर्ने हुन्छ । यसका लागि दुई वटा तरिका हुन्छन् ।

पहिलो त्यहाँ कति ब्याण्डविथ उपलब्ध छ, त्यो पत्ता लगाउनुपर्ने हुन्छ । यसलाई बिट्स प्रतिसेकेन्डमा नै व्यक्त गरिन्छ ।

अनि दोस्रो कुनै कम्प्युटर वा मोबाइल एप्लिकेसनलाई औषत कति ब्याण्डविथ आवश्यक छ भन्ने कुरा तय गरिन्छ । यो पनि बिट्स प्रतिसेकेन्डमै जनाइन्छ ।

ब्याण्डविथ नेटवर्क जति ठूलो हुन्छ, त्यसले एक पटकमा त्यति नै धेरै डेटा पठाउन र प्राप्त गर्न सक्छ । ब्याण्डविथ काम कसरी गर्दछ भन्ने कुराको अन्दाजका लागि एउटा उदाहरण हेरौं ।

एउटा पानीको पाइप जति ठूलो हुन्छ, त्यसमा त्यति नै धेरै पानी बहन सक्छ । ब्याण्डविथ यही सिद्धान्तमा काम गर्दछ । नेटवर्कको जति ठूलो कम्युनिकेसन लिङ्क हुन्छ, त्यसले एक सेकेन्डमा त्यति नै धेरै डेटा ट्रान्सफर गर्न सक्छ । 

ब्याण्डविथ र स्पिडबीचको भिन्नता 

ब्याण्डविथ र स्पिडमा कतिपय समय दुविधा उत्पन्न हुने गर्दछ । ब्याण्डविथको अर्थ हो, तपाईंले एक सेकेन्डमा कति सूचना प्राप्त गर्नु भयो ।

स्पिडको अर्थ हो कति छिटो गतिमा उक्त सूचना डाउनलोड वा प्राप्त भयो । यसलाई एउटा उदाहरणको रुपमा बुझौं । मानौं हामीलाई एक बाल्टी पानी भर्नु छ । त्यसका लागि मसिनो मुख भएको नलभन्दा फराकिलो मुख भएको नल प्रयोग गर्दा बाल्टी छिटो भरिन्छ ।

यसमा ब्याण्डविथलाई तपाईं पानी सम्झिनुहोस् अनि पानी बाल्टीमा जुन गतिमा गइरहेको छ, त्यसलाई स्पिड सम्झिनुहोस् । ब्याण्डविथ र स्पिडको दुविधालाई अन्त्य गर्न स्पिडलाई नेटवर्क स्पिड भनिन्छ न कि ब्याण्डविथ स्पिड । 

किन नापिन्छ ब्याण्डविथ ? 

अनेक कारणले गर्दा ब्याण्डविथ मापन गर्नु आवश्यक हुन्छ । मानौं तपाईंले कुनै सेवाप्रदायकबाट इन्टरनेट कनेक्सन खरिद गर्नुभयो ।

अब तपाईंले जाँच गर्नुपर्ने हुन्छ कि जति इन्टरनेट स्पिडको बाचा सेवाप्रदायकले  गरेको थियो, त्यो पुरा भइरहेको छ वा छैन ? यस्तो अवस्थामा हामीलाई ब्याण्डविथ मापन गर्नुपर्ने आवश्यकता हुन्छ ।

अनलाइन ब्याण्डविथ टेस्टका लागि डीएसएल रिपोर्ट स्पिड टेस्ट प्रयोग  गरिन्छ । इन्टरनेट सेवाप्रदायकले तपाईंलाई २० एमबीपीएस गतिको इन्टरनेट दिने बाचा गरेको छ र त्यसका लागि पैसा समेत लिएको हुन्छ ।

यस्तो बाचा पुरा भएको छ कि छैन यकिन गर्न ब्याण्डविथ नापेर हेर्नुपर्ने हुन्छ । दूरसञ्चार कम्पनीहरुबाट सबैभन्दा अधिक ब्याण्डविथ खरिद गरिन्छ ।

अधिकांश ब्याण्डविथलाई ‘अप टु’ भनेर बिक्री गरिन्छ । उदाहरणको लागि ‘अप टु २० एमबीपीएस’ ।  यसको अर्थ हो कि ग्राहकलाई २० एमबीपीएस गतिसम्मको इन्टरनेट प्राप्त हुनसक्छ ।

तर कनेक्सनमा सधैं यही स्पिड कायम रहोस् भन्ने कुरा जरुरी हुँदैन । अलग अलग समय वा अलग अलग परिस्थितिमा स्पिड बढी वा कम हुनसक्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१