close

सावधान ! सित्तैमा रेड्मी नोट १० प्रो पाउने लोभमा साइबर हमलामा पर्नुहोला

टेकपाना टेकपाना

जेठ १२, २०७८ २०:२५

सावधान ! सित्तैमा रेड्मी नोट १० प्रो पाउने लोभमा साइबर हमलामा पर्नुहोला

काठमाडौं । ‘हामी तपाईंलाई साओमी रेड्मी नोट १० प्रो फोनका लागि २० विजेताहरू प्रस्तुत गर्दछौं, अब सही तरिकाले दर्ता गर्नुहोस्, र हामी २४ घण्टाभित्र प्रत्यक्ष प्रसारणमा विजयी फिर्ताको घोषणा गर्नेछौं ।’ यदि यही पाेस्ट फेसबुकमा देखिरहनु भएकाे छ भने हत्तपत्त त्यहाँ दिइएकाे लिंकमा क्लिक नगर्नुहाेस् ।

यदि त्याे लिंक खाेल्नुभयाे भने तपाईं साइबर हमलामा पर्नु सक्नुहुन्छ । यसबाट तपाईंकाे अनलाइन अकाउन्टका लगइन डिटेल्स नै चाेरी गरेर ह्याकरले अपराध गर्न थाल्छन् ।

पछिल्लाे समय साओमी नेपाल नामकाे नक्कली फेसबुक पेजबाट निरन्तर यस्ता भ्रमपूर्ण पाेस्ट आउने गरेका छन् । धेरै प्रयोगकर्ताले हत्तपत्त लिंक खोल्ने गरेको पाइन्छ । पाेस्टमा देखाइएकाे नक्कली अफर सत्य झैं लागेर लिंक खाेल्दा उनीहरू फिशिङ हमलाको शिकार बनिरहेका छन् ।

साओमी नेपालको नाम र फोटो दुरुपयोग गर्दै फेक पेजबाट प्रयोगकर्ताको गोप्य विवरण चोरी भइरहेको पाइएको छ । यस्तो पेजमा भ्रमपूर्ण प्रचार गरी प्रयोगकर्ताको व्यक्तिगत विवरण र सूचना संकलन भइरहेको छ ।

उपहारको लोभमा त्यहाँ उपलब्ध गराइएको लिंकमा क्लिक गर्दा फिशिङ र स्क्यामको शिकार भइने भन्दै सुरक्षा जानकारहरूले सावधानी अपनाउन आग्रह गरेका छन् ।

साओमी नेपालले पनि एक सूचना जारी गर्दै फेक पेजबाट सतर्कता अपनाउन अनुरोध गरेको छ । कम्पनीले त्यस्ता पेजमा मागिएको व्यत्तिगत विवरण र सूचना शेयर नगर्न सचेत गराएको छ । साथै कम्पनीले फेसबुकमा साओमी नेपालको आधिकारिक (निलो ब्याज भएकाे भेरिफाइड) पेज चेक गरेरमात्र जानकारी लिन अनुराेध गरेकाे छ ।

पछिल्लाे केही महिनादेखि साओमी नेपाल, विभिन्न दूरसञ्चार सेवाप्रदायकहरुको प्रोफाइल पिक्चर र नाम प्रयोग गरेर फिशिङ हमला भइरहेको छ । त्यति मात्रै हाेइन, व्यक्तिकाे नाममा समेत विभिन्न कम्पनीकाे अफर भन्दै पाेस्ट भइरहेका छन् ।

नेपाललगायत विभिन्न मुलुकमा सञ्चालन भएको यस्तो फेसबुक फिशिङ स्क्याममा लाखौं फेसबुक प्रयोगकर्ताहरुको लगइन क्रेडेन्सियल चोरी भइरहेकाे छ ।

यो फिशिङ क्याम्पियनबाट नेपाल, इजिप्ट, फिलिपिन्स, ट्युनिशिया, पाकिस्तान र अन्य मुलुकका प्रयोगकर्ताहरुको फेसबुक लगइन क्रेडेन्सियलहरु चोरी भइरहेको पाइएकाे छ ।

यो क्याम्पियन अन्तर्गत ह्याकरहरुले विभिन्न मुलुकको स्थानीय फेसबुक पोस्ट तथा पेजहरुको नक्कल गरी तिनै मुलुकसँग मिल्ने किसिमका विज्ञापन तथा अफरहरुको लोभमा पारेर मानिसहरुलाई फिशिङको शिकार बनाइरहेका छन् ।

होस्टेड फिशिङ साइटमा प्रयोगकर्ताहरुका लागि लगइन प्यानल राखिने गरेकाे पाइएकाे छ । जहाँ लगइन गरिसकेपछि प्रयोगकर्ताहरुको लगइन क्रेडेन्सियल ह्याकरको हातमा पुग्छ ।

त्यसो त फेसबुकले यसअघि नै त्यस्ता किसिमका फिशिङ पेज निर्मुल गर्न एडका लागि अप्रुभ गर्न बन्द गरेको छ । तर स्क्यामरहरुले बिट्ली लिङ्क प्रयोग गर्ने गर्छन्, जुन सुरुमा हेर्दा एउटा इमान्दार पेज जस्तो देखिन्छ । तर अप्रुभ भइसकेपछि ती सबै फिशिङ डोमेनमा परिवर्तन हुन्छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा प्रतिष्ठित कम्पनीको जस्तै देखिने पेज बनाएर फिशिङ गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसरी प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत विवरण राख्न लगाउने र उनीहरुको अकाउन्ट ह्याक गर्ने जालको रुपमा फिशिङ आक्रमण गर्ने गतिविधि मौलाएको छ ।

यसकारण तपाईंले पनि कम्पनीको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पेज पहिचान गरेर मात्रै आवश्यक जानकारी लिनु राम्राे हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१