close

डिजिटल भुक्तानीमा नयाँ रेकर्ड, चैतमा मात्रै कनेक्ट आईपीएसबाट करिब डेढ खर्बको कारोबार

टेकपाना टेकपाना

बैशाख २९, २०७८ १९:१४

डिजिटल भुक्तानीमा नयाँ रेकर्ड, चैतमा मात्रै कनेक्ट आईपीएसबाट करिब डेढ खर्बको कारोबार

काठमाडौं । कनेक्ट आईपीएसबाट हुने कारोबारले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले भर्खरै प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा डिजिटल भुक्तानीमा नयाँ रेकर्ड रहेको देखिएको हो ।

प्रतिवेदनअनुसार गएको चैतमा कनेक्ट आईपीएसबाट मात्रै एक खर्ब ४१ अर्ब ८० करोड २० लाख रुपैयाँको कारोबार भएको छ । जसका लागि २० लाख ३८ हजार ४६५ पटक कारोबार भएको छ ।

कोरोना भाइरसको महामारीले पछिल्लो समय डिजिटल भुक्तानी उल्लेख्य रुपमा बढेको छ । गत चैतमा मोबाइल बैंकिङबाट मात्रै ४८ अर्ब ६५ करोड २० लाख रुपैयाँको कारोबार भएको हो ।

जुन अहिलेसम्मकै उच्च हो । यसका लागि एक करोड १० लाख ४७ हजार ४७४ वटा कारोबार भएका छन् ।

गत वर्षको वैशाखमा ३ लाख ७३ हजार ८१८ पटकमा मोबाइल बैंकिङको कारोबार ८ अर्ब ६४ करोड १० लाख रुपैयाँ मात्र रहेको थियो । यस्तै वालेटबाट हुने भुक्तानीले समेत नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल राष्ट्रबैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत चैतमा मात्रै वालेटबाट ११ अर्ब दुई करोड १० लाख रुपैयाँको कारोबार भएको छ । यसका लागि प्रयोगकर्ताले एक करोड १४ लाख ६५ हजार २५७ पटक वालेट प्रयोग गरेका छन् ।

जब कि यस अघि सबैभन्दा बढी १० अर्ब २२ करोड २० लाख रुपैयाँको कारोबार गत असार महिनामा भएको थियो । जुन जुन एक करोड एक लाख ७९ हजार ५५७ पटकको कारोबार रकम हो ।

तर यस अवधिमा इन्टरनेट बैंकिङबाट हुने कारोबार रकम भने खासै बढ्न सकेको छैन । गत असारमा इन्टरनेट बैंकिङमार्फत १९ अर्ब चार करोड ८० लाख रुपैयाँको कारोबार भएकोमा गत चैतमा भने १० अर्ब २१ करोड ५० लाख रुपैयाको मात्र कारोबार भएको छ ।

त्यस्तै ईकमर्समा समेत कार्डबाट हुने भुक्तानी गत साउनमा एक अर्ब २० करोड १० लाख रहेकोमा चैतमा खुम्चिएर एक अर्ब पाँच करोड ८० लाखमा सीमित भएको छ । ९ महिनामा ४६२ प्रतिशतले बढ्यो क्यूआर कोडबाट हुने भुक्तानी यस्तै क्यूआर कोडमार्फत हुने भुक्तानीमा समेत उल्लेख्य बृद्धि देखिएको छ ।

गत साउनदेखि यसको तथ्याङ्क राख्न थालेको राष्ट्र बैंकको आँकडामा चैतसम्म आइपुग्दा ४६२ प्रतिशतभन्दा बढीको बृद्धि देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा एक लाख ९५ हजार ०१६ पटक क्यूआर कोड प्रयोगबाट ५८ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो ।

तर चैतमा भने उक्त कारोबार बढेर ७ लाख ८२ हजार ४७१ वटा कारोबार तथा दुई अर्ब ७२ करोड २० लाख रुपैयाँ पुगेको हो । फागुनमा भने क्यूआरबाट दुई अर्ब पाँच करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो ।

एटीएमको प्रयोग पनि यस अवधिमा बढेको छ । चैतमा मात्र एटीएमबाट ७० अर्ब ६० करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

जसका लागि ८३ लाख ५६ हजार ६१ पटक एटीएम प्रयोग गरिएको छ । यस अघि एटीएमबाट हुने कारोबार गत असारमा सबैभन्दा बढी थियो । उक्त समयमा ५४ अर्ब ७६ करोड ३० लाख रुपैयाँको कारोबार भएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४