close

फेसबुकमा साओमी नेपालको फेक पेजबाट प्रयोगकर्ताको गोप्य विवरण चोरी, सतर्कता अपनाउन कम्पनीको आग्रह

टेकपाना टेकपाना

जेठ २, २०७८ १६:२३

फेसबुकमा साओमी नेपालको फेक पेजबाट प्रयोगकर्ताको गोप्य विवरण चोरी, सतर्कता अपनाउन कम्पनीको आग्रह

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा साओमी नेपालको नाम र फोटो दुरुपयोग गर्दै फेक पेजबाट प्रयोगकर्ताको गोप्य विवरण चोरी भइरहेको पाइएको छ ।

यस्तो पेजमा भ्रमपूर्ण प्रचार गरी प्रयोगकर्ताको व्यक्तिगत विवरण र सूचना संकलन भइरहेको छ । उपहारको लोभमा त्यहाँ उपलब्ध गराइएको लिंकमा क्लिक गर्दा फिशिङ र स्क्यामको शिकार भइने भन्दै सुरक्षा जानकारहरूले सावधानी अपनाउन आग्रह गरेका छन् ।

यसैबीच साओमी नेपालले पनि एक सूचना जारी गर्दै फेक पेजबाट सतर्कता अपनाउन अनुरोध गरेको छ । कम्पनीले त्यस्ता पेजमा मागिएको व्यत्तिगत विवरण र सूचना शेयर नगर्न सचेत गराएको छ ।

साथै कम्पनीले फेसबुकमा साओमी नेपालको आधिकारिक (निलो ब्याज भएकाे भेरिफाइड) पेज चेक गरेरमात्र जानकारी लिन अनुराेध गरेकाे छ ।

May be an image of text that says 'MI xIaoMi Notice Subject: Cautious with Scammers Hello Mi Fans, Currently in the name of Xiaomi Nepal there are many fake pages exist in social media handles due to which many Mi Fans have difficulty to recognize the authentic page. To recognize the authentic page please check the blue badge of page profile which looks like this ဝ) The authentic page Xiaomi Nepal have blue badge (Xiaomi Nepal in profile. Similarly, lot of scam is going on fake pages so do not share your all personal details and information. Xiaomi Nepal'

नेपाललगायत विभिन्न मुलुकमा सञ्चालन भएको यस्तो फेसबुक फिशिङ स्क्याममा लाखौं फेसबुक प्रयोगकर्ताहरुको लगइन क्रेडेन्सियल चोरी भइरहेकाे छ । नेपालमा पनि नेपाल टेलिकम, एनसेल, स्मार्ट सेल र नियामक दूरसञ्चार प्राधिकरणकै नाम र लोगो दुरुपयोग गरी प्रयोगकर्तालाई झुक्याउन स्क्यामिङ भइरहेको छ ।

यो फिशिङ क्याम्पियनबाट नेपाल, इजिप्ट, फिलिपिन्स, ट्युनिशिया, पाकिस्तान र अन्य मुलुकका प्रयोगकर्ताहरुको फेसबुक लगइन क्रेडेन्सियलहरु चोरी भइरहेको साइबर सुरक्षामा अनुसन्धान गर्दै आएको नेपाली कम्पनी थ्रेटनिक्स बताउँछ ।

यो क्याम्पियन अन्तर्गत ह्याकरहरुले विभिन्न मुलुकको स्थानीय फेसबुक पोस्ट तथा पेजहरुको नक्कल गरी तिनै मुलुकसँग मिल्ने किसिमका विज्ञापन तथा अफरहरुको लोभमा पारेर मानिसहरुलाई फिशिङको शिकार बनाइरहेका छन् ।

होस्टेड फिशिङ साइटमा प्रयोगकर्ताहरुका लागि लगइन प्यानल राखिने गरेकाे पाइएकाे छ । जहाँ लगइन गरिसकेपछि प्रयोगकर्ताहरुको लगइन क्रेडेन्सियल ह्याकरको हातमा पुग्छ ।

त्यसो त फेसबुकले यसअघि नै त्यस्ता किसिमका फिशिङ पेज निर्मुल गर्न एडका लागि अप्रुभ गर्न बन्द गरेको छ । तर स्क्यामरहरुले बिट्ली लिङ्क प्रयोग गर्ने गर्छन्, जुन सुरुमा हेर्दा एउटा इमान्दार पेज जस्तो देखिन्छ । तर अप्रुभ भइसकेपछि ती सबै फिशिङ डोमेनमा परिवर्तन हुन्छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा प्रतिष्ठित कम्पनीको जस्तै देखिने पेज बनाएर फिशिङ गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसरी प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत विवरण राख्न लगाउने र उनीहरुको अकाउन्ट ह्याक गर्ने जालको रुपमा फिशिङ आक्रमण गर्ने गतिविधि मौलाएको छ ।

यसकारण तपाईंले पनि कम्पनीको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पेज पहिचान गरेर मात्रै आवश्यक जानकारी लिनु राम्राे हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४