close

एनसेलको राहत प्याकेज, आकर्षक बोनसदेखि सापटीमा थप ब्यालेन्स

टेकपाना टेकपाना

बैशाख २४, २०७८ ११:२८

एनसेलको राहत प्याकेज, आकर्षक बोनसदेखि सापटीमा थप ब्यालेन्स

काठमाडौं । कोभिड–१९ महामारीको दोस्रो लहर छाएसँगै एनसेल आजियटा लिमिटेडले आफ्ना सेवामा विभिन्न राहत अफर सार्वजनिक गरेको छ । अहिलेको स्वास्थ्य संकटमा अत्यावश्यकीय सञ्चार सेवामा निर्वाध पहुँच झनै महत्वपूर्ण रहेको भन्दै कम्पनीले यस्तो राहत प्याकेज ल्याएको हो ।

जसअनुसार कम्पनीका प्रयोगकर्ताले प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कामका लागि विशेष प्याक र एनसेल सापटीमा विभिन्न थप सुविधा रहेका छन् । यसबाट अहिलेको सामाजिक र भौतिक दूरी कायम गर्नुपर्ने अवस्थामा ग्राहकलाई आफ्ना परिवार, आफन्त र साथीभाइसँग सम्पर्कमा रहिरहन र कुनै पनि आपतकालिन अवस्थाको समयमा आवश्यक सहयोग लिन सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

प्रत्येक रिचार्जमा बोनस डेटा

यो अफर अन्तर्गत ग्राहकले ५० रुपैयाँ वा सोभन्दा माथिको हरेक रिचार्जमा बोनस डेटा पाउनेछन् । जसमा ५० रुपैयाँदेखि ९९ रुपैयाँ रिचार्जमा ५० एमबी बोनस डेटा प्राप्त गर्नेछन् । यस्तो बोनस डेटा एक दिनका लागि मान्य हुने छ ।

त्यसैगरी १०० रुपैयाँदेखि १९९ रुपैयाँसम्म, २०० रुपैयाँदेखि २९९ रुपैयाँसम्म र ३०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको रिचार्जमा क्रमशः १०० एमबी (मान्य अवधि २ दिन), २०० एमबी (३ दिन) र ३०० एमबी (५ दिन) डेटा बोनसको रुपमा प्राप्त गर्नसक्नेछन् ।

त्यसैगरी ५०० रुपैयाँदेखि ९९९ रुपैयाँसम्मको रिचार्जमा ग्राहकले ५०० एमबी (१० दिन) बोनस डेटा तथा १००० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा ग्राहकले १००० एमबी (१५ दिन) डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

३० दिने डेटा प्याकमा डबल डेटा

मंगलबार (वैशाख २१) देखि संचालनमा आएको यो अफर अन्तर्गत ग्राहकले ३० दिने डेटा प्याकको खरिदमा प्याकमा पाइने भोलुम बराबर थप डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । ग्राहकले करसहित २४९ रुपैयाँमा ३.५ जीबी डेटा लिन सक्छन् र त्यति नै डेटा बोनस अर्थात कुल ७ जीबी डेटा पाउँछन् ।

त्यसैगरी करसहित ३९९ रुपैयाँमा ६ जीबी डेटा लिने ग्राहकले थप ६ जीबी बोनस गरी कुल १२ जीबी, ४९९ रुपैयाँमा १० जीबी डेटा खरिद गर्नेले कुल २० जीबी डेटा पाउनेछन् । यसमा प्राप्त बोनस डेटाको मान्य अवधि समेत ३० दिनकै रहेको छ ।

वर्क फ्रम होम अफर

महामारीको समयमा कार्यालयका कामकाज तथा पढाइको काम घरबाटै गर्नुपर्ने बाध्यता रहेको छ । ग्राहकहरुको यस किसिमको आवश्यकतालाई मध्यनजर गर्दै एनसेलले दैनिक तथा साप्ताहिक डेटा प्याक ल्याएको छ ।

दैनिक डेटा प्याकमा ग्राहकले करसहित ३१ रुपैयाँमा २ जीबी एप डेटा प्राप्त गर्न सक्नेछन् र उक्त डेटा भोलुममार्फत माइक्रोसफ्ट टिम्स्, जुम तथा गुगल मीट जस्ता प्लेटफर्म बिहान ६ बजेदेखि बेलुका ६ सम्म प्रयोग गर्न सकिन्छ ।

यसका साथै ग्राहकले १५० एमबी अल टाइम डेटा पनि पाउनेछन् । त्यस्तै साप्ताहिक प्याक अन्तर्गत ग्राहकले कर सहित १२७ रुपैयाँमा १४ जीबी एप डेटा तथा ३ जिबी अल टाइम डेटा प्रयोग गर्न सक्छन् ।

ग्राहकले *17123# डायल गरी वर्क फ्रम होम अफर अन्तर्गतका प्याक आफ्नो आवश्यकता अनुसार रोजेर खरिद गर्न सक्नेछन् । प्याक अन्तर्गतको निश्चित भोलुमम प्रयोग भइसकेपछि विद्यमान् डेटा शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

डिजिटल प्लेटफर्ममार्फत प्याकहरुको खरिदमा बोनस

तीब्र गतिमा फैलिरहेको कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्नका लागि देशको विभिन्न जिल्लामा हाल निषेधाज्ञा जारी छ । यस्तो अवस्थामा बजारमा गएर रिचार्ज कार्ड पाउन सहज छैन ।

यस्तो अवस्थामा कम्पनीका ग्राहकले एनसेल एप, च्याटबोट र वेबसाइट जस्ता डिजिटल प्लेटफर्ममार्फत एनसेलका सेवा तथा सुविधा सजिलै लिन सक्छन् ।

यसका साथै ग्राहकले डिजिटल प्लेटफर्ममार्फत सेवा खरिद गर्दा विभिन्न बोनसको पनि लाभ लिन सक्छन् । १ दिनको प्याक (१८ रुपैयाँमा), ७ दिनको प्याक (९८ रुपैयाँमा) र १४ दिनको प्याक (१३९ रुपैयाँमा) खरिदमा १५० एमबीदेखि २ जीबीसम्म बोनस डेटाको सुविधा रहेको छ ।

त्यस्तै ट्रिपल मजा प्याक अन्तर्गत ७ दिनको प्याक (१०९ रुपैयाँ), १० दिनको प्याक (१४७ रुपैयाँ) र ३० दिनको प्याक (४५९ रुपैयाँ) खरिदमा ०.५ जीबीदेखि ०.७५ जीबीसम्म बोनसको फाइदा लिन सकिन्छ ।

एनसेल सापटी थप सुविधा

एनसेलले महामारीको समयलाई मध्येनजर गर्दै सापटी सेवामा समेत थप सुविधा लएको छ । यससँगै कम्पनीका ग्राहकले अब सापटी सेवा अन्तर्गत पुरानै सेवा शुल्कमा ८० रुपैयाँसम्म सापटी लिन सक्छन् ।

साथै ग्राहकले १२०० एमबी डेटा पनि सापटी अन्तर्गत लिन सक्ने कम्पनीले जनाएको छ । यो सुविधाका लागि ग्राहकले डेटा शुल्क, सेवा शुल्क र करसहित ८२.५५ रुपैयाँ पछि रिचार्ज गरी तिर्न सक्छन् ।

सापटी सेवामा ग्राहकले एक दिनको समयसीमा रहेको १५ मिनेटको टक टाइम १२.५५ रुपैयाँमा र २०० एमबी डेटा २२.५५ रुपैयाँमा लिन सक्छन् । आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन यदि आफ्नो मेन ब्यालेन्स अपुग भएमा एनसेल प्रयोगकर्ताले *9988# डायल गरी एनसेल सापटी लिन सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१