close

पहिलो दिनमा ३ हजार मोबाइलमा चल्यो टेलिकमको भीओएलटीई, अरुमा किन चलेन ?

टेकपाना टेकपाना

जेठ ३, २०७८ २२:१६

पहिलो दिनमा ३ हजार मोबाइलमा चल्यो टेलिकमको भीओएलटीई, अरुमा किन चलेन ?

काठमाडौं । सोमबारदेखि सुरु भएको टेलिकमको भीओएलटीई सेवा करिब ३ हजार मोबाइलमा सुचारु भएको छ । करिब ३० हजार प्रयोगकर्ताले यो सेवा एक्टिभ गरेको भए पनि १० प्रतिशत मोबाइलमा मात्रै सेवा प्रयोगमा आयो ।

तपाईंलाई लाग्न सक्छ, टेलिकमको सिस्टममा समस्या भएका कारण अन्य मोबाइल सेटहरुमा भीओएलटीई सेवा चलेन । तर वास्तविकता त्यसो होइन ।

मोबाइलमा *444# डायल गरेर अंक २ थिचेपछि सेवा एक्टिभ भएसँगै तपाईंले चलाउने टेलिकमको मोबाइल नम्बरमा यो सेवा प्रयोग गर्न मिल्ने हुन्छ । तर यो सेवा प्रयोग गर्न तपाईंले प्रयोग गर्ने मोबाइलमा पनि त्यसका लागि आवश्यक सपोर्ट हुन जरुरी छ ।

यसलाई एउटा सजिलो उदाहरणबाट हेरौं । मानौं तपाईंसँग नोकियाको बारफोन छ । तपाईंले *444# डायल गरी त्यसबाट फोरजी एक्टिभ गर्न गर्न त सक्नुहुन्छ ।

तर बारफोनमा फोरजी चलाउन चलाउन त सम्भव छैन । हो, ठीक त्यस्तैगरी पहिलो दिनमा करिब ३० हजार मोबाइलमा भीओएलटीई त एक्टिभ भयो । तर सबैमा चलेन ।

यसको अर्थ सबै बारफोन भएकाले यो सेवा चल्न नसकेको भन्ने पनि होइन । तपाईंको मोबाइलमा फोरजी सेवा यस अघि नै चलिरहेको हुनसक्छ । तर भीओएलटीई फोरजीमै आधारित छुट्टै सेवा हो ।

यो सेवा चल्नका लागि ईको सिस्टम (पारिस्थितिक प्रणाली) नै आवश्यक पर्दछ । यसलाई सजिलोगरी बुझ्दा टेलिकमको सिममा यो सेवा एक्टिभ भएर मात्रै पुग्दैन ।

यसका लागि तपाईंसँग भएको मोबाइलमा यो सेवा चलाउन सकिने फिचर हुनुपर्छ । सँगसँगै मोबाइल बनाउने कम्पनीले आफ्ना सेटहरुमा नेपाल टेलिकमलाई भीओएलटीई प्रविधिमा जोडिएको क्यारियरको रुपमा अनुमति पनि दिनुपर्ने हुन्छ ।

नेपाल टेलिकमले मात्र चाहेको भरमा यो सेवा चल्ने अवस्था हुन्थ्यो भने एक्टिभ भएका ३० हजार मोबाइलमै यो सेवा प्रयोगमा आइसक्ने थियो । यसरी तपाईंको मोबाइलमा भीओएलटीई सेवा नचल्नुको पछाडि विभिन्न कारण हुनसक्छन् ।

जसमा तपाईंको सेटले नै यो सेवालाई सपोर्ट नगर्न सक्छ । वा भनौं सेटिङ राम्रोसँग नमिलेको हुनसक्छ ।

अर्को मूख्य कारण भनेको सेटले भीओएलटीई सपोर्ट गर्ने भए पनि जुन कम्पनीको मोबाइल हो, उसले टेलिकमको भीओएलटीई सेवालाई आफ्नो सिस्टममा अपडेट गर्न बाँकी हुनसक्छ । यसलाई प्राविधिक भाषामा ‘क्यारियर अनबोर्डिङ’ भनिन्छ ।

टेलिकमका अनुसार हाल सामसङ, साओमी र नोकियाका गरी तीन दर्जन बढी मोडेलमा मात्र यो सेवा इनेबल भएको छ । यीनै कम्पनीका अन्य मोडलमा समेत टेलिकमको भीओएलटीई अपडेट आउन बाँकी छ ।

आफूले चलाइरहेको मोबाइलमा टेलिकमको भीओएलटीईको अपडेट आयो कि आएन भनेर तपाईंले यहाँ क्लिक गरी फोरजी भीओएलटीई कम्प्याटिबल ह्याण्डसेट अन्तर्गतको सूचीमा अपडेट थाहा पाउन सक्नुहुनेछ ।

साथै एप्पल, भिभो, ओप्पो, ह्वावे, वानप्लस, रियलमी लगायतका ब्राण्डका मोबाइलमा पनि टेलिकमको भीओएलटीईको अपडेट आइसकेको छैन । करिब एक वर्षअघि देखि यो सेवाको परीक्षणमा जेटेको टेलिकमले त्यसयता लगातार रुपमा विभिन्न मोबाइल निर्माता कम्पनीसँग यसका लागि अनुरोध गर्दै आएको छ ।

सेवा सञ्चालन नभइसकेको भएर पनि कतिपय मोबाइल निर्माता कम्पनीले यसप्रति चाँसो नदेखाएका हुनसक्छन् । अब सेवा सञ्चालनमा आएसँगै मोबाइल निर्माता कम्पनीहरुलाई ग्राहकबाट समेत यो सेवा एक्टिभ गर्न दबाब आउन थाल्छ ।

टेलिकमको भीओएलटीई सेवा आफ्ना मोबाइलमा एक्टिभ नगर्दा मोबाइल बिक्रीमा समेत असर पर्ने भएपछि निर्माता कम्पनीलाई उनीहरुका स्थानीय भेण्डरले समेत दबाब दिन थाल्ने निश्चित छ । सबै मोबाइल ब्राण्डहरुले टेलिकमको भीओएलटीई चल्ने गरी क्यारियर अनबोर्ड गर्न बाँकी रहेकै कारण अहिले कम्पनीले आफ्नो सेवालाई परीक्षणको रुपमा सुरुवात गरिएको भनेको हो ।

सेवा सुरु भइसकेको अवस्थामा अबको एक वर्षमा आफ्ना कूल मोबाइल ग्राहक मध्ये ५० प्रतिशतभन्दा बढी भीओएलटीईमा जोडिने टेलिकमको अपेक्षा छ ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१