close

‘सस्तो इन्टरनेट प्याकेज नपाए उजुरी दिनुहोस्, आवश्यक व्यवस्था हामी मिलाउँछौं’

टेकपाना टेकपाना

जेठ १, २०७८ २१:१३

‘सस्तो इन्टरनेट प्याकेज नपाए उजुरी दिनुहोस्, आवश्यक व्यवस्था हामी मिलाउँछौं’

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशन मिनप्रसाद अर्यालले कम मूल्यका इन्टरनेट प्याकेज समेत उपब्ध गराउन सेवाप्रदायकलाई आग्रह गरेका छन् । आवश्यकता अनुसार सस्तो मूल्यमा थोरै एमबीपीएस गतिका प्याकेज खरिद गर्न पाउने उपभोक्ताको अधिकार भएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । 

टेकपाना मिडियाले शनिबार आयोजना गरेको दूरसञ्चार नीतिगत बहस श्रृङ्खलाको कार्यक्रममा एक जना दर्शकको प्रश्नको उत्तर दिँदै अर्यालले सेवाप्रदायकमा त्यसको माग गर्न अनुरोध गरेका थिए ।

‘यदि सेवाप्रदायकमा माग गर्दा समेत कम स्पिडको सस्तो इन्टरनेट प्याकेज पाउनु भएन भने प्राधिकरणमा प्रमाण सहित उजुरी दिनुहोस्,’ उनले आश्वस्त पार्दै भने, ‘त्यसपछिको आवश्यक व्यवस्था हामी नै मिलाउँछौं ।’ 

इन्टरनेट सेवाप्रदायकमाथि मूल्य घटाउनुको साटो सोही मूल्यमा इन्टरनेट स्पिड बढाएर पुरानै मूल्य कायम राख्ने गरेको आरोप लाग्दै आएको छ । ब्रोडब्याण्ड नीतिमा ५१२ केबीपीएस माथिको इन्टरनेटलाई ब्रोडब्याण्ड इन्टरनेटको रुपमा परिभाषित गरिएको उनले स्मरण गराए ।

‘यसको अर्थ प्रयोगकर्ताले माग गरेको अवस्थामा सेवाप्रदायकले दुई एमबीपीएस गतिको इन्टरनेट पनि दिनुपर्ने हुन्छ,’ उनले भने । तर कार्यक्रममा सहभागी अर्का वक्ता सुबिसु केवल नेट प्रालिका प्राविधिक प्रमुख रामकृष्ण अधिकारीले अहिलेको अवस्थामा भिडिओ सहितका उच्च ब्याण्डविथ खपत गर्ने एप्लिकेसनको प्रयोग बढेको भन्दै माथिल्लो प्याकेज कायम गर्नु आफूहरुको बाध्यता भएको बताए । 

तर प्राधिकरणका निर्देशक अर्यालले कुनै कुनै एप्लिकेसन मात्रै चल्ने भए पनि उपभोक्ताले माग गरेको खण्डमा कम स्पिडका प्याकेज उपलब्ध गराउनु सेवाप्रदायकको दायीत्व भएको उल्लेख गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४