close

फाइभजीका लागि भारतले छुट्यायो फ्रिक्वेन्सी, ६ महिनाभित्र परीक्षण सुरु

टेकपाना टेकपाना

जेठ १६, २०७८ ८:११

फाइभजीका लागि भारतले छुट्यायो फ्रिक्वेन्सी, ६ महिनाभित्र परीक्षण सुरु

काठमाडौं । भारतको दूरसञ्चार विभागले भारतमा फाइभजी परीक्षणका लागि दूरसञ्चार सेवाप्रदायकलाई फ्रिक्वेन्सी वितरण सुरु गरेको छ । दिल्ली, मुम्बई, कलकत्ता, बैंग्लोर, गुजरात, हैदरावाद लगायतका स्थानमा फाइभजी परीक्षण गरिने बताइएको छ ।

रिपोर्ट अनुसार दूरसञ्चार सेवाप्रदायकले पञ्जाव, हरियाणा र केन्द्र शासित प्रदेश चन्डिगढका लागि समेत स्पेक्ट्रम छुट्याइएको छ । भारतीय सञ्चार माध्यममा उल्लेख भएअनुसार दूरसञ्चार सेवाप्रदायकलाई ७०० मेगाहर्ज ब्याण्ड, ३.३ देखि ३.६ गिगाहर्ज ब्याण्ड र २४.२५ देखि २८.५ गिगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी फरक फरक स्थानका लागि छुट्याइएको छ ।

४ मे २०२१ मा भारतको दूरसञ्चार विभागले रिलायन्स जियो, भारती एयरटेल, भोडाफोन आइडिया र एमटीएनएलको एप्लिकेसनका लागि फाइभजी परीक्षणका लागि सहमति दिएको थियो । यद्यपी फाइभजी परीक्षणका क्रममा कुनै पनि चिनियाँ कम्पनीको प्रविधि बिना नै फाइभजी परीक्षण गर्नुपर्ने भारतीय दूरसञ्चार विभागको निर्देशन छ ।

विभागको तर्फबाट फाइभजी परीक्षणका लागि एरिक्सन, नोकिया, सामसङ र सी डट जस्ता कम्पनीलाई समेत सहमति प्रदान गरिएको छ । रिलायन्स जिओ इन्फोकमले भारतीय प्रविधिको प्रयोगमा फाइभजी परीक्षण गर्ने उल्लेख छ । भारतमा परीक्षण हुने फाइभजी प्रविधि फोरजीको तुलनामा १० गुणा फास्ट हुने अपेक्षा गरिएको छ ।

परीक्षणको दौरान टेलिमेडिसिन, टेलिएजुकेसन र ड्रोनबाट कृषि बाली अनुगमनमा फाइभजी प्रयोग गरिनेछ । साथै दूरसञ्चार कम्पनीहरुले आफ्नो नेटवर्कमा कयौं प्रकारका डिभाइसको समेत परीक्षण गर्नेछन् । फाइभजी परीक्षण गर्न ६ महिनाको अवधि दिइएको छ ।

जसमा खरिद तथा उपकरण जडानका लागि दुई महिनाको अवधि दिइएको छ । सेवाप्रदायकलाई ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत फाइभजी परीक्षण गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३