close

स्टार्टअपलाई साउन १ देखि नै च्यालेञ्ज फण्डः अर्थसचिव

टेकपाना टेकपाना

जेठ १७, २०७८ १२:३४

स्टार्टअपलाई  साउन १ देखि नै च्यालेञ्ज फण्डः अर्थसचिव

काठमाडौं । अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले बजेट अनुरुप स्टार्टअपलाई दिइने सहुलियत ऋणका लागि प्रकृयागत सहजता कायम गरिने बताएका छन् । आर्थिक पत्रकार समाज नेपाल (सेजन) ले आयोजना गरेको बजेटपछिको अन्तरक्रियामा बोल्दै उनले साउन १ देखि नै कर्जा प्राप्त गर्नसक्ने गरी आवश्यक व्यवस्था मिलाइने बताएका हुन् ।

यसअघिका बजेटमा उल्लेखित म्युचुअल फण्ड उपलब्ध गराउने व्यवस्था कार्यान्वयन हुन नसकेको भन्ने प्रश्नमा उनले प्रकृयागत जटिलता र असहजता अन्त्य गर्दै कार्यान्वयन प्रभावकारी बनाइने बताए । आगामी आर्थिक वर्षको मौद्रीक नीतिले समेत त्यसलाई सम्बोधन गर्ने उनको भनाई थियो ।  

‘यसबाट हामीले उद्यमशिलताको क्षमता भएका युवाहरुलाई प्रोत्साहन दिन खोजेका छौं,’ उनले भने । यो व्यवस्था बैंकहरुले कार्यन्वयन गर्ने भएकाले त्यसलाई हामी बाध्यकारी रुपमा कार्यान्वयन कार्यान्वयनमा लैजान सकिने सचिव ढुंगानाको भनाई थियो । सरकारले बजेटमार्फत स्टार्टअप व्यवसाय विकासका लागि एक अर्ब रुपैयाँको च्यालेन्ज फन्ड स्थापना गरेको छ । 

‘त्यसको कार्यान्वयनमा सन्दर्भमा सञ्चालन मोडालिटी र संस्थागत संरचनामा केही समस्या आएको थियो । यस पटक भने साउन १ गतेदेखि नै फण्ड उपलब्ध गराउने योजनाका साथ तयारी थालेका छौं,’ सचिव ढुंगानाले भने, ‘स्टार्टअप विकास गर्ने योजना अनुरुप च्यालेञ्ज फण्ड स्थापनाको परिकल्पना गरिएको हो ।’

निजी क्षेत्रसँगको राय परामर्श समेत लिएर च्यालेञ्ज फण्ड परिचालन गरिने उनको भनाई थियो । उनले सचिव ढंगानाले अगाडि भने, ‘स्टार्टपमा लागेका युवाहरु समेतको संलग्नतामा फण्ड कार्यान्वयन गरिनेछ  ।’ त्यस्तै आफ्नो क्षमता प्रदर्शन गर्न चाहेका तर धितो राख्न नसक्ने युवाहरुको उद्यमशिलता विकासका लागि शर्टिफिकेट धितोमा सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिएको उनले बताए ।

‘हामीले स्टार्टअपलाई केवल सरकारको क्षेत्रबाट मात्र नभएर निजी क्षेत्रबाट समेत सहायता उपलब्ध गराउने कार्यक्रम ल्याएका छौं । आफ्नो व्यवसायको क्षेत्रभन्दा बाहिरका ५ वटा स्टार्टअपलाई प्रति व्यवसाय १  लाखसम्मको बीउ पुँजी उपलब्ध गराएमा सो रकम करयोग्य आय गणना गर्दा कट्टी गर्न पाउने व्यवस्था गरिएको छ,’ उनले भने, ‘यसले विशेषतः स्टार्टअप र स्वदेशमै विकास भएका आन्ट्रप्रेनर व्यवसायलाई बल पुग्छ भन्ने हाम्रो मान्यता हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३