close

यसरी प्रविधिमैत्री बन्दैछन्, लघुवित्त

टेकपाना टेकपाना

जेठ १२, २०७८ १०:३९

यसरी प्रविधिमैत्री बन्दैछन्, लघुवित्त

काठमाडौं । भनिन्छ, अहिलेको समयमा प्रविधिबाट कोही पनि टाढा रहन सक्दैन । विश्वव्यापी रुपमै प्रविधिले ल्याएको आमूल परिवर्तनले सबैलाई आकर्षित गरिरहेको छ ।

त्यसैले त पछिल्लो समय प्रविधि हाम्रो अपरिहार्य आवश्यकता बन्दै गएको छ । हरेक कुरा प्रविधिसँग जोडिँदै जाँदा प्रयोगकर्तालाई समेत धेरै कुराको सहजता प्राप्त हुँदै गएको छ ।

चाहेर होस् वा नचाहेर, हरेक क्षेत्र प्रविधिलाई आत्मसाथ गर्न बाध्य भइरहेका छन् । अझ कोरोना महामारीले हरेक क्षेत्रलाई आहत दिएको छ । कुनै पनि क्षेत्र यसबाट अछूत छैन ।

यसैबीच प्रविधिको विकास र त्यसको प्रयोगले नयाँ उचाई ग्रहण गरेको छ । निजी क्षेत्रदेखि सरकारी कार्यालयसम्मले यो अविधिमा सकेसम्म प्रविधि आत्मसाथ गर्न खोजिरहेका छन् ।

अहिले हामीले हरेक दिन सुन्ने शब्दहरु हुन्, अनलाइन भुक्तानी, अनलाइन कारोबार, अनलाइन बैंकिङ, होम डेलिभरी, अनलाइन शपिङ । यस्तोमा प्रविधिसँग सबैभन्दा नजिक रहेर काम गर्ने बैंकिङ क्षेत्र अन्तर्गतको लघुवित्त कसरी बाहिर रहन सक्ला ?

७४ ओटा लघुवित्त संस्थाहरुले ग्रामीण भेगमा ५० लाखभन्दा बढी मानिसलाई आर्थिक कारोबारमा समेटेका छन् । प्रविधिबाट लघुवित्त टाढा रहनुको अर्थ ती सेवाग्राही डिजिटल कारोबारबाट बाहिर रहनु हो ।

त्यसैले प्रविधि आत्मसाथ गर्न थालिएको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्तकुमार लम्साल बताउँछन् । उनी भन्छन्, ‘लघुवित्तको व्यावसायिक मोडेल हेर्ने हो भने अझै पनि त्यति धेरै प्रविधिमा जोडिएको छैन । तर, पनि अब हाम्रो प्राथमिकता विद्युतीय भुक्तानी तथा प्रविधिको प्रयोग नै हो ।’

यो समयको माग पनि हो । गत वर्षदेखि जुन रुपमा कोरोना महामारी सुरु भयो, त्यही अनुरुप बैंक तथा वित्तीय संस्थाले डिजिटल प्रविधिलाई प्राथमिकता दिएर सेवा उपलब्ध गराइरहेका छन् ।

अब लघुवित्तले पनि यही बाटो समातेका छन् । ‘लघुवित्तका लागि पूर्वाधार चुनौती हो,’ अध्यक्ष लम्साल भन्छन, ‘हाम्रा ग्राहक प्रविधि र इन्टरनेटको पहुँच कम भएको ठाउँमा छन् । उनीहरुलाई प्रविधिमार्फत जोड्नु चुनौतीको विषय हो । तर, पनि यसको आवश्यकता महसुस भएर संघ-संस्थाहरु मिलेर यसको सुरुवात भने गरेका छौं ।’

पहिलो चरणमा पेमेन्ट सिस्टमलाई कसरी प्रविधिमार्फत जोड्न सकिन्छ भन्नेतर्फ काम भइरहेको छ । त्यसका लागि ई–सेवा, खल्ती, आईएमई पे लगायतका भुक्तानी सेवाप्रदायकसँगको सहकार्य सुरु भएको छ ।

लम्साल भन्छन्, ‘तर अझै लघुवित्तका सेवाग्राहीलाई यो प्रविधिमा कसरी जोडिने भनेर शिक्षा दिने र उनीहरुलाई आवश्यक सेवा तथा सपोर्ट उपलब्ध गराउने कुरा सबैभन्दा खड्किए छ । ईसेवाले पैसा पठाउँछ भन्ने थाहा छ, तर गाउँको मान्छेलाई कसरी पठाउने, कहाँबाट पठाउने भन्ने थाँहा छैन ।’

ग्रामीण भेगका धेरैजसोसँग आफ्नो बैंक खाता छैन । हातमा पैसा हुनेहरुलाई ईसेवा जस्ता वालेटमा पैसा लोड गर्ने र त्यहाँबाट लघुवित्तको किस्ता तथा ब्याज तिर्ने कसरी भन्ने माध्यमको आवश्यकता रहेको छ ।

गाउँगाउँमा रहेको नगदलाई डिजिटल क्यासमा रुपमान्तरण गर्नुपर्ने छ । त्यसो भएको खण्डमा क्रमशः डिजिटल कारोबारले प्रोत्साहन पाउने उनको विश्वास छ । लम्साल अगाडि भन्छन्, ‘यसका लागि राष्ट्रिय तवरमै सहकार्यको आवश्यकता छ । विषेश गरी वालेट कम्पनीले प्रोत्साहन गर्नुपर्छ ।

‘जसमा निःशुल्क कारोबार, वालेटमा राखिएको पैसामा ब्याज लगायतका सेवा उपलब्ध भएको खण्डमा ग्रामीण भेगका मानिस डिजिटल कारोबारमा आकर्षित हुनसक्छन् ।’ वालेट कम्पनीहरुले पनि लघुवित्तलाई डिजिटल कारोबारमा जोड्न आफ्नो तर्फबाट प्रोत्साहन र अभिमुखीकरणका काम गरिरहेको ई–सेवाका बैंक तथा कर्पोरेट रिलेशन प्रमुख आशिष गौतम बताउँछन् ।

उनका अनुसार हालसम्म १२ ओटा लघुवित्त ई–सेवाको सिस्टममा लाइभ भइसकेका छन् । यसको अर्थ १२ ओटा लघुवित्तका सेवाग्राहीले ब्याज तथा किस्ता रकम ईसेवाबाटै भुक्तानी गर्न सक्ने भएका छन् ।

जसमा छिमेक लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, जीवन विकास लघुवित्त, किसान लघुवित्त, लक्ष्मी लघुवित्त, बिजया लघुवित्त, वोमी लघुवित्त, साधना लघुवित्त र निर्धन उत्थान लघुवित्त लगायतका वित्तीय संस्था रहेका छन् । यस्ता संस्थाबाट दैनिक पाँच हजार भन्दा बढी पटकमा ७५ लाख रुपैयाँभन्दा बढी रकम संकलन हुने गरेको ईसेवाका प्रमुख गौतमको भनाई छ ।

यी मध्ये सबैभन्दा राम्रो अवस्था छिमेक लघुवित्तको रहेको छ । छिमेक लघुवित्त बाट नै यो सेवा सुरु भएको हो । त्यहाँबाट मात्रै हाल दैनिक ५० लाखको हाराहारी रकम संकलन हुने गरेको छ ।

क्रमशः अन्य संस्थाहरुको कोरोबार समेत बढ्दै गएको छ । साथै कम्पनीले यही जेठ भित्र २० ओटा संस्थालाई डिजिटल कारोबारमा जोड्ने योजना बनाएको छ । साथै सेवालाई प्रोत्साहन गर्नका लागि ईसेवाले सुरुवाती चरणमा लघुवित्तमा हुने कारोबारमा कुनै शुःल्क लिएको छैन ।

साथै, ई–सेवामा पैसा लोड गर्ने, पैसा तिर्ने लगायतका कामका लागि सहजीकरण गर्न लघुवित्त समूहको एक जनालाई एजेन्टको रुपमा नियुक्त गर्नेगर्ने गरी काम पनि अघि बढाएको छ । यसले समूहका अन्य व्यक्तिलाई पनि डिजिटल कारोबारमा संकोच नहुने कम्पनीको अपेक्षा रहेको छ ।

यसरी डिजिटल कारोबार सुरुवात भएसँगै नेपाल लघुवित्त बैंकर्स संघ अब लघुवित्तका अन्य सेवालाई समेत प्रविधिमा आधारित बनाउने तयारीमा जुटेको छ । संघका अध्यक्ष लम्सालका अनुसार डिजिटल कारोबार मात्रै नभएर कोर बैंकिङ सिस्टम समेत भित्रिएको छ ।

हाल कागजमा आधारित ऋण प्रक्रियालाई डिजिटल बनाउने काम भइरहेको छ । क्रेडिट स्कोरलाई प्रविधिमा आधारित बनाउने कामको सुरुवात भएको छ ।

यी सबै सुरुवाती चरणमै छन् । तर, पनि यो प्रक्रिया अघि बढेको छ । यसले भोलिका दिनमा लघुवित्तलाई पूर्ण रुपमा प्रविधिमा आधारित बनाउन मद्दत गर्ने विश्वास अध्यक्ष लम्सालले व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१