close

‘मोबाइल सेवामा मात्रै होइन, नेपालमा आउने इन्टरनेटमा पनि डुओपोली छ’

टेकपाना टेकपाना

जेठ १५, २०७८ १५:१७

‘मोबाइल सेवामा मात्रै होइन, नेपालमा आउने इन्टरनेटमा पनि डुओपोली छ’

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का अध्यक्ष सुधिर पराजुलीले नेपालमा भित्रिने इन्टरनेटमा डुओपोली भइरहेको गुनासो गरेका छन् । टेकपाना मिडियाको आयोजनामा शनिबार भएको दूरसञ्चार नीतिगत श्रृंखला कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले इन्टरनेट ब्याण्डविथका लागि दुई वटा सेवाप्रदायकसँग मात्रै निर्भर बन्दा चुनाैती देखिएकाे भनाइ राखे ।

‘मोबाइल सेवामा मात्रै होइन, नेपालमा आउने इन्टरनेटमा पनि डुओपोली छ । अहिले भारतका टाटा र एयरटेलबाट मात्र यहाँ इन्टरनेट आइरहेको छ । हामीले ल्याउने ब्याण्डविथ सीमित प्रदायकबाट ल्याउँदा इनपुट कस्ट बढ्न जान्छ,’ उनले भने ,।

उनले अगाडि भने, ‘भारतमै ७/८ वटा सेवाप्रदायक छन् । चीनमा पनि ३/४ वटा सेवाप्रदायक छन् । हाम्राे इनपुट कस्ट घटाउनका लागि पनि उनीहरुलाई नेपालमा आएर व्यवसाय गर्न प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।’

माेबाइल डेटामा दक्षिण एसियामा नेपालको इन्टरनेट धेरै महंगो देखिए पनि फिक्स्ड ब्राेडब्याण्ड सेवा सन्ताेषजनक रहेकाे उनकाे तर्क छ ।

‘पर क्यापिटा जीएनआईको नोभेम्बर २०२० को आईटीयू प्रक्षेपण २०२५ को टार्गेट हामीले अहिले नै पुरा गरिसकेका छौं,’ उनले भने, ‘नेपालमा गरिबीको रेखामुनी धेरै जनता छन् । डिजिटल पहुँच हुने र नहुनेको याे अन्तर पुर्न हामीले धेरै काम गर्नुपर्ने देखिन्छ ।’

आईटीयूले ल्याएकाे नयाँ अवधारणा अनुसार नेपालले पनि समुद्री पहुँचमा आफ्नो अधिकार राख्नुपर्नेमा उनले जाेड दिए । ‘भारतसँग कुरा गरेर हामीले आफ्नै समुद्री पहुँच बनाउन सक्छौं,’ उनले भने ।

इन्टरनेट सेवामा करकाे संरचना उच्च भएपनि नेपालका सेवाप्रदायककले सस्ताे मूल्यमा इन्टरनेट दिइरहेकाे उनले दाबी गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३