close

नेपाललाई फाइभजीमा अगाडि बढ्न ह्वावेका उपाध्यक्षले दिए यस्तो सुझाव

टेकपाना टेकपाना

जेठ १०, २०७८ ११:४०

नेपाललाई फाइभजीमा अगाडि बढ्न ह्वावेका उपाध्यक्षले दिए यस्तो सुझाव

काठमाडौं । फाइभजी प्रविधिमा विश्वकै अग्रणी कम्पनी ह्वावेका उपाध्यक्ष जे चेनले नेपाललाई प्रविधिको क्षेत्रमा अगाडि बढ्न महत्वपूर्ण सुझाव दिएका छन् । ग्रामीण क्षेत्रमा फोरजी विस्तारलाई जारी राख्दै थ्रीजीमा जस्तै फाइभजीमा समेत अग्रसरता देखाउने उचित मौका नेपाललाई रहेको उनको भनाई छ ।

शनिबार आयोजित ह्वावेको डार्विन हलको भर्चुअल भ्रमण कार्यक्रमलाई सम्बोधन गर्दै चेनले तीव्र डिजिटल रूपान्तरणबाट गुज्रिरहेको देश नेपाल दक्षिण एसियाली क्षेत्रमा थ्रीजी युगमा टेलिकम क्षेत्रका लागि अग्रणी स्थानमा रहेको स्मरण गरेका थिए ।

‘त्यसैअनुरुप फेरी नेपाल फाइभजी क्लवमा प्रवेश गर्न थालिसकेको छ,’ उनले भने, ‘यसले नेपालको सम्पूर्ण टेलिकम उद्योगमा नै थप विश्वसनीयता आर्जन गर्न सघाउनेछ ।’ यद्यपि नेपाल सरकारलाई फाइभजी नेटवर्कको व्यवसायिक सुरुवात गर्नका लागि स्ट्याण्डर्ड, नियमन, फ्रिक्वेन्सी पहिचान, रोल आउट प्लान इत्यादि सम्बन्धी अनुसन्धान, अध्ययन र तयारीको आवश्यकता बढी हुने चेनको सुझाव थियो ।

‘हामी विश्वास गर्दछौं कि फाइभजीको अध्ययन र परीक्षण तयारीको क्रममा नेपालले अझै पनि फोरजी नेटवर्कको देशव्यापी रोल आउट जारी राख्न सक्छ । ग्रामीण क्षेत्रमा अझै पनि धेरै मानिसहरू छन्, जसले अझै फोरजीको लाभ पाउन सकेका छैनन्,’ उपाध्यक्ष चेनले भने ।

त्यसैले, सुरुमा प्रविधि रोल आउट गर्दा ग्रामीण क्षेत्रका लागि फोरजीमा ध्यान दिनुपर्ने र त्यसबाट अधिक मानिसहरूलाई डिजिटल सेवाबाट लाभान्वित गराउन सकिने उनको भनाई थियो ।

भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै ह्वावेका उपाध्यक्ष जे चेन

कार्यक्रमबीच ह्वावेका उपाध्यक्ष चेनले सन् २०२० को वर्ष सबैको लागि कठीन रहेको स्मरण गरे । तर प्रविधिले महामारीको बिरूद्ध लड्न र आर्थिक पुनस्र्थापनालाई तीव्र पार्न गम्भीर भूमिका खेलेको उनले बताए ।

‘यस्ता चुनौतीहरूको सामना गर्दै ह्वावेले पहिले भन्दा अझ नजिकबाट आफ्ना ग्राहक र साझेदारहरुसँग काम गरीरहेको छ । बंगलादेश र नेपाल जस्ता राष्ट्रहरूले यो गतिलाई निरन्तरता दिने कार्यमा उल्लेखनीय प्रगति देखाउँदै छन् ।’

जे चेनले भने, ‘ह्वावेले यो वास्तविक जिम्मेवारी लिन र देशहरुलाई स्टेट–अफ–दि–आर्ट प्राविधिक सहयोग तथा निरन्तर र निर्बाध रूपान्तरणको लागि, एकपछि अर्को स्तरको प्रविधिद्वारा संचालित विकासको लागि आफ्नो दायरा विस्तार गरिरहेको छ ।’

भर्चुअल भ्रमण गराइएको डार्विन हलमा ह्वावेले विश्वको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा हालसालै भएका विकास र यसमा ह्वावेको योगदानलाई प्रदर्शनीमा राखिएको थियो । भर्चुअल भ्रमणमा बंगलादेश र नेपालका पत्रकारकासाथै ह्वावेका उच्च अधिकारीहरूले पनि भाग लिएका थिए ।

ह्वावे एसिया प्रशान्तका उपाध्यक्ष जे चेनले सहभागिलाई स्वागत गर्दै भर्चुअल भ्रमणमा साथ दिएका थिए । प्रदर्शनीमा डिजिटाइजेसनको जबरदस्त सम्भावनाको झलक देख्न सकिन्थ्यो ।

जसमा फाइभजी टीओबी, स्मार्ट म्यानुफ्याक्चरिङ, स्मार्ट पुलिस, स्मार्ट पोर्ट, स्मार्ट सिटी र ओटीएन अल्ट्रा–फास्ट फाइनन्सियल प्राइभेट लेन टुर जस्ता डिजिटाइजेसनबाट सिर्जित प्राविधिक उपलब्धिहरु प्रदर्शन गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१