close

नेपालमै युवाहरुले बनाए अक्सिजन कन्सन्ट्रेटर, कसरी गर्छ काम ?

टेकपाना टेकपाना

बैशाख २९, २०७८ ११:२९

नेपालमै युवाहरुले बनाए अक्सिजन कन्सन्ट्रेटर, कसरी गर्छ काम ?

काठमाडौं । नेपाल युथ मुभमेन्ट र केयू डिजाइन ल्याबका अनुसन्धानकर्मीहरुको प्रयासमा अक्सिजन कन्सन्ट्रेटर निर्माण भएको छ । कोभिड- १९ को दोस्रो भेरियन्ट फैलिएसँगै अक्सिजनको अभाव भइरहेको अवस्थामा केही युवाहरुले अक्सिजन कन्सन्ट्रेटरको विकास गरेका हुन् ।

यो प्रणालीले वातावरणमा रहेको हावाबाट नाइट्रोजन ग्यासलाई ट्रयाक गरी अक्सिजन संकलन गर्छ । यसअन्तर्गत नाइट्राेजन ग्यास अवशोषणपछि बाँकी रहेको ९५ प्रतिशत अक्सिजनलाई संकलन गर्न सकिने प्रडक्ट डेभलपमेन्ट टिमका सदस्य अभिषेक काफ्लेले बताए ।

यो प्रणालीमा कम्प्रेसरमार्फत् नाइट्रोजन ग्यासलाई फिल्टर गरी ट्याकंभित्र अक्सिजन भण्डारण गरिन्छ । उनका अनुसार यसले अन्य कमर्सियल प्रडक्टजस्तै ५ लिटर प्रतिमिनेटसम्म अक्सिजन सप्लाई गर्छ ।

‘अहिलको अवस्थामा अक्सिजन नपाएरै धेरै मानिसको मृत्यु भइरहेको अवस्थामा यो सिस्टमबाट बिरामीलाई सिधै अक्सिजन सप्लाई गर्न सकिन्छ,’ उनले टेकपानासँग भने ।

अक्सिजन जेनेरेटरको रूपमा यसले काम गर्ने भएपनि ठूलो अक्सिजन प्लान्टकाे रूपमा काम गर्न नसक्ने उनले बताए । ‘अहिले अस्पतालहरुमा १५ लिटर प्रतिमिनेटसम्मको अक्सिजन चाहिएकाे छ । तर यसले माइल्ड (साधारण) तहका बिरामीका लागि अक्सिजन दिन सक्छ,’ उनले भने ।

अहिलेकाे काेभिड महामारीकाे अवस्थामा तत्काल प्रयोग गर्न सकिने गरी याे प्रडक्टकाे विकास गरिएकाे उनले बताए । ‘यो प्रडक्ट विस्तार गर्न सके धेरैले मृत्युको जोखिमबाट नयाँ जीवन पाउने थिए,’ उनले भने ।

बुधबार राष्ट्रिय आविष्कार केन्द्रमा थप परीक्षण गरी यसको व्यवसायिक उत्पादन गर्ने योजनामा आफूहरु रहेको उनले सुनाए ।

उनीसहित रमन शिलवाल, सुष्मा पोखरेल, विकास सिटौला, प्रज्ञान बस्नेत, अञ्जली जोशी, अधिराज आचार्य, आशिष खड्का र आशिष शाहले यो अक्सिजन कन्सन्ट्रेटरको विकास गरेका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४