close

९ महिनामा झण्डै ५ गुणाले बढ्यो क्यूआर कोडको भुक्तानी

टेकपाना टेकपाना

बैशाख २९, २०७८ १८:३१

९ महिनामा झण्डै ५ गुणाले बढ्यो क्यूआर कोडको भुक्तानी

काठमाडौं । पछिल्लो समय क्यूआर कोडमार्फत हुने भुक्तानीमा उल्लेख्य बृद्धि देखिएको छ । गत साउनदेखि यसको तथ्याङ्क राख्न थालेको राष्ट्र बैंकको आँकडामा चैतसम्म आइपुग्दा ४६२ प्रतिशतभन्दा बढी अर्थात करिब ५ गुणाको बृद्धि देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनमा एक लाख ९५ हजार ०१६ पटक क्यूआर कोड प्रयोगबाट ५८ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो । तर चैतमा भने उक्त कारोबार बढेर ७ लाख ८२ हजार ४७१ पटकमा दुई अर्ब ७२ करोड २० लाख रुपैयाँ पुगेको हो ।

फागुनमा भने क्यूआरबाट दुई अर्ब पाँच करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो । यसरी हेर्दा क्यूआर कोड स्क्यानमार्फत हुने भुक्तानी एक महिनामै ३०.५१ प्रतिशतले बृद्धि भएको देखिएको छ ।

डिजिटल वालेट कम्पनी, भुक्तानी प्रणाली सञ्चालक र बैंक तथा वित्तीय संस्थाहरुले क्यूआर कोडको भुक्तानीलाई आक्रामक रुपमा विस्तार गर्न थालेसँगै त्यसको प्रभाव कारोबारमा समेत देखिन थालेको हो । सँगसँगै नगद कारोबारबाट कोरोना भाइरस सर्नसक्ने जोखिम समेत रहने भएकाले प्रयोगकर्ताले सकेसम्म क्यूआरबाट नै भुक्तानी गर्न खोजिरहेका हुन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४