close

देशभरका १४ हजार केन्द्रहरुमा पुग्यो निःशुल्क इन्टरनेट, तीन अर्ब खर्च

टेकपाना टेकपाना

जेठ १८, २०७८ १०:४३

देशभरका १४ हजार केन्द्रहरुमा पुग्यो निःशुल्क इन्टरनेट, तीन अर्ब खर्च

काठमाडौं । देशैभरका विभिन्न किसिमका सरकारी केन्द्रहरुमा ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने काम करिब अन्तिम चरणमा पुगेको छ । करिब १६ हजार त्यस्ता केन्द्रहरुमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्यअनुरुप अघि बढाइएका परियोजना अन्तर्गत वैशाखसम्म १३ हजार ७ सय केन्द्रहरुमा जडान सम्पन्न भएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न १८ ओटा प्याकेजमा यो परियोजना अन्तर्गत स्थानिय निकायका कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडान गर्ने कार्यक्रम अगाडि बढाएको थियो । जसअनुसार वैशाखसम्म ६३१ स्थानीय निकायको कार्यालयमा इन्टरनेट जडान भइसकेको छ ।

त्यस्तै ५ हजार ६७ वडा कार्यालय, ३ हजार ५ सय ६५ स्वास्थ्य संस्था र ४ हजार ४३७ माध्यमिक विद्यालयमा इन्टरनेड जडान सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । यसरी जडान गरिएको इन्टरनेट सम्बिन्धत केन्द्रहरुले दुई वर्षसम्म निःशुल्क प्रयोग गर्न पाउँनेछन् ।

प्राधिकरणका अनुसार यो परियोजनाको ८५.७२ प्रतिशत भौतिक प्रगति हासिल भइसकेको छ । परियोजनाका लागि छुट्याइएको ५ अर्ब ६७ करोड रुपैयाँमध्ये हालसम्म दुई अर्ब ९८ करोड रुपैयाँ खर्च भइसकेको पनि प्राधिकरणले जानकारी दिएको छ । कुल वित्तीय विनियोजन मध्ये यो ५२.५२ प्रतिशत वित्तीय प्रगति रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३