close

‘गुणस्तरीय भीओएलटीईका लागि ८०० मेगाहर्जमा चल्ने मोबाइल किन्नुहोस्’

टेकपाना टेकपाना

जेठ १०, २०७८ १७:४२

‘गुणस्तरीय भीओएलटीईका लागि ८०० मेगाहर्जमा चल्ने मोबाइल किन्नुहोस्’

काठमाडौं । नेपाल टेलिकमले हालै मात्र नेपालमै पहिलो पटक भीओएलटीई सेवा सुरु गरेको छ । परीक्षणको रुपमा क्रममा सुरु गरिएको यो सेवा प्रयोग गर्न नपाएको गुनासो धेरै प्रयोगकर्ताबाट आउने गरेको छ । 

तर टेलिकमका उपप्रबध्नक निरोल कोजूले त्यसका लागि टेलिकमको साइडमा कुनै समस्या नरहेको दाबी गरेका छन् । टेकपानाले शनिबार आयोजना गरेको दूरसञ्चार नीतिगत बहस श्रृङ्खलामा बोल्दै उनले कुनै सेटमा चल्ने र कुनैमा नचल्ने समस्या रहेको भने स्वीकार गरेका छन् । 

त्यसमा विभिन्न कारणहरु रहेको उनको भनाई थियो । ‘यसका लागि प्रयोगकर्तासँग जुन मोबाइल छ, त्यो आयात गर्दाखेरी नै भीओएलटीई इनेबल भएको थियो कि थिएन भन्ने कुरा आउँछ ।

यदि नेपाल भित्रिनु अघि नै त्यसमा भीओएलटीई इनेबल भएको थियो भने टेलिकमको नेटवर्कमा भीओएलटीई आनन्दसँग चल्छ,’ उनले भने । त्यसमा टेलिकमको तर्फबाट खासै केही गरिराख्नु नपर्ने कोजूले बताए । । 

तर समस्या कहाँनिर भएको छ भने कतिपय ह्याण्डसेट निर्माताहरु छन्, उदाहरणको लागि एप्पलकै कुरा गरौं । आईफोनहरुमा ८०० ब्याण्ड मेगाहर्ज इनेबल अर्थात एक्टिभ भइसकेको छैन । अहिले आईफोनमा १८०० ब्याण्ड मेगाहर्जको फोरजी मात्रै चल्छ ।

एप्पलले आईफोनमा ८०० मेगाहर्ज ब्याण्ड इनेबल गरिदिएको छैन । त्यसका लागि टेलिकमले एप्पललाई ईमेल समेत लेखिसकेको छ ।

टेलिकमले अहिले ८०० र १८०० मेगाहर्ज गरी दुई वटा ब्याण्डमा फोरजी भीओएलटीई सेवा दिइरहेका छ । तर, ग्राहक ८०० वा १८०० जुनसुकै ब्याण्डको फ्रिक्वेन्सीबाट फोरजीमा कनेक्ट भए पनि फोरजी भीओएलटीईका लागि उक्त फिचर इनेबल हुनुपर्छ । 

टेलिकमले कुन कुन कम्पनीको कुन कुन मोडेलहरुमा भीओएलटीई चल्छ भन्ने कुराको जानकारी आफ्नो वेबसाइटमा राखेको छ । त्यो नेपालमा अहिले उपलब्ध भएका ह्याण्डसेटका कुरा मात्रै हो । 

भीओएलटीई चल्नका लागि सबैभन्दा पहिला प्रयोगकर्ताको तपाईंको मोबाइलमा भीओएलटीई फिचर हुनुपर्ने कोजूले बताए । ‘यदि तपाईंको मोबाइलमा यो फिचर छैन भने ह्याण्डसेट नै अपग्रेट गर्नुपर्ने हुन्छ ।

ह्याण्डसेट आफैं त्यसका लागि अपग्रेट हुने होइन, नयाँ नै किन्नुपर्ने हुन्छ,’ उनले भने, ‘नयाँ मोबाइल किन्दा भीओएलटीई फिचर भएको नै लिनुपर्ने हुन्छ ।’ फोरजी ह्याण्डसेटमा १८०० ब्याण्डको फ्रिक्वेन्सी डिफल्ट रुपमा नै हुन्छ ।

तर राम्रो स्पिड तथा कभरेजको लागि १८०० भन्दा ८०० उत्तम हुने भन्दै उपप्रबन्धक कोजूले  ह्याण्डसेट खरिद गर्दा ८०० मेगाहर्जमा समेत फोरजी भीओएलटीई चल्ने कुरा सुनिश्चित गर्न आग्रह गरे । 

‘कुनै कुनै सेटमा भीओएलटीई फिचर भएर पनि निर्माता कम्पनीले आफ्ना सेटहरुमा त्यसलाई इनेबल नगरिसकेका कारणले पनि नचलेको अवस्था छ,’ उनले भने, ‘अब क्रमिक रुपमा कुनै पनि ब्राण्डका जति पनि भीओएलटीई फिचर भएका मोबाइलहरु छन्, त्यसमा यो सेवा इनेबल हुँदै जान्छ ।’ 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१