close

‘सेल्फी विथ डटर’ अभियान सुरु, उत्कृष्ट सेल्फीलाई २१ हजार पुरस्कार

टेकपाना टेकपाना

बैशाख २७, २०७८ १२:५४

‘सेल्फी विथ डटर’ अभियान सुरु, उत्कृष्ट सेल्फीलाई २१ हजार पुरस्कार

काठमाडौं । नेपालमा पनि ‘सेल्फी विथ डटर’ अभियान सुरु भएको छ । आइतबार एक भर्चुअल कार्यक्रममार्फत नेपालमा ‘सेल्फी विथ डटर अभियान’ सुरु गरिएको हो ।

लैंगिक समानताका लागि सुनिल जगंलानले सुरु गरेको अभियानले भारतमा धेरै ख्याति प्राप्त गरेको छ । साथै त्यहाँको सरकारको तर्फबाट पनि पर्याप्त मात्रामा सहयोग र हौसला पाएको छ ।

महिला सशक्तिकरण तथा लैंगिक समानताको मूल मर्म बोकेको यो अभियान सेल्फी विथ डटर फाउण्डेसन, भारत र नेपाल इन्टरनेट फाउण्डेसनले भर्चुअल कार्यक्रम आयोजना गरि संयुक्त रुपमा नेपालमा यो अभियान सुरु गरेका हुन् ।

नेपाल इन्टरनेट फाउण्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले नेपालमा अझै पनि छाउपडी प्रथा जस्ता कुरीति रहेको भन्दै यो नयाँ अभियानले छोरीहरुको महत्व र अधिकार सुनिश्चित गर्ने विश्वास व्यक्त गरे ।

यो अभियान अन्तर्गत सुरु भएको प्रतियोगितामा आफ्ना छोरीसँग सेल्फी खिचेर सहभागिता जनाउन सकिनेछ । यसमा सहभागी भएका सेल्फीहरुलाई प्रथम, दोस्रो र तेस्रो श्रेणीमा विभाजन गरी पुरस्कृत समेत गरिनेछ ।

प्रतियोगितामा प्रथम हुनेले सिल्ड, सेल्फी विथ डटरको सर्टिफिकेट सहित २१ हजार रुपैयाँ नगद पाउनेछन् । त्यस्तै दोस्रो स्थान हासिल गर्नेले सिल्ड, सेल्फी विथ डटरको सर्टिफिकेटसहित ११ हजार रुपैयाँ नगद र तेस्रो हुनेले सेल्फी विथ डटरको सर्टिफिकेट सहित पाँच हजार एक सय रुपैयाँ नगद पाउनेछन् ।

यो अभियानमा सहभागी हुन आआफ्नो छोरीसँग हाँस्दै गरेको सेल्फी खिचेर सामाजिक सञ्जालमा ह्यासट्याग ‘सेल्फी विथ डटर’ (#selfiewithdaughter) उल्लेख गरेर पोस्ट गर्नुपर्नेछ । त्यस्तै सेल्फी विथ डटर डट आईएन पोर्टल तथा ह्वाटसएपमा ९८०१००००४४ मा समेत सेल्फी पठाउन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१