close

आईफोनमा टेलिकमको भीओएलटीई चलाउन एप्पलको विज्ञ टोली

टेकपाना टेकपाना

जेठ ७, २०७८ १३:६

आईफोनमा टेलिकमको भीओएलटीई चलाउन एप्पलको विज्ञ टोली

काठमाडौं । एप्पलले आफ्ना फोनहरुमा नेपाल टेलिकमको भीओएलटीई नचल्ने समस्या देखिएपछि त्यसको समाधानका लागि विज्ञ टोली खटाएको छ । अन्य ब्राण्डका सेटहरुमा भीओएलटीई चल्ने भएपनि आईफोनमा भने एसएमएसको समस्या आएको थियो ।

यसअघि फोरजीमा डेटा चल्ने भएपनि भ्वाइस र एसएमएसका लागि टुजी तथा थ्रीजी नेटवर्क नै प्रयोग हुने गरेको थियो । तर पछिल्लो समय टेलिकमले फोरजीमा आधारित भीओएलटीई सेवा सञ्चालनमा ल्याएपछि अब भ्वाइस र एसएमएस पनि फोरजीमै चल्ने भएको छ ।

तर आईफोनमा भीओएलटीई चलाउँदा एसएमएस डेलिभरी नहुने समस्या देखिएको छ । एप्पलको कमर्सियल टिमले रेस्पोन्स नगरेपछि टेलिकमले सोझै एप्पलका सीईओ टिम कुकलाई ईमेल लेखेको थियो । सोही ईमेलको जवाफ दिँदै टिमकुकले समस्या समाधानका लागि विज्ञ टोलीलाई जिम्मा दिएको जानकारी गराएका हुन् ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीका अनुसार आउँदो जुलाईदेखि आईफोनमा भीओएलटीई सेवा चलाउन सकिने जानकारी दिए । ‘समस्या समाधानका लागि वज्ञ टोली खटाइसकेकाले जुलाईदेखि भीओएलटीई चल्ने जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘त्यसपछिका दिनमा ८०० मेगाहर्जको फोरजी एलटीई समेत आईफोनमा सहजै प्रयोग गर्न सकिनेछ ।’

यसअघि नेपालमा पहिलो पटक फोरजी सेवा सार्वजनिक गर्दा समेत आईफोनमा यस्तै समस्या देखिएको थियो । पछि एप्पलले प्याच पठाएर उक्त समस्याको समाधान गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१