close

एलन मस्कको नयाँ प्रस्तावपछि बिटक्वाइनमा फेरि उत्साह

टेकपाना टेकपाना

जेठ १२, २०७८ ११:३३

एलन मस्कको नयाँ प्रस्तावपछि बिटक्वाइनमा फेरि उत्साह

काठमाडौं । पछिल्लो समय बिटक्वाइनको भविष्यलाई लिएर चिन्ता र बहस भइरहेको छ । विशेषगरी बिटक्वाइन माइनिङले अत्याधिक विद्युत खपत गर्ने र वातावरणमा नकारात्मक प्रभाव पार्ने विचार आउन थालेसँगै मानिसहरू दुई धारमा उभिएका छन् ।

मे महिनाको सुरूवातमै टेस्लाका सीईओ एलन मस्कले क्रिप्टोकरेन्सी माइनिङमा जिवाश्मा इन्धनको अधिक प्रयोग भएको कारण देखाउँदै नवीकरणीय उर्जा प्रयाेग नभएसम्म टेस्लामा बिटक्वाइन कारोबार निषेध गरे । यसपछि बिटक्वाइनको मूल्य नाटकीय रुपमा घट्न थाल्यो ।

तर हालै एलन मस्कको बैठक र अग्रणी बिटक्वाइन माइनरहरूबीचको छलफलले केही आशा प्रदान गरेको छ, फलस्वरूप बिटक्वाइनको मूल्यले पुनः उचाइ प्राप्त गरेकाे छ । सो बैठकले नयाँ बिटक्वाइन माइनिङ काउन्सिल स्थापना गरेको छ, जसले ऊर्जा उपयोग पारदर्शितालाई बढावा दिने र माइनिङ (खानी) लाई नवीकरणीय स्रोतको प्रयोग गर्न प्रोत्साहन गर्ने जनाइएको छ ।

बिटक्वाइन सिर्जनाको प्रक्रियाले ठूलो मात्रामा विद्युत खपत गर्दछ । क्याम्ब्रिज बिटक्वाइन विद्युत उपभोग सूचकांकका अनुसार समग्रमा नेदरल्याण्ड देशले भन्दा बढी विद्युत उपभोग बिटक्वाइनले गर्छ ।

बिटक्वाइन माइनरहरूसँगकाे छलफलपछि मस्कले ट्वीट गर्दै नवीकरणीय उर्जाको वर्तमान र योजनाबद्ध प्रयोगको विवरण प्रकाशित हुने बताएका छन् र यसबाट भविष्यमा आशावादी हुन सकिने संकेत गरेका छन् ।

एलन मस्कले अघि सारेको ‘ग्रिन’ माइनिङ सोलुसनकाे प्रस्ताव र अर्बपति रे डेलियोले बिटक्वाइनमा लगानी गरेपछि यसको बजार मूल्यमा सुधार देखिन थालेको छ । आइतबार बिटक्वाइनको मूल्य गत महिनाको उच्च मूल्यको झण्डै ५० प्रतिशत कम अर्थात् ३१ हजार डलर थियो । अहिले भने ३७ हजार डलरकाे भन्दा माथि काराेबार भइरहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१