close

फर्मवेयर के हो अनि विद्युतीय उपकरणमा यसले कसरी काम गर्छ ?

टेकपाना टेकपाना

बैशाख ३०, २०७८ १९:३८

फर्मवेयर के हो अनि विद्युतीय उपकरणमा यसले कसरी काम गर्छ ?

काठमाडौं । कम्प्युटरमा अनेक प्रकारका हार्डवेयर र सफ्टवेयर हुने गर्दछन् । जसको सहयोगमा प्रयोगकर्ताले दिएको निर्देशन अनुसारका काम गर्न कम्प्युटर सक्षम हुने गर्दछ ।

हरेक हार्डवेयर र सफ्टवेयर कुनै विशेष प्रकारको कार्य गर्नका लागि बनाइएको हुन्छ । हामीले हार्डवेयर र सफ्टवेयरका अनेकौं नाम सुनिरहेका हुन्छौं ।

यसमा एउटा अर्को चिज पनि हुन्छ, जसको उपयोग बिना कम्प्युटर अन हुन समेत सक्दैन । त्यो हो, फर्मवेयर । फर्मवेयरको नाम पनि तपाईंले सुन्नु भएकै होला ।

तर के तपाईंलाई थाहा छ, कम्प्युटर सञ्चालनमा यसको भूमिका के हुन्छ ? हुन हामीहरुमध्ये धेरैले सुन्दै आएको विषय हो, अपरेटिङ सिस्टम र सीपीयूको सहयोगमा कम्प्युटरले काम गर्दछ ।

तर यो आंशिक जानकारी मात्र हो । यदि फर्मवेयर नहुने हो भने कम्प्युटर कुनै कामको रहँदैन । फर्मवेयरको उपयोग कम्प्युटरमा मात्र नभएर अनेकौं विद्युतीय तथा हार्डवेयर डिभाइसमा समेत हुने गर्दछ ।

उदाहरणका लागि स्मार्टफोन, स्मार्ट टिभी, वासिङ मसिन, स्मार्ट वाच आदि । भलै यसको काम सानो हुन्छ, तर हरेक मसिन र उपकरणका लागि निकै महत्वपूर्ण हुन्छ ।

आज हामी तपाईंलाई फर्मवेयर के हो, कहाँ राखिएको हुन्छ, आदि विषयमा विस्तृत रुपमा बताउँदै छौं । फर्मवेयर के हो भन्ने कुरा थाहा पाउनका लागि तपाईंले सुरुमा हार्डवेयर र सफ्टवेयरलाई बुझ्न जरुरी छ ।

हार्डवेयर कम्प्युटरका त्यस्ता भाग हुन्, जसलाई हामी देख्न र छुन सक्छौं । यस्ता पार्ट्सले कम्प्युटरको बडी तयार गरिन्छ ।

हार्डवेयरको उदाहरणको रुपमा हामीले मनिटर, किबोर्ड, माउस, सीपीयूलाई लिन सक्छौं । त्यस्तै सफ्टवेयर प्रोग्रामको एउटा समूह हो ।

जसले विशेष कार्य गर्नका लागि कम्प्युटरलाई निर्देशन दिने गर्दछ र अर्थात यसले प्रयोगकर्तालाई कम्प्युटरमा काम गर्नसक्ने अवसर दिने गर्दछ । अपरेटिङ सिस्टम सफ्टवेयरको मुख्य उदाहरण हो ।

हार्डवेयर र सफ्टवेयरले एकसाथ मिलेर कम्प्युटरको काम पुरा गर्दछन् र प्रयोगकर्तालाई आउटपुट दिने गर्दछन् । अब फर्मवेयर के हो भन्ने विषयमा चर्चा गरौं ।

फर्मवेयर पनि एकप्रकारको सफ्टवेयर नै हो । जुन हार्डवेयरको एउटा भागमा जोडिएको हुन्छ । फर्मवेयरमा कुनै पनि हार्डवेयरको आधारभूत काम प्रस्तुत गर्नका लागि ‘इन्स्ट्रक्सन प्रोग्राम’ (निर्देशनात्मक कार्यक्रम) हुन्छन् ।

त्यसैले त हामी यसलाई हार्डवेयरको सफ्टवेयर समेत भन्न सक्छौं । फर्मवेयर एउटा यस्तो प्रोग्राम हो, जुन हार्डवेयरको साथमा जोडिएर आउँछ ।

अर्थात फर्मवेयरलाई कुनै पनि हार्डवेयर निर्माण हुँदाको बखतमा नै त्यसमा स्थापित गरिन्छ । उदाहरणको लागि किबोर्ड, हार्ड ड्राइभ, ग्राफिक कार्ड, प्रिन्टर अथवा टिभी, माइक्रो ओभन, वासिङ मसिन आदज जस्ता  कुनै पनि होम अप्लायन्सेस जस्ता उपकरणमा समेत फर्मवेयर राखिएको हुन्छ ।

फर्मवेयर सफ्टवेयरको एउटा सानो हिस्सा हो । जसले हार्डवेयरको काम गर्दछ । यसले सबै हार्डवेयर डिभाइसलाई सिस्टमका अन्य डिभाइससँग सञ्चार गर्ने र आधारभूत इनपुट तथा आउटपुट टास्क पुरा गर्न निर्देशन दिने गर्दछ ।

फर्मवेयर बिना हामीले प्रयोग गर्ने अधिकांश विद्युतीय उपकरणहरुले काम गर्न सक्दैनन् । किन कि हरेक साना ठूला विद्युतीय उपकरणमा एउटा सफ्टवेयर इन्स्टल गरिएको हुन्छ ।

जसको सहयोगमा त्यसले प्रयोगकर्ताले दिएको इनपुटलाई बुझ्ने गर्दछ । र त्यसैअनुसार काम गर्दछ । यसका लागि एउटा सानो उदाहरणको रुपमा वासिङ मसिनलाई हेरौं । 

जसमा केही बटन हुने गर्दछन् । ती बटन प्रयोग गरेर मसिनलाई नियन्त्रण गर्ने गरिन्छ । त्यसैअनुसार नै हामीले आफ्नो आवश्यकता अनुसारको काममा वासिङ मसिन उपयोग गरिरहेका हुन्छौं ।

तर के तपाईंले सोच्नु भएको छ, हामीले कुनै बटन दबाउँदा मसिनले कति स्पिडमा वा कुन मोडमा काम गर्ने भन्ने कुरा कसरी थाहा पाउँछ ? यो कुरा थाहा पाउनका लागि त्यसभित्र एउटा मेमोरी राखिएको हुन्छ ।

जसमा फर्मवेयर इन्स्टल गरिएको हुन्छ । त्यही सफ्टवेयरको सहयोगमा मसिनले हाम्रो निर्देशनलाई बुझ्ने गर्दछ । यस्तै प्रकारले तपाईंले कुनै कम्प्युटरको बायोस देख्नु भएको हुनसक्छ ।

त्यो पनि एउटा फर्मवेयर हो, जुन कम्प्युटरको रोममा इन्स्टल गरिएको हुन्छ । कम्प्युटरमा अपरेटिङ सिस्टम लोड गर्नुअघि फर्मवेयरले सबै हार्डवेयर डिभाइसलाई चेक गर्दछ ता कि सबै सही अवस्थामा छन् कि छैनन् भन्ने थाहा होस् ।

तिनीहरुले राम्रोसँग काम गरिरहेका छन् कि छैनन् अथवा त्यसमा कुनै समस्या त छैन भन्ने कुरा पनि त्यसले यकिन गर्दछ । त्यसपछि यसले अपरेटिङ सिस्टमलाई र्‍याममा लोड गरेर कम्प्युटरलाई काम गर्न सक्षम बनाउँदछ ।

फर्मवेयर सामान्यतया एउटा विशेष प्रकारको मेमोरीमा स्टोर गरिएको हुन्छ । जसलाई फ्ल्याश रोम भनिन्छ ।

रोम (रिड अन्ली मेमोरी) मा म्यानुफ्याक्चरिङका दौरान कम्पनीले एकपटक मात्र प्रोग्राम लेख्ने गर्दछन् । यद्यपी पछि आवश्यकता परेको खण्डमा यसलाई रिराइट समेत गर्न सकिन्छ ।

कम्प्युटर उपकरणलाई हाम्रो निर्देशन बुझ्नका लागि रोमको आवश्यकता पर्दछ । किन कि यसमा डेटा स्थायी रुपमा स्टोर भएर बस्ने गर्दछ ।

उपकरणमा पावर नहुँदा समेत यसमा डेटा स्टोर भएर सुरक्षित रुपमा बसिरहेको हुन्छ । यदि रोम हुँदैन थ्यो भने फर्मवेयर स्टोर गर्न पनि सकिन्न थ्यो र उपकरणले आफ्नो काम गर्न सक्ने थिएन ।

अन्य सफ्टवेयरमा जस्तै फर्मवेयरको समेत अपडेटेड भर्सन तयार पारिन्छ । ता कि उपकरणले अझ राम्रो पर्फमेन्स दिन सकोस् । 

फर्मवेयर अपडेट किन र कसरी गर्ने ?

अहिलेको समयमा हामी कुनै पनि सफ्टवेयरलाई अपडेट गर्न सक्छौं । फर्मवेयर पनि एक प्रकारको सफ्टवेयर भएकाले यसलाई पनि अपडेट गर्न सकिन्छ ।

तर सन् २०१३ भन्दा अगाडि यो सम्भव थिएन । त्यसअघि फर्मवेयर प्रोग्रामको रुपमा हार्डवेयरमा एकपटक लोड भएर आउने गर्दथ्यो ।

तर बग वा एररका कारण ह्याकरले फर्मवेयर ह्याक गरेपछि भने यसको अपडेट आउन थालेको हो । फर्मवेयर सुरुमै कुनै उत्पादनमा जोडिएर आउने गर्दछ ।

जब त्यो खराब हुन्छ वा उत्पादक कम्पनीले त्यस्तो उपकरणले सही रुपमा काम गरिरहेको छैन भन्ने थाहा पाउँछ, त्यस्तोमा कम्पनीले फर्मवेयर अपडेट गर्दछ । धेरैजसो कम्पनीहरुले उत्पादनको प्रविधि अनुसार हार्डवेयरका साथ कम्प्याटिबल फर्मवेयर अपडेट गराइरहन्छन् ।

ता कि अपडेटेड उपकरणले नयाँ र आधुनिक सञ्चालन निर्देशनका साथ स्तरोन्नती हुन सकोस् । फर्मवेयरको अपडेट हार्डवेयरको पर्फमेन्समा सुधार ल्याउन वा नयाँ फिचर थप गर्नका लागि जारी गरिन्छ ।

फर्मवेयर अपडेट गर्दा त्यसले तपाईंको उपकरणको कार्यक्षमता बढाउन महत्वपूर्ण भूमिका निभाउने गर्दछ । अपडेट भएपछि पुरानो उपकरणले पनि नयाँ उपकरणले जस्तै काम गर्न थाल्दछ ।

साथै त्यसको कार्यक्षमतालाई थप राम्रो तुल्याउँछ । फर्मवेयर अपडेट गर्नका लागि तपाईं सोझै उत्पादन बनाउने कम्पनीको वेबसाइटबाट अपडेटेड भर्सन डाउनलोड गर्न सक्नुहुन्छ ।

साथै सीडी वा डीभीडी प्रयोग गरेर समेत तपाईं त्यसलाई उपयोग गर्न सक्नुहुन्छ । उपकरणमा फर्मवेयर अपडेट गर्नु कुनै जटिल काम होइन ।

जब तपाईंको उपकरण अपडेटका लागि तयार हुन्छ, त्यसले फर्मवेयर अपडेट गर्न तपाईंलाई सूचित गर्दछ । त्यसपछि तपाईं कम्पनीको वेबसाइटबाट फर्मवेयर अपडेट गर्ने सफ्टवेयर डाउनलोड गरेर इन्स्टल गरी रन गर्न सक्नुहुन्छ ।

त्यसपछि सिस्टमलाई सट डाउन गरेर रिस्टार्ट गर्नुपर्ने हुन्छ । यसरी तपाईंको कम्प्युटरको फर्मवेयर अपडेट हुने गर्दछ ।

फर्मवेयर सफ्टवेयर अपडेट गर्नुअघि तपाईंले यो कुरामा ध्यान दिन जरुरी छ कि जब तपाईं फर्मवेयर अपडेट गरिरहनु भएको छ, त्यस बखत तपाईंको डिभाइस बन्द हुनुहुन्न । अन्यथा तपाईंको उपकरण खराब हुने खतरा रहन्छ ।

यहाँनिर ध्यान दिनुपर्ने एउटा अर्को कुरा के छ भने तपाईं त्यही सफ्टवेयरलाई मात्र विश्वास गर्नुहोस्, जुन सोझै म्यानुफ्याक्चरर वा सफ्टवेयर कम्पनीबाट पठाइएको हुन्छ । कुनै पनि सफ्टवेयर अपडेट गर्नका लागि कहिल्यै पनि थर्डपार्टी स्रोतमाथि विश्वास नगर्नुहोस् ।

किन भने त्यसबाट तपाईंको सिस्टममा भाइरस आक्रमण समेत हुनसक्छ । साथै सिस्टममा गलत फर्मवेयर अपडेट गर्ने कार्यबाट समेत सचेत रहनुहोस् ।

एउटा उपकरणको फर्मवेयरलाई अर्को उपकरणमा अपडेट गर्नुभयो भने तपाईंको उपकरणले पहिले जस्तो काम गर्न सक्नेछैन । यसबाट तपाईंको डिभाइसमा रहेको फर्मवेयरलाई त्यसले करप्ट तुल्याइदिन सक्छ ।

जसले गर्दा तपाईंको उपकरणमा गम्भीर किसिमको समस्या उत्पन्न हुनसक्छ । त्यसैले फर्मवेयर अपडेट गर्नु अघि आफ्नो हार्डवेयरको मोडल नम्बर हेर्न नबिर्सिनुहोस् । त्यसलाई उपलब्ध फर्मवेयर अपडेटसँग तुलना गर्नुहोस् । म्याच भएको अवस्थामा मात्रै त्यस्तो सफ्टवेयर डाउनलोड गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४