close

ह्याकरलाई डिप्रेसन, छुटकारा पाउने कसरी ?

टेकपाना टेकपाना

बैशाख २६, २०७८ १४:१२

ह्याकरलाई डिप्रेसन, छुटकारा पाउने कसरी ?

प्रशान्त पाण्डे/-
एउटा सेक्युरिटीलाई ब्रेक गरेको भरमा ह्याकरले कति धेरै डलर कमाइरहेका हुन्छन्, ,जुन साँच्चै नै गज्जबको कुरा हो । कीबोर्डका केही कीहरु थिचेर नै ह्याकरले कसरी यति धेरै पैसा कमाउँछन् यो पनि गज्जबकै कुरा हो ।

‘कालो हुड्डी र मास्क लगाएको अँध्यारो आकृति नै ह्याकरको आइकोनिक स्टाइल हो । ह्याकरहरु अन्तर्मुखी र असामाजिक प्राणी जस्तै हुन्छन्, जो एकान्तमा बस्न रुचाउँछन् । काली लिनक्स इन्स्टल गरेका जोकोहीले ह्याक गर्न सक्छन् । ह्याकिङ भनेको पैसा कमाउने सजिलो तरिका हो ।’ सामान्यत औषत व्यक्तिहरुले ह्याकरलाई चित्रण गर्ने यसैगरी नै हो ।

तर गहिरिएर हेर्दा ह्याकरको दुनियाँ योभन्दा फरक छ । सबै ह्याकरहरु अन्तर्मुखी हुँदैनन् । उनीहरु पनि यही समाजको हिस्सा हुन्, जो परिवार तथा साथीहरुसँग समय बिताउन मन पराउँछन् । आशा छ निकट भविष्यमा मानिसहरुले ह्याकरहरुलाई पनि सामान्य व्यक्तिलाई जसरी नै हेर्नेछ ।

ह्याकिङ जगतमा सबैभन्दा धेरै बेवास्ता गरिएको, तर उल्लेखनीय प्रभाव रहेको मानसिक स्वास्थको विषयमा आज म कुरा गर्न चाहन्छु ।

साइबर सेक्युरिटी र मानसिक स्वास्थबीच के सम्बन्ध छ भनेर तपाईं सोच्नुहुन्छ होला । तर आजको समयमा साइबर सुरक्षामा लागेका मानिसहरुबीच डिप्रेसन, बर्नाउट तथा आत्महत्या जस्ता घटनाहरु आम कुरा बनिसकेका छन् ।

साइबर सुरक्षामा लागेका मानिसहरु मानसिक स्वास्थ्यका विषयमा बोल्दैनन् । किनभने यो एउटा संवेदनशील विषय हो र यसको बारेमा खुल्लारुपमा कुरा गर्न जोकोहीलाई सहज महसुस हुँदैन ।

हाम्रो समुदायका धेरै मानिसहरु आज डिप्रेसन, एन्जाइटी, बर्नाउट, इम्पोस्टर सिन्ड्रोम आदि जस्ता मानसिक समस्याबाट ग्रसित छन् । यद्यपि हामी यसलाई कति हलुकारुपमा लिइरहेका छौं । मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेकाहरु यसलाई आफूभित्र नै सीमित गरेर राख्छन् । जसले गर्दा स्वास्थ्य थप भयावह बनिरहेको हुन्छ ।

साइबर सेक्युरिटी समुदायमा लागेका मानिसहरुले झेलिरहेका केही समस्याहरु डिप्रेसन र इमपोस्टर सिन्ड्रोमकै बारेमा कुरा गरौं । 

डिप्रेसन 

डिप्रेसन एउटा विशेष किसिमको मानसिक अवस्थिति हो, जसले तपाईंले सोच्ने, अनुभूति र क्रिया गर्ने तरिकाहरुमा नकरात्मक असर पारिदिन्छ । अवसादको अनुभूति गराउनुका साथै कुनै समय तपाईंले रमाइलो मान्ने क्रियाकलापप्रति नै अनिच्छाको भाव जगाइदिन्छ ।

यसले धेरै किसिमका शारीरिक तथा मानसिक समस्याहरु उब्जाउँछ जसले तपाईंको काम गर्ने र जीवन जिउने क्षमतामाथि नै हस्तक्षेप गरिदिन्छ । 

ह्याकिङ कम्युनिटीमा डिप्रेसन 

साइबर सुरक्षाको क्षेत्र एकदमै प्रतिस्पर्धात्मक छ । धेरैभन्दा धेरै नयाँ किसिमका सुरक्षा कमजोरीहरु दैनिक प्रकाशित भइरहेका हन्छन् । अनुसन्धानकर्मीहरुले दैनिक धेरै रिसर्च पेपरहरु पनि प्रकाशित गरिरहेका हुन्छन् ।

ह्याकरको रुफमा तपाईंले ती सबै भल्नरेबिलिटी तथा सामग्रीहरु पढ्नुपर्छ, ताकि यो प्रतिस्पर्धात्मक क्षेत्रमा तपाईंले आफूलाई सधै अपडेटेड राख्न सक्नुहोस् । प्रतिस्पर्धा पनि आफैंमा एउटा तनावको स्रोत हो ।

साइबर सुरक्षामा लागेका मानिसहरुमा डिप्रेसन उत्पन्न हुने अन्य धेरै कारणहरु छन् । जसमा निद्राको कमी, पुरानो मानसिक बिमार, अत्याधिक स्क्रिन टाइमिङ, लागुऔषध, तनाव, अस्वस्थकर सम्बन्ध, अरुसँगको तुलना, फायरवाल आदि ।

ह्याकरहरुका लागि आफ्नो डिजिटल विश्वलाई स्वस्थकर राख्न एकदमै आवश्यक हुन्छ । तर सँगै उनीहरुले आफ्नो स्वास्थ्यलाई समेत प्राथमिकतामा राख्नुपर्छ ।

एउटा रमाइलो ठट्टा हुन्छ, हाम्रो समुदायलाई लिएर कि हामी ह्याकर धेरै सुत्छौं हाम्रो सुत्ने तालिका पुरै भत्ताभुङ्ग हुन्छ । र म आफैं पनि साइबर सुरक्षा क्षेत्रको एउटा सिकारु भएको नाताले यो भन्न सक्छु कि हामी बिरलै मात्र पर्याप्त निदाउन सक्छौं ।

हामी दिन र रातभर स्क्रिन हेरिरहेका हुन्छौं, जुन हाम्रो तनावको सबैभन्दा ठूलो स्रोत हो । वास्तवमा भन्नु पर्दा मेरो जस्तो वातावरणमा हुने अधिकांश ह्याकरहरुले लागू औषध प्रयोग गर्छन् ।

किनभने उनीहरु यो तनावसँग जुध्न चाहन्छन् । प्रारम्भमा यो उनीहरुको लागि सजिलो उपाय हुन्छ तर, कालान्तरमा यसले मासिक तथा शारीरिक स्वास्थमा एकदमै नकरात्मक असर पार्दछ ।

साइबर सुरक्षामा सैनिकहरु आफ्नो क्लाइन्ट कम्पनीलाई हरदम सुरक्षित महसुस गराउने ध्यानमा हुन्छन् । तर कहिलेकाहिँ सुरक्षा प्रत्याभूति प्रदान गर्न असफल पनि भइदिन्छन् । जब क्लाइन्टहरु कुनै किसिमको साइबर हमलामा पर्छन्, तब दिनरात त्यही हमलालाई विश्लेषण गर्नमा बित्छ ।

डेटा कसरी ब्रिच भयो, कसरी अब यो कमजोरीलाई फिक्स गर्ने, यस्तै यस्तै । जसले अवश्य पनि तनाव बढाउनमा देन दिइरहेको हुन् । 

इम्पोस्टर सिन्ड्रोम 

साइबर सुरक्षा र प्रोग्रामिङ जगतमा सम्भवत: तपाईंले इम्पोस्टर सिन्ड्रोम पहिले सुन्नु वा अनुभव गरी सक्नुभएको होला । तर जसले यो सुनेका वा अनुभव गरेका छैनन्, उनीहरुले यसको बारेमा थाहा पाउन अत्यावश्यक छ ।

जब कसैले आफ्नै क्षमता, सीप वा उपलब्धिमा धेरै नै सन्देश गर्न थाल्छ । आफूलाई नै फेक सोचेर इन्डस्ट्रीमा आफ्नो कुनै ठाउँ नभएको सोच्न थाल्छ । तब इम्पोस्टर सिन्ड्रोमको चपेटमा उ पर्दछ ।

साइबरसुरक्षाको क्षेत्रमा मात्र होइन, अन्य धेरै क्षेत्रमा यो समस्या विकराल छ । सुरुमा तपाईं केही कुरा पनि जान्नु हुँदैन, यो सोचाई आउनु स्वभाविक हो । तर सुरुवातमै कतिपय ह्याकरहरु आफूलाई व्यवसायिक तथा प्रो ह्याकरहरुसँग तुलना गर्न थाल्छन् र प्रोले त्यहाँ पुग्न गरेको संघर्ष र कडा मेहेनत गर्न भुल्छन् ।

इम्पोस्टर सिन्ड्रोमका केही मुख्य कारकहरु छन् । 

१. अवास्तविक अपेक्षा

२. स्पष्ट करियरको बाटो नभएको अवस्था 

३. लगातार विकास भइरहने क्षेत्र

४. के सिक्ने भन्ने थाहा नभएको अवस्था 

एउटा सुरुवातकर्ताले साइबर सुरक्षाको क्षेत्रलाई एक्सप्लोर गर्नुको पछाडि दुई कारण मुख्य हुन्छन् । या त उसलाई कम्प्युटरसँग काम गर्न खेल्न ठूलो लगाव हुन्छ या त उसले कसैले दैनिक डलरमा डलर कमाइरहेको देख्छ वा सुन्छ ।

एउटा सिकारू वा भर्खरै याे क्षेत्रमा लागेकाे व्यक्तिसँग सधै नै अवास्तविक अपेक्षा, डलर, नाम, दाम र कूल सेटअपको सपना हुन्छ । जुन वास्तवमा सोचेजस्तो हुँदैन । यसैले सबैभन्दा पहिले त पैसाको पछाडि कुद्नुभन्दा पनि सीप विकास गर्नमा केन्द्रित हुनुहोस् ।

वास्तविकता के हो भने ह्याकर बन्न कुनै पनि सिधा वा स्पष्ट बाटो छैन । जुनसुकै ह्याकरलाई सोध्नुहोस्, सम्भवत: उसको उत्तर यही हुनेछ कि ‘तपाईं के सिक्न चाहनुहुन्छ ? – वेब ह्याकिङ ? एन्ड्रोइड ह्याकिङ ? आईओटी ह्याकिङ ?’

ह्याकिङभित्रै कति धेरै बाटा र क्षेत्र छन् । यी बाटा र क्षेत्रहरुको बाटोमा सिक्नुको सट्टा सुरुवातकर्ताहरु टरमुक्स जस्ता गलत कुराहरु सिकेर आफ्नो समय बर्बाद गरिरहेका हुन्छन् (मलाई गलत नलिइदिनु होला । म तीनका बारेमा कुरा गर्दैछु जसले रेन्डम ट’लहरु इन्स्टल गरी आफ्नो क्रसलाई फिस गर्न प्रयास गर्छन्) । पछि उनीहरु पछुतो मान्छन् र आफूलाई अन्यसँग तुलना गर्न थाल्छन् । 

योबाट कसरी छुटकारा पाउने ?

मेरो जिज्ञासाले ह्याकरहरुले कसरी तनाव, डिप्रेसन तथा इम्पोस्टर सिन्ड्रोमलाई ह्याण्डल गर्नछन् भन्ने कुरा थाहा पाउन मद्दत गर्‍यो । मैले पाएका केही प्रतिक्रियाहरु यस्ता छन् । 

बिनित घिमिरे

डिप्रेसनसँग डिल गर्न म लामो समय केही नगरी स्वतन्त्र अनुभूति गरी यतिकै खाली बस्छु । तब यस्तो किसिमको एकदुई महिनाको ग्यापमा म यत्तिकै डिप्रेस भएर बसिरहनुको सट्टा केही सकरात्मक तथा सृजनात्मक कुरामा आफूलाई लगाउँछु । 

निर्मल दाहाल 

म अरु जसरी डिप्रेस त अनुभव गर्दिनँ । तर कहिलेकाहिँ मैले पनि कामको तनाव र दबाब भने लिनुपर्छ । जब म यसरी तनावग्रस्त हुन्छु, तब म मोटिभेसनल र्‍याप म्युजिकहरु सुन्छु । 

सिड जोशी 

डिप्रेसन र कामको तनाव भनेको जोकसैले आफ्नो जीवनमा भोग्ने गर्छन् । चाहे त्यो सामाजिक, आर्थिक वा अन्य जेसुकै हुन सक्छ । तर यी सबैको बावजुद तपाईंले काम गर्न भने छोड्नुहुन्न । समयको सबैभन्दा असल कुरा भनेको यो परिवर्तनशील छ ।

यसैले आफ्नो पालो कुर्न सिक्नुपर्छ । म त्यति धेरै लामो समयसम्म सुत्दिनँ । १५ मिनेटको छोटो न्याप लिन्छु । यदि दिन कटाउन साह्रै गाह्रो भए छोटो वाकको लागि बाहिर निस्कन्छु । 

एनाेनिमस

म दुई वर्षसम्म डिप्रेसन र एन्जाइटीको शिकार भएँ । जब म तनाव अनुभव गर्थे तब एक्लै बाइक राइडमा निस्कन्थे । केही घण्टापछि घर फर्केर काम सुरु गर्थे । 

नोन अफ यू 

बग हन्ट गरिरहँदा जब म तनाव र डिप्रेस्ड महसुस गर्थें, तब म रिल्याक्स हुन प्रयास गर्थें । रमाइलो मान्न आफैंलाई समय दिन्थें । नेटफ्लिक्स हेर्थें र साथीभाइसँग ह्याङ आउट गर्नुका साथै न्याप पनि लिन्थें । 

डिप्रेसन, एन्जाइटी, इम्पोस्टर सिन्ड्रोम तथा अन्य मानसिक तनावबाट बाहिर निस्कन यति सजिलो कुरा त होइन । तर मेरो पहिलो र अन्तिम सुझाव भनेको चिकित्सकसँग परामर्श लिनु नै हो । जस्तोसुकै मानसिक तनाव वा समस्याबाट बाहिर आउने उत्तम उपाय भनेको चिकित्सकसँग परामर्श लिनु नै हो । 

यसबाहेक निम्न कुराहरु पनि एकदमै सहयोगी हुन्छन् । 

१. पर्याप्त निद्रा लिनुहोस् ।

२. मेन्टरको खोजी गर्नुहोस् । 

३. थेरापिस्टसँग कुरा गर्नुहोस् । 

४. भविष्यको बारेमा योजना बनाउनुहोस् र यसका लागि काम गर्नुहोस् । 

५. आफूलाई अन्यसँग तुलना नगर्नुहोस् ।

६. व्यायाम ।

७. स्क्रिन टाइम घटाउनुहोस् । 

८. सबै कुरा एकजना व्यक्तिले सिक्न सकिन्न भन्ने कुरालाई स्वीकार गर्नुहोस् ।

९. अनुभवी ह्याकरहरुसँग सहकार्य गर्नुहोस् ।

१०. रुटिन तालिका अनुसार काम गर्नुहोस् ।

११. लागू औषधबाट टाढा रहनुहोस् ।

१२. ध्यान तथा योग गर्नुहोस् । 

निश्कर्ष 

डिप्रेसन र इम्पोस्टर सिन्ड्रोम आफैं हट्दैनन् । तपाईंले योसँग कसरी डिल गर्नुहुन्छ, त्यो कुराले तपाईंको जीवनमा फरक ल्याउने हो । 

मानिसक स्वास्थ्यकाे विषय निकै वृहत कुरा हो, जुन एउटा लेखभित्र मात्र छलफल गर्न सकिन्न । मैले यो विषयको उठान मात्र गरेको हो किनभने सबैले यो विषयलाई बेवास्ता गरिरहेका थिए । 

‘तपाईंलाई चाहिएसम्म हिलिङका लागि समय लिनुहोस् । तपाईं कस्तो अवस्थाबाट गुज्रिरहनु भएको छ कसैलाई थाहा हुँदैन, तपाईंलाई हिल हुन कति समय लाग्छ भनेर अरुलाई कसरी थाहा हुन्छ र ?’

ताकि डिप्रेसन, एन्जाइटी, बर्नाउट तथा स्ट्रेसले विस्तारै तपाईंको मस्तिष्कलाई ह्याक गरेर स्थायी एक्सेस बनाउन नसकोस् । ह्याप्पी ह्याकिङ ! ह्याक द डिप्रेसन !

(ह्याकर प्रशान्त पाण्डेको अंग्रेजी लेखको अनुवाद)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१