close

अनलाइनमा आफ्नो गोपनीयता जोगाउन चाहनुहुन्छ ? यस्ता छन् उपयोगी एप

टेकपाना टेकपाना

बैशाख २५, २०७८ १३:४५

अनलाइनमा आफ्नो गोपनीयता जोगाउन चाहनुहुन्छ ? यस्ता छन् उपयोगी एप

काठमाडाैं । यदि तपाईंलाई सरकार तथा कुनै कम्पनीले आफ्नो हरेक क्रियाकलापको निगरानी गरिरहेको डर छ भने, तपाईं कुनै मानसिक रोगी होइन । तपाईंको मानसिक स्वास्थ सामान्य छ, त्यसमा चिन्ता लिनुपर्दैन । बरू यसकाे अर्थ हाे, अरूभन्दा तपाईं डेटा सुरक्षाकाे मामलामा बढी सतर्क हुनुहुन्छ ।

पछिल्लाे समय अनलाइनमा गोपनीयता धेरैको चिन्ता र चासोको विषय बनेको छ । पछिल्ला केही वर्ष सार्वजनिक भएका सामाचारका श्रृंखलाहरुबाट सरकारले नागरिकको फोनलाई ह्याक तथा ट्र्याक गरिरहेको बुझ्न सकिन्छ ।

डेटा एनालिटिक्स कम्पनी क्याम्ब्रिज एनालिटिकाले ८ करोड ७० लाख मानिसहरुको डेटा उनीहरुको अनुमति बिना लिइएको खुलासा गरेपछि फेसबुकजस्तो कम्पनीलाई पनि शंकाको घेराभित्र राखिएको थियो ।

यस्ता खुलासापछि फेसबुक, गुगलजस्ता व्यक्तिगत डेटा धेरै रहेका कम्पनीहरुले प्रयोगकर्तामाथि कत्तिको निगरानी राख्छन् भन्ने कुरामा मानिसहरु सचेत हुन थालेका छन् । केही मुलुकहरुले त यसको जोखिमलाई रोक्न कदमसमेत चालिसकेका छन् ।

अनलाइनको भर्चुअल दुनियाँमा कति यस्ता खतराहरु पनि छन्, जसलाई यस्ता नियम कानूनले पनि रोक्न सक्दैनन् । तर केही यस्ता उपकरण र उपाय छन्, जसले तपाईंको डेटा संकलन हुनबाट धेरै हदसम्म सुरक्षा दिन सक्छन् ।


मूल्यांकन गर्नः

पानोपटिक्लिक

इन्टरनेटकाे याे दुनियाँमा वेबसाइटहरु ट्र्याक गर्नेहरुबाट घेरिएका हुन्छन् । विशेषगरी विज्ञापनदाताबाट यस्तो काम हुने गरेको छ ।

यदि तपाईंको ब्राउजर सुरक्षित छैन भने तपाईं समस्यामा पर्न सक्नुहुन्छ । अब तपाई सुरक्षित हुनुहुन्छ वा हुनुहुन्न भनेर कसरी थाहा पाउने त ? इलेक्ट्रोनिक फ्रोन्टियर फाउण्डेसन (ईएफएफ) को एउटा उपकरण छ, जसको नाम पानोपटिक्लिक हो ।

यसले तपाईंको ब्राउजर वेभ ट्र्याकिङबाट कतिको सुरक्षित छ भन्ने कुरा जाँच्न सक्छ । यो उपकरण सन् २०१० मै सार्वजनिक भएको हो । ईएफएफले २०१५ मा यसमा फिचरहरु थप गरेर ‘ट्र्याकिङ ब्लकर्स’ले कत्तिको राम्रोसँग काम गर्छ भेनर हेरेको थियो ।

आफूलाई सुरक्षित राख्नः

ब्रेभ ब्राउजर

एउटा विकल्प भनेको तपाईंले आफ्नो ब्राउजरलाई परिवर्तन गर्न सक्नुहुन्छ । ब्रेभ ब्राउजर एउटा निःशुल्क विकल्प हो ।

टोर प्रोजेक्टको नेटवर्क आइडेन्टिटी हाइडिङ प्रविधिले प्राइभेट ट्याब अफर गर्छ । यसले सबै प्रकारका ट्र्याकिङबाट सुरक्षा दिन्छ ।

यसले इन्टरनेट सेवा प्रदायक (आईएसपी) बाट हुने ट्र्याकबाट समेत बचाउने क्षमता राख्छ । ब्रेभ प्रयोग गर्दा आईएसपीहरुले प्रयोगकर्ताको ट्राफिक देख्न सक्दैनन्, उनीहरुले इन्क्रिप्टेड ट्राफिक हेडिङ पाउँछन् ।

प्राइभेसी ब्याजर

यो क्रोम, फायरफक्स तथा ओपेरामा रहेको निःशुल्क एक्स्टेन्सन हो । ईएफएफले बनाएको यो ब्राउजिङ एक्सटेन्सनले ट्र्याक्र तथा गुप्तचरी गर्ने विज्ञापनलाई ब्लक गर्छ ।

यदि फेसबुकजस्ता पेजहरुमा पनि ट्रयाकरहरु रहेका छन् भने प्राइभेसी ब्याजरमार्फत प्रयोगकर्ताले आफू ट्र्याक हुनबाट जोगिएरै त्यस्ता साइटहरु भिजिट गर्न सक्छन् ।

यसमा ट्र्याकरहरुकाे गतिविधि हेरेर समेत उनीहरुलाई ब्लक गर्ने काम हुन्छ । यो अरुजस्तो कालो सूचीमा भर पर्दैन । यसले ट्रयाकिङको प्राविधिक कोड हेर्छ र लगातार त्यस्ता गतिविधिलाई नियन्त्रण गर्छ । यदि कुनै साइट हिजो सुरक्षित थियो भने पनि भोलि त्यसमा ट्र्याकरहरु आउन सक्छन् । त्यस्तो अवस्था समेत प्राइभेसी ब्याजरले पहिचान गर्न सक्छ ।

डक डक गो

यदि तपाईं गुगल प्रयोग गर्न असहज मान्नुहुन्छ भने तपाईंका लागि अन्य विकल्प पनि छन्, जुन तपाईंलाई थाहा नहुन सक्छ । डक डक गो एउटा यस्तो सर्च इन्जिन हो, जसको डिजाइन नै गोपनीयतालाई ध्यानमा राखेर बनाइएको छ ।

यो वेबसाइटले प्रयोगकर्ताको कुनै पनि सूचना संकलन गर्दैन । कुनै पनि गोप्य किसिमका सर्चहरुलाई यसले अनुमति दिन्छ ।

यो गोपनीयता केन्द्रीत सर्च इन्जिनको मोबाइल एप र ब्राउजर एक्सटेन्सन पनि रहेको छ । यसले पनि विज्ञापनहरुलाई ठाउँ दिन्छ । तर प्रयोगकर्ताहरुलाई ट्र्याक गरेर फाइदा उठाउन भने पाइँदैन ।

कुकिज अटोडिलिट

वेबसाइटहरुले तपाईंको डिभाइसलाई कुकिजका आधारमा पहिचान गरिरहेका हुन्छन् । यसकै कारण तपाईं कुनै पेज साइट भिजिट गर्ने बित्तिकै तपाईंको ‘लगईन इन्फर्मेसन’ स्वतः भरिन्छन् । यसरी कम्पनीहरुले को भिजिट गर्दैछ भनेर थाहा पाएर जुनसुकै समय तपाईलाई ट्र्याक गर्नसक्छन् ।

कुकिज अटोडिलिट गुगल क्रोम तथा मोजिल्ला फायरफक्सको एक्स्टेन्सन हो । तपाईंले आफ्नो ब्राउजरमा ट्याब बन्द गर्ने बितिक्कै यसले कुकिजलाई बन्द गरिदिन्छ भने तपाईंको सेटिङलाई पनि कस्टमाइज गरिदिन्छ । ता कि तपाईंले विश्वास गरेको वेबसाइटले कुकिज राख्न सकोस् ।

विश्वास नलागेको वेबसाइटमा तपाईंले केही निश्चित डोमेनमा कुकिज हटाउन सक्नुहुन्छ । प्राइभेसी ब्याजरले तेस्रो पक्षबाट हुने ट्र्याकिङलाई रोकथाम गर्छ भने कुकिज अटोडिलिट जस्तो टुलले वेबसाइटबाट हुने सिधा ट्र्याकिङलाई रोक्छ ।

सुरक्षितरुपमा म्यासेज गर्नः

सिग्नल

इन्टरनेटमा धेरै इन्क्रिप्टेड म्यासेजिङ टुलहरु रहेका छन् । फेसबुकको स्वामित्व रहेको ह्वाट्सएप र टेलिग्रामसमेत असुरक्षित रहेको कुरा अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । तर सिग्नललाई धेरैले सुरक्षित मान्छन् र यो प्रयोगका लागि सिफारिस पनि गर्छन् ।

यसमा कसैले पनि तपाईंको टेक्स्ट म्यासेजहरुमा निगरानी राख्न सक्दैन । सिग्नलमा डेटा पनि स्टोर हुँदैन । तपाईंले आफ्नो म्यासेज निश्चित समयपछि हराएर जाओस् भनेर सेटअप पनि मिलाउन सक्नुहुन्छ ।

यो एपको कोड ओपन सोर्स हुन् । यसको अर्थ जोकोहीले यसले कसरी काम गर्छ भनेर हेर्न सक्छन् । र यसको कमजोरी र खतरालाई औंल्याएर सुझाव दिन सक्छन् । त्यसैले पनि यसले तपाईंमाथि गोप्यरुपमा निगरानी नगर्ने कुरामा विश्वस्त हुने आधार दिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१