close

फेसबुक पोस्टमा कसलाई कमेन्ट गर्न दिने वा नदिने ? यसरी गर्नुहोस् नियन्त्रण

टेकपाना टेकपाना

बैशाख २४, २०७८ २२:१०

फेसबुक पोस्टमा कसलाई कमेन्ट गर्न दिने वा नदिने ? यसरी गर्नुहोस् नियन्त्रण

काठमाडौं । फेसबुकमा तपाईंले आफ्नो पोस्ट पब्लिक (सबैले देख्नसक्ने), फ्रेन्ड्स (साथीहरुले मात्र देख्न सक्ने), निश्चित साथीहरुले मात्र देख्न सक्ने वा आफूले मात्र हेर्न सक्नेगरी नियन्त्रण गर्न सक्नुहुन्छ । अब भने तपाईंले आफ्नो पब्लिक गरेको पोस्टमा कसले कमेन्ट गर्न पाउने भन्ने कुरा समेत नियन्त्रण गर्न सक्नुहुनेछ । 

प्रायजसो कुनै पोस्ट भाइरल हुन पुगेको अवस्थामा अनावश्यक र नचाहिँदा कमेन्टहरु आइपुग्छन् । अब यो नयाँ कमेन्ट कन्ट्रोल फिचरले त्यस्ता कमेन्टलाई केही हदसम्म रोक्नेछ । 

जब तपाईं आफ्नो कुनै पोस्टमा साथी तथा आफन्तले मात्रै कमेन्ट गर्न सकुन् भन्ने चाहनुहुन्छ अथवा कुनै पोस्टमा कसैले पनि कमेन्ट गर्न नसकोस् भन्ने चाहनुहुन्छ भने त्यस्तो बेलामा यो फिचर निकै उपयोगी हुनेछ । 

सामाजिक सञ्जालमा कमेन्ट कन्ट्रोल गर्न सकिने फिचर नौलो होइन । तर फेसबुकमा आउन भने निकै समय लागेको हो ।

फेसबुक कम्पनीकै अर्को एप इन्स्टाग्राममा भने पोस्ट तथा स्टोरीमा आउने कमेन्ट कन्ट्रोल गर्न सकिने फिचर लामो समयदेखि उपलब्ध छ । गत वर्ष मात्र ट्वीटरले निश्चित ट्वीटका लागि रिप्लाई सीमित गर्न सकिने फिचर रोलआउट गरेको थियो । 

कसरी नियन्त्रण गर्ने आफ्नो फेसबुकको कमेन्ट ?

सुरुमा आफ्नो मोबाइलमा फेसबुक एप खोल्नुहोस् र दायाँ कुनामा रहेको तीन वटा धर्सा भएको मेनु बटनमा जानुहोस् । 

थोरै तल स्क्रोल गर्नुहोस् र सेटिङ एन्ड प्राइभेसी भित्र रहेको सेटिङमा ट्याप गर्नुहोस् । 

अब स्क्रोल गर्दै जानुहोस् र प्राइभेसी अन्तर्गत रहेको पब्लिक पोस्टमा प्रवेश गर्नुहोस् ।

त्यसको सुरुमा रहेको ‘हु क्यान फलो मि’ लाई पब्लिक बनाउनुहोस् ।

अब पब्लिक पोस्ट कमेन्टमा गएर आफ्नो पब्लिक गरेको पोस्टमा कसले (पब्लिक, फ्रेन्ड्स अफ फ्रेन्ड्स वा फ्रेन्ड्स) कमेन्ट गर्न पाउने छनौट गर्नुहोस् ।

अब फेरी स्क्रोल गर्नुहोस् र पब्लिक प्रोफाइल इन्फोमा जानुहोस् । यसमा तपाईंले आफ्नो सधैं पब्लिक रहने प्रोफाइल पिक्चर, प्रोफाइल भिडियो, कभर फोटो, फिचर फोटो र बायोमा कसले (पब्लिक, फ्रेन्ड्स अफ फ्रेन्ड्स वा फ्रेन्ड्स) लाइक, कमेन्ट गर्न पाउने छनौट गर्नुहोस् । 

पोस्टको कमेन्ट छुट्टा छुट्टै नियन्त्रण गर्ने तरिका

सुरुमा आफ्नो मोबाइलमा फेसबुक एप खोल्नुहोस् । 

आफूले कमेन्ट नियन्त्रण गर्न चाहेको पोस्टमा जानुहोस् र त्यसको माथि दायाँ कुनामा रहेको तीन वटा थोप्लामा दबाउनुहोस् ।

अब त्यहाँ ‘तपाईंको पोस्टमा कसले कमेन्ट गर्न सक्ने’ (Who can comment on your post ?) अप्सन छानौट गर्नुहोस् । 

त्यसभित्र रहेको पब्लिक, फ्रेन्ड्स अथवा आफूले मेन्सन गरेको प्रोफाइल वा पेजलाई रोज्न सक्नुहुन्छ । 

एकपटक तपाईंले यसरी सेट गरिसकेपछि छनौट गरिएका व्यक्ति वा पेजले मात्र तपाईंको पोस्टमा कमेन्ट गर्न सक्नेछन् । यसले तपाईंका निश्चित पोस्टमा अपरिचित व्यक्तिले कमेन्ट गर्न सक्ने छैनन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१