close

कोभिडकनेक्ट : कोभिड महामारीमा जसले गरिदिन्छ आईसीयू बेड र अक्सिजनको जोहो

टेकपाना टेकपाना

जेठ ५, २०७८ १४:५६

कोभिडकनेक्ट : कोभिड महामारीमा जसले गरिदिन्छ आईसीयू बेड र अक्सिजनको जोहो

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले भारतको स्वास्थ्य अवस्था तहसनहस बनाइरहेको थियो । भारतसँग निकट सम्बन्ध रहेको नेपालमा ढिलो चाँडो उक्त लहर फैलिने निश्चित जस्तै थियो ।

सरकारी तवरमा त्यसका लागि आवश्यक तयारी र पूर्व सतर्कता अपनाउन खासै काम भइरहेको थिएन । तर केही युवाहरु भने महामारीसँग जुध्ने विभिन्न उपायहरु खोज्न थालिसकेका थिए ।

११ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली तामझामका साथ धरहरा उद्घाटन गरिरहेका थिए । समय खड्का, सुरज पाण्डे, इडा रिजाल लगायतका ८ जना साथीहरु केही गर्न तम्सिएका थिए ।

त्यही दिन यी युवाहरु कोभिडको असर कम गर्न र संक्रमितलाई आवश्यक सहायता प्रदान गर्ने संयन्त्र बनाउन लागे । लगातारको मेहनतमा १६ वैशाखमा कोभिडकनेक्ट नामक प्लेटफर्म लाइभमा आयो ।

युवाहरुको यो स्वयम्‌सेवी अभियानमा क्रमशः अरु पनि जोडिँदै गए । अहिले विभिन्न १८ जिल्लाबाट यसमा २१५ जना स्वयंसेवी युवाहरु जुटेका छन् । १८ देखि २७ वर्षसम्मका युवाहरुको यो समूह अनलाइनमार्फत सेवा उपलब्ध गराउन अग्रसर नेपालको अहिलेसम्मकै ठूलो स्वयम्‌सेवी समूह हो ।

उनीहरु संक्रमितका लागि उपलब्ध हस्पिटल बेड, अक्सिजन, प्लाज्मा लगायतका अत्यावश्यकीय सहायताहरु उपलब्ध गराउन रात दिन नभनी खटिरहेका छन् । कोभिडकनेक्टएनपी डट ओआरजी नामक वेबसाइटसँगै, फेसबुक, इन्स्टाग्राम, भाइबर र ट्वीटरमार्फत यो समूहले सहायता दिने गरेको छ ।

सहयोगी व्यक्ति, संस्था तथा निकायले महामारीमा आफूले उपलब्ध गराउनसक्ने सहायता कोभिड कनेक्टमार्फत प्रदान गर्न सक्छन् । संक्रमितको संख्या निकै उच्च हुँदा अस्पतालमा भर्ना हुन बेडको अभाव छ । अक्सिजनको हाहाकार मच्चिएको छ ।

निषेधाज्ञाले गर्दा अस्पतालसम्म जान एम्बुलेन्स पाउन कठिन छ । सामाजिक सञ्जाल र वेबसाइटमा आएका अनुरोधको आधारमा कोभिडकनेक्ट नेपालको स्वयम्‌सेवी टोली सहायता जुटाउन तल्लिन हुन्छ । प्रायः २४ घण्टा समूहका सदस्यहरु सक्रिय रहन्छन् ।

दुई दिनअघि राति १ बजे आईसीयू बेडकाका लागि कोभिड कनेक्टमा अनुरोध आयो । टिमका सदस्यहरुले उपत्यकाका बिभिन्न अस्पतालमा खोजे ।

‘अन्ततः बिहान ५ बजे आईसीयूमा भर्न गराउन सकियो,’ खड्का भन्छन्, ‘यसरी रातभर नसुतेरै साथीहरुले आवश्यक सहायता जुटाइरहेका छन् ।’

सहजतका लागि स्वयम्‌सेवी टिमबीच विभिन्न काम बाँडफाँड गरिएको छ । ५०/६० जना डाक्टर सहितको टिमले प्राप्त अनुरोध फलोअप गर्ने, विश्लेषण गर्ने र आवश्यक स्वास्थ्य सहायताको यकिन गर्दछ ।

साथै हस्पिटल तथा आईसीयू बेड कहाँ खाली छन्, त्यसअनुसार पठाउने काम हुन्छ । छुट्टै डेटा टिम छ । जसले विभिन्न अस्पतालमा रहेका बेडहरुको अवस्था बुझ्ने र त्यसलाई सिस्टममा नियमित अपडेट गर्दछ ।

यसैगरी प्राविधिक टिमले वेबसाइट र फेसबुक हेर्ने अनि डिजाइनको काम गर्दछ । सामाजिक सञ्जालमा आउने म्यासेज तथा हटलाइन नम्बरमा आएका कलको जवाफ दिने काम पनि टोलीका सदस्यले गरिरहेका हुन्छन् ।

स्वयम्‌सेवी १८ जिल्लाबाट भए पनि कोभिडकनेक्टमा नेपालभरबाट सहयोगका लागि अनुरोध गर्न सकिन्छ । सहजताका लागि वेबसाइटमा नेपाली भाषाको विकल्प दिइएको छ । ता कि अंग्रेजी बुझ्न नसक्नेहरुले समेत सहजै सम्पर्क गर्न र आवश्यक सहायता पाउन सकुन् ।

हुन त प्रधामन्त्री केपी शर्मा ओलीले केही दिन अघि अस्पतालहरुमा बिरामीका लागि बेडको अभाव नरहेको दाबी गरेका थिए । सायद प्रधानमन्त्रीको त्यही बोलीमा लोली मिलाउन हुनुपर्छ स्वास्थ्य मन्त्रालयले कहाँ कति बेड खाली छन् भन्ने लामो सूची प्रकाशित गर्‍यो ।

थुप्रै सञ्चारमाध्यममा त्यसले समाचारको रुपमा स्थान पनि पायो । तर, रातदिन अपडेटका लागि सक्रिय कोभिडकनेक्ट नेपालका स्वयम्‌सेवीहरु भने उक्त विवरण फेक भएको बताउँछन् ।

‘कुन अस्पतालमा कति बेड खाली छन्, अक्सिजन कहाँ के छ भन्ने विषयमा हामी लगातार अपडेट लिन खोजिरहेका हुन्छौं,’ खड्काले अगाडि भने, ‘सरकारले बेड खाली रहेको भनेका सबै अस्पतालमा हामीले फलोअप पनि गर्‍यौं, तर त्यहाँ दिइएका नम्बरहरुमा फोन नै उठेन । एउटा अस्पतालले हामीलाई अक्सिजनको व्यवस्था गरिदिनुहोस्, २५/३० जना बिरामी भर्ना गर्छौं भने । यस्ता बेड खाली हुनु वा नहुनुले अहिलेको यो अप्ठ्यारोमा कुनै अर्थ राख्दैन ।’

सरकारले चाहेको अवस्थामा बेड, आईसीयू, अक्सिजन आदिको रियलटाइम जानकारी दिन सकिने उनको भनाइ छ ।

‘अहिले त कतिपय अस्पतालमा फोन गरेर अपडेट लिँदा बेड नै लुकाइरहेको अवस्था पनि छ,’ समयले भने, ‘सरकारले नै नियमित विवरण अपडेट गराउन अस्पतालहरुलाई बाध्य पारेको खण्डमा अस्पताल भर्ना हुन नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था आउने थिएन ।’

कोभिडकनेक्ट सञ्चालनमा आएपश्चात विभिन्न माध्यमबाट छ हजारभन्दा बढी अनुरोध आइसकेको टोलीका सदस्य सुरज पाण्डेले बताए ।

‘१३६० बेडका लागि अनुरोध आएकोमा हामीले ८१२ वटा बेड मात्र मिलाउन सक्यौं । २२९ जनालाई अक्सिजन र ३९ जनालाई सवारीसाधनको व्यवस्था हामीले गराइदिन भ्यायौं,’ उनले भने, ‘तर सरकारको पछिल्लो निर्णयले हामीलाई अक्सिजन जुटाउन भने असहज भएको छ ।’

सरकारको नयाँ निर्णयका कारण अक्सिजनका लागि प्रमुख जिल्ला अधिकारी वा स्वास्थ्य मन्त्रालयको सिफारिस लिनुपर्ने हुन्छ । सुरुवाती समयदेखि स्वयम्‌सेवीहरुले आफ्नै खर्चमा कोभिडकनेक्टका लागि काम गर्दै आएका छन् ।

पछिल्लो समय क्रमशः केही संघसंस्थाले समेत सहयोग रकम उपलब्ध गराउने इच्छा देखाएको खड्काले सुनाए । ‘सहयोग रकमबाट बिरामीहरुका लागि निःशुल्क अक्सिजन, एम्बुलेन्स र खाना उपलब्ध गराउने योजना बनाएका छौं,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१