close

हाम्रो पात्रोमै यसरी राख्नुहोस् आफ्नो टिपोट

टेकपाना टेकपाना

बैशाख २६, २०७८ १८:३८

हाम्रो पात्रोमै यसरी राख्नुहोस् आफ्नो टिपोट

काठमाडौं । नेपालको लोकप्रिय एप हाम्रो पात्रोमा पछिल्लो समय नोट राख्न सकिने फिचरसमेत उपलब्ध छ । दुई वर्ष अघि वेब भर्सनका साथै एन्ड्रोइडमा यो फिचर ल्याइएको थियो ।

यो फिचरको सहयोगमा हाम्रो पात्रो प्रयोगकर्ताले निश्चित मितिको आधारमा आफ्नो नोट अर्थात टिपोट तयार पार्न सक्छन् । नोट अनुसार सुहाउँदो रङ्ग छनौट गर्ने सुविधा समेत यसमा रहेको छ । 

तर हाम्रो पात्रोको नोट फिचर प्रयोग गर्न लगईन भने  गर्नुपर्ने हुन्छ । तपाईंले हाम्रो पात्रोमा राखेको पछिल्लो नोट होम पेजमै देख्न सकिने बनाइएको छ ।

साथै यसमा राखिएका सबै नोटहरु पात्रो भित्र एकै स्थानमा हेर्न समेत सकिन्छ । एउटा डिभाइसमा तयार पारिएको नोट अर्को डिभाइसमा लगईन गर्दा समेत सुरक्षित रहन्छ । 

टिपोट कसरी राख्ने ?

मेरो नोट फिचर प्रयोग गर्न सुरुमा हाम्रो पात्रोमा लगईन भएको छ कि छैन, हेर्नुहोस् । यदि लगईन भएको छैन भने माथि हाम्रो पात्रो अघि रहेको प्रोफाइल आइकनमा वा बायाँतर्फ सिरानीमा रहेको मेनु बटमा थिचेर अन्तिममा रहेको लगईनमा जानुहोस् ।

 अब नयाँ पेजमा देखिएको लगईनमा थिच्नुहोस् । त्यहाँ तपाईंले गुगल, फेसबुक वा ट्वीटरमध्ये कुनै एउटा विकल्प छनौट गर्नुपर्ने हुन्छ । 

यतिगरिसकेपछि त्यहाँ तपाईंले ‘हाम्रो पात्रोको नियम, शर्त, गोपनीयता नीति तथा कम्युनिटी निर्देशिकामा सहमति जनाएर कन्टिन्यु बटनमा थिच्नुहोस् । यति गरेसँगै हाम्रो पात्रोमा तपाईंको लगईन पुरा हुन्छ । 

अब हाम्रो पात्रोमा रहेको मेरो नोट फिचर प्रयोग गर्न होम पेजमा रहेका ‘हाम्रो सेवाहरु’ अन्तर्गत अन्तिममा रहेको नोट तथा टिपोट अप्सनमा जानुहोस् । यस बाहेक एपको बायाँ कुनामा रहेको मेनु बटनभित्रबाट नोट तथा टिपोटमा जान पनि सक्नुहुन्छ ।

अब टिपोट राख्न तल बायाँतर्फ रहेको प्लस (‌+) बटनमा थिच्नुहोस् ।त्यहाँ मिति छनौट गर्नुहोस् र छान्नुहोस् अप्सनमा थिच्नुहोस् । 

अब त्यहाँ तपाईंले आफ्नो टिपोट तयार पार्न सक्नुहुन्छ । यदि नोटको कलर परिवर्तन गर्न चाहनुहुन्छ भने माथि दायाँ कुनामा टिक बटनसँगै रहेको कलर अप्सनमा जानुहोस् ।

त्यहाँबाट तपाईंले विभिन्न १९ वटा कलरमध्ये आफूलाई मन पर्ने कलर रोज्न सक्नुहुन्छ । अब माथि दायाँ कुनामा रहेको टिक बटनमा थिच्नुहोस् । यति गरेसँगै तपाईंको नोट हाम्रो पात्रोमा सेभ भएर बस्छ । नोटभित्रबाट तपाईंले हटाउन चाहेको नोट डिलिट गर्ने अप्सन समेत पाउनुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१