close

इन्टरनेट दिन सीजीको पूर्वाधार तयार, निषेधाज्ञा बीचमै सेवा सञ्चालनको तयारी

टेकपाना टेकपाना

जेठ २, २०७८ १४:१९

इन्टरनेट दिन सीजीको पूर्वाधार तयार, निषेधाज्ञा बीचमै सेवा सञ्चालनको तयारी

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी टेलिकमले उच्च गतिको एफटीटीएच इन्टरनेट सेवा दिन आवश्यक पूर्वाधार निर्माणको काम पुरा गरेको छ । कोभिड महामारीका कारण जारी  निषेधाज्ञा बीचमै कम्पनीले आवश्यक काम सम्पन्न गरेको हो । 

त्यसो त कम्पनीले यही वैशाखभित्रै आफ्नो इन्टरनेट सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । तर कोरोना भाइरसको महामारीका कारण जारी निषेधाज्ञाले निर्धारित समयमा सेवा सुरु गर्न नसकिएको कम्पनीले जनाएको छ । 

‘हामीले यो निषेधाज्ञा बीचमै भए पनि सेवा सञ्चालन गर्ने प्रयास गरिरहेका थियौं,’ सीजी कम्युनिकेसन निकट स्रोतले भन्यो, ‘कम्पनीका सिनियर तहका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि हामीले त्यसलाई अहिलेका लागि पर सार्नुपरेको छ ।’

महामारी अझै नियन्त्रणमा नआइसकेका कारण निषेधाज्ञाको अवधि थप लम्बिन सक्ने आँकलन भइरहेको छ । तर कम्पनीले निषेधाज्ञा लम्बिँदै गए पनि त्यसैबीच सेवा सञ्चालनमा ल्याउने जनाएको छ ।

कम्पनीले सुरुवाती चरणमा काठमाडौं उपत्यकाबाट आफ्नो सेवा आरम्भ गर्नेछ । जसका लागि सितापाइलामा डेटा सेन्टर स्थापना लगायतको काम पुरा भइसकेको छ ।

यसबाहेक कम्पनीले प्वाइन्ट टु प्वाइन्ट फाइबर कनेक्सन, ओएलटी (अप्टिकल लाइन टर्मिनल), राउटर लगायतका आवश्यक उपकरण तथा सामग्री समेत जुटाइसकेको छ । कम्पनीले प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय इन्टरनेट दिने दाबी गरेकाे छ ।

नेपालको इन्टरनेट बजारमा चौधरी ग्रुपको प्रवेशसँगै अन्य सेवाप्रदायकमाथि चुनौती बढ्ने अनुमान गरिएको छ । मोबाइल तथा आधारभूत दूरसञ्चार सेवा सञ्चालनका लागि युनिफाइड लाइसेन्स पाउन नसकेको सीजी तत्काल इन्टरनेट सेवामा केन्द्रीत भएको हो ।

ब्याण्डविथ आयात तथा इन्टरनेट सेवा सञ्चालनका लागि कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणबाट यसअघि नै नेटवर्क सेवाप्रदायक र इन्टरनेट सेवाप्रदायकको अनुमतिपत्र लिइसकेको छ । भविष्यमा फाइभजी सेवा समेत सञ्चालन गर्न सकिने गरी कम्पनीले उच्च क्षमताको अप्टिकल फाइबर नेटवर्क बनाइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४