close

टिकटकलाई चुनौती दिन युट्युव शर्ट्सको आक्रामक कदम, अब क्रिएटरले भिडिओबाटै पैसा कमाउन सक्ने

टेकपाना टेकपाना

बैशाख २८, २०७८ २२:३२

टिकटकलाई चुनौती दिन युट्युव शर्ट्सको आक्रामक कदम, अब क्रिएटरले भिडिओबाटै पैसा कमाउन सक्ने

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो भिडिओ प्लेटफर्म युट्युवले ‘युट्युव शर्टस फण्ड’ घोषणा गरेको छ । यसअन्तर्गत कम्पनीले ल्याएकाे शर्ट भिडिओ शेयरिङ प्लेटफर्म शर्ट्स प्रयोग गर्ने क्रिएटरहरूले कूल १० कराेड डलर पाउनेछन् ।

धेरै इंगेजमेन्ट र भ्युज पाएका युट्युव शर्टसका क्रिएटरले याे फण्डबाट आम्दानी गर्न सक्ने बताइएकाे छ । टिकटकको प्रतिस्पर्धीको रुपमा कम्पनीले विकास गरेको युट्युव शर्ट्सलाई लोकप्रिय बनाउन यस्तो योजना ल्याइएको हो ।

कम्पनीले २०२१ को सेप्टेम्बरबाट यो कार्यक्रमको सुरुवात गर्ने र २०२२ सम्म यसलाई निरन्तरता दिने जनाएकाे छ ।

वास्तवमा क्रिएटरले कति कमाउँछन् भन्ने कुरा उनीहरूकै गतिविधिमा भर पर्नेछ । युट्युवका अनुसार मासिक आधारमा क्रिएटरहरुले आम्दानी गर्न सक्छन्, जसमा उनीहरूका पाेस्ट वा कन्टेन्टमा भएको इंगेजमेन्ट र भ्युजका आधारमा रकम तय हुन्छ ।

यसकाे अर्थ हजारौं क्रिएटरले युट्युव शर्ट्सबाट आम्दानी गर्न सक्नेछन् । यसका लागि कम्पनीले कन्टेन्ट ओरिजिनल हुनुका साथै युट्युवको कम्युनिटी गाइडलाइन अनुसार हुनुपर्ने जनाएको छ ।

कम्पनीले युट्युव शर्ट्सका लागि अहिले मनिटाइजेशनको परीक्षण पनि गरिरहेको छ । हाल भारत र अमेरिकामा मात्र सार्वजनिक भएकाे याे प्लेटफर्म अन्य देशमा पनि चाँडै विस्तार गर्ने तयारी कम्पनीकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४