close

विश्व वरियतामा नेपाली पब्जी मोबाइल टिम डीआरएस १० औं स्थानमा

टेकपाना टेकपाना

बैशाख २६, २०७८ ११:५४

विश्व वरियतामा नेपाली पब्जी मोबाइल टिम डीआरएस १० औं स्थानमा

काठमाडौं । पब्जी मोबाइल टिमको विश्व वरियतामा नेपाली टिम डीआरएस गेमिङ (द रियल सोल्जर्स) १० औं स्थानमा पर्न सफल भएको छ । हालै ईस्पोर्टस् जेनले सार्वजनिक गरेको नयाँ सूचीमा डीआरएसले नेपालबाटै पहिलो पटक शीर्ष १० मा आफूलाई उभ्याएको हो ।

शीर्ष ८० टिमकाे याे सूचीअनुसार डीआरएस गेमिङ दक्षिण एसियाली क्षेत्रकै उत्कृष्ट पब्जी मोबाइल टिम बनेको छ । यो टिमले कुल ५०४ अंक पाएको छ ।

त्यस्तै याे सूचीमा नेपाली पब्जी मोबाइल टिम कार्नेज ३१ औं स्थानमा, डेडआईज गाइ ५२ औं स्थानमा र स्काईलाइट्ज गेमिङ ६६ औं स्थानमा छन् ।

डीआरएस गेमिङ कानूनी रुपमा दर्ता हुने नेपालकै पहिलो पब्जी टिम हाे । आधिकारिक रुपमा दर्ता भएर पब्जी तथा ईगेमिङलाई व्यावसाियक रुपमा अगाडि बढाउन तम्सेको याे टिम सन् २०२० मा अशेष राई र रिजन खत्रीले स्थापना गरेका थिए ।

नयाँ लगानी र सञ्चालक टिम पाएकाे डीआरएस टिममा हाल पाँच जना खेलाडी युगेन लामा (निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन) र अञ्जन राई (एआरबोरो) रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१