close

टेलिकम प्रयोगकर्तालाई मोबाइल एपमै यति धेरै सुविधा

टेकपाना टेकपाना

जेठ १, २०७८ १३:१०

टेलिकम प्रयोगकर्तालाई मोबाइल एपमै यति धेरै सुविधा

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले नेपालकाे दूरसञ्चार क्षेत्रमा ५३.६५ प्रतिशत हिस्सा ओगटेको छ । टेलिकमका फिक्स्ड लाइन, माेबाइल सेवा, ब्राेडब्याण्ड, आईपी टिभी माेबाइल सेवा, इन्टरनेट एसएमएस लगायत विभिन्न सेवा सञ्चालनमा छन् ।

यति धेरै सेवा र सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाहका लागि कम्पनीले नेपाल टेलिकम एप सञ्चालन ल्याएकाे छ। यो एपमा थुप्रै सुविधाहरु समावेश गरिएका छन्, जुन नेपाल टेलिकमका प्रयोगकर्ताको लागि उपयोगी हुन सक्छ ।

नेपाल टेलिकम एप चलाउन सबैभन्दा पहिला त इन्स्टल गर्नुपर्‍यो। त्यसका लागि गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमा गएर NEPAL TELECOM सर्च गरी सजिलै एप इन्स्टल गर्न सकिन्छ ।

इन्स्टल गरिसकेपछि एपले जीपिएस लोकेशन, कन्ट्याकलगायतका कुरामा पहुँचका लागि स्वीकृति माग्छ ।

त्यसलाई स्वीकृति दिएर अगाडि बढ्नुहोस् । पहिलोपटक यो एप चलाउँदै हुनुहुन्छ भने ‘रजिष्टर’ मा ट्याब गरेपछि देखिने फर्ममा आफ्नो विवरण भर्नुहोस् ।

यसअघि नै रजिष्टर गरिसक्नु भएको छ भने सिधै लगइन गर्न पनि सकिन्छ । साथै पासवर्ड बिर्सनुभएको छ भने सजिलै रिसेट पनि गर्न सकिन्छ ।

रजिष्ट्रेसन गरेर जब तपाईंले एपमा लगइन गर्नुहुन्छ, तब एपको इन्टरफेस देखिन्छ। जहाँ करेन्ट प्याकेज, ब्यालेन्स अनि सिम कार्डको मान्य अवधिसँगै अन्य थुप्रै सेवाहरुको सूची देखा पर्छ। 

बाइ प्याक’ फिचर

लक्षित सेवाग्राही आकर्षण गर्न र उनीहरुको आवश्यकतालाई बुझेर सस्तो सेवा उपलब्ध गराउन टेलिकम सेवाप्रदायक कम्पनीले विभिन्न प्याकेज र अफरहरु ल्याइरहेका हुन्छन् । एक क्लिकमै त्यस्ता प्याकेजहरु किन्नका लागि नेपाल टेलिकम एपको यो फिचर उपयोगी हुन्छ ।

नेपाल टेलिकमको भ्वाइस वा डेटा प्याक हामीमध्ये कतिपयले *१४१५# डायल गरेर किनिरहेका हुन्छौं । यो एपको बाइ प्याक्समा गएर Choose Package Type मा क्लिक गर्दा नेपाल टेलिकमका सम्पूर्ण प्याकहरुको सूची देखिन्छ ।

त्यसमध्ये आफूलाई आवश्यक परेको प्याकेज छानेर खरिद गर्न एपबाट एकदमै सजिलो हुन्छ। प्याकेज खरिद गरिसकेपछि प्याकेज कति बाँकी छ भन्ने कुरा पनि प्रस्ट रुपमा देख्न सकिन्छ। 

रिचार्ज नाउ’ फिचर

यो फिचर नेपाल टेलिकमको मोबाइल एपमा भएको अर्को एकदमै काम लाग्ने फिचर हो। Recharge Now ट्याब गरेपछि रिचार्ज गर्ने सेल्फ र अदर भन्ने दुई विकल्प देखिन्छन् ।

आफ्नै मोबाइल रिचार्ज गर्ने हो भने सेल्फ र अरुको मोबाइल रिचार्ज गर्नका लागि अदर भन्ने विकल्प छान्न सकिन्छ। यी दुई मध्ये एक विकल्प छानेपछि स्क्यान कार्ड र इन्टर पिन दुईवटा विकल्प देखिन्छन् ।

तपाईंसँग रिचार्ज कार्ड छ भने स्क्यान गरेर स्मार्ट तरिकाले सजिलै मोबाइलमा ब्यालेन्स रिचार्ज गर्न सक्नुहुन्छ। अर्को कुरा के हो भने रिचार्ज कार्ड स्क्रयाच गर्दा कुनै नम्बर मेटिएको छ भने पनि यो एपले सफलतापूर्वक रिचार्ज गर्न मद्दत गर्छ। 

ब्यालेन्स ट्रान्सफर

तपाईंको मोबाइलमा भएकै ब्यालेन्स अन्य कुनै नम्बरमा ट्रान्सफर गर्नु पर्‍यो भने पनि याे एपबाट सजिलै गर्न सकिन्छ। ट्रान्सफर ब्यालेन्स भन्ने फिचरमा ट्याब गरेर ब्यालेन्स पठाउन चाहेको मोबाइल नम्बर र रकम राख्ने बित्तिकै बिना कुनै झन्झट तुरुन्तै ब्यालेन्स ट्रान्स्फर हुन्छ। 

फ्रेण्डस् एण्ड फेमिली सर्भिस

आफ्ना साथीभाई र परिवारजनसँग सस्तो दरमा कुराकानी गर्ने सुविधा दिनका लागि नेपाल टेलिकमले फ्रेण्डस् एण्ड फेमेली सर्भिस (FNF) सुविधा ल्याएको हो। एपमा भएको FNF फिचरमा ट्याब गर्नु भयो भने यो सुविधा सूचारु गर्न र धेरै कुराकानी भइरहने साथीभाईको नम्बर राख्न र हटाउन सकिन्छ। 

नेपाल टेलिकमका अफरबारे लेटेस्ट अफरमा ट्याब गरेर जानकारी लिन सकिन्छ भने युटिलिटीज भन्ने फिचर यो एपमा उपलब्ध अधिकाँस सेवाहरु सर्टकट हो । जहाँ ब्यालेन्स चेक, प्याकेज खरिद, रिचार्ज, फाेरजी सुचारुलगायतका थुप्रै सेवाहरु उपलब्ध छन् ।

सर्भिसेसमा क्लिक गरेर नेपाल टेलिकमका सबै सेवाबारे जानकारी लिन सकिन्छ भने गिफ्ट प्याक यो एपको अर्को आकर्षक फिचर हो। जसबाट आफ्ना मान्छेलाई टेलिकमका विभिन्न प्याकेजहरु गिफ्टस्वरुप पठाउन सकिन्छ। 

युसेज हिस्ट्री

यो नेपाल टेलिकम एपको अर्को फिचर हो, जसले बढीमा पाँच दिनसम्म तपाईंले कसलाई कुन समयमा कति मिनेट फोन गर्नुभयो ? कति डेटा चलाउनु भयो ? र कति म्यासेज पठाउनु भयो ? भन्ने कुराको जानकारी उपलब्ध गराउँछ ।

यस्तै एपमा रहेको बिल पेमेन्ट फिचरमा नेपाल टेलिकमका विभिन्न सेवाहरुको अनलाइनबाट बिल तिर्न सकिने सुविधा छ। एउटा एपबाट नै धेरै कुराहरु गर्न मिल्ने भएकाले नेपाल टेलिकमका प्रयोगकर्ता जो स्मार्टफोन चलाउँछन् उनीहरुको लागि यो एप निकै उपयोगी हुन सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४