close

आईटी उद्यमी उज्ज्वल थापाको निधन

टेकपाना टेकपाना

जेठ १८, २०७८ १७:२६

आईटी उद्यमी उज्ज्वल थापाको निधन

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष एवं आईटी उद्यमी उज्ज्वल थापाको निधन भएको छ । ललितपुरस्थित नेपाल मेडिसिटीमा उपचाररत थापाको मंगलबार निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

कोरोना र निमोनिया देखिएपछि उनी करिब तीन साताअघि राजधानीकाे ह्याम्स अस्पताल भएका थिए । स्वास्थ्यमा सुधार नदेखिएपछि उनलाई ह्याम्सबाट ग्राण्डी अस्पतालमा रिफर गरिएको थियो ।

इक्मो प्रविधिबाट उपचार गर्न गत शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा ल्याइए पनि स्वास्थ्य स्थितिमा भने सुधार आउन सकेको थिएन ।

आईटी उद्यमी, सामाजिक अभियान्ता हुँदै विवेशकील नेपाली दलको नामबाट उनले राजनीति थालेका थिए । सूचना प्रविधि क्षेत्रमा उनलाई धेरै युवाले पदप्रदर्शकका रुपमा उनलाई सम्मान गर्छन् । उनी आन्ट्रप्रेनर्स फर नेपाल एवं वर्डप्रेस नेपाल कम्युनिटीका संस्थापक समेत हुन् ।

उनले स्थापना गरेको डिजिटल म्याक्स सोलुसन्स नामक आईटी कम्पनीले वृद्धि गर्न नसकेपछि त्यसबाट हात झिकेका थिए । उक्त कम्पनी उनले त्यहाँ काम गर्ने कर्मचारीहरुलाई नै जिम्मा लगाएका थिए । स्याङ्जा घर भएका उनले सन् २००८ तिर एक्सोटिक बुद्ध नामक ट्राभल पोर्टल समेत बजारमा ल्याए ।

तर त्यसले पनि अपेक्षित सफलता हासिल गर्न नसकेपछि सन् २०१४ मा आएर बन्द भयो । आफ्नो बचत र समय नेपाली ट्राभल पोर्टलमा लगाएका उनले त्यसबाट आम्दानी गर्न नसकेपछि बन्द गरेका थिए ।

यति मात्र होइन, सन् २००६ सालमै उनले रोजगारी खोज्न सकिने साइट डीएमएस लिस्ट सञ्चालनमा ल्याए । तर त्यो पनि सन् २०१२ सम्म आइपुग्दा बन्द गर्नुपर्‍यो । उनी त्यसलाई विश्वभर नेपालीहरुले बनाएका रोजगार सूचीकरण साइटको छाता बनाउन चाहन्थे । त्यसले आम्दानी गर्न नसकेपनि त्यस्तै अन्य साइटहरु बन्न उत्प्रेरित गर्न सकेकोमा उनी सन्तुष्टी महसुस गर्थे ।

उनले अनलाइन न्युजो पोर्टल समेत ल्याए । न्युजफिड डटकम डट एनपी नामक उक्त साइटको आयू पनि सन् २०१० देखि २०१२ को मात्रै रह्यो । उनी त्यसलाई नेपालसम्बन्धी सबै समाचार एकै स्थानमा पढ्न सकिने साइटको रुपमा विकास गर्न थाहन्थे । त्यसप्रतिको रुचि पैदा गर्न नसकेपछि बन्द गरेर अगाडि बढ्नुपरेको उनी बताउने गर्थे ।

स्याङ्जाको सामान्य परिवारमा जन्मिएका उनी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा ४ कक्षामा भर्ना भए । सानैदेखि फरक काम गर्न रुचाउने उनले बेलायतबाट लिइएको ए लेभलको अंग्रेजी साहित्यको परीक्षामा अक्षरमा उत्तर नलेखी कार्टुन बनाएर उत्तर दिएका थिए ।

शिक्षक एवं साथीहरूले उनको कामलाई पागलपन भनेर जिस्क्याए पनि उनलाई बेलायती परीक्षाबोर्डले धेरै जिस्क्याउने साथीहरूको भन्दा उच्च अंकमा पास गरेर पठायो । केही समयपछि अमेरिका पुगेका उज्वल मल्टी-मिडियामा स्नातक गरेर चर्चित सर्च इन्जिन याहुड टकमसम्म पुगेका थिए ।

अमेरिकामा राम्रो दाम कमाउने सम्भावना हुँदाहुँदै पनि उनी नेपाल फर्किएपछि धेरैले सन्काहा भनेका थिए । किनभने नेपाली समाजमा जो पैसा कमाउने बाटोमा लाग्छ, उसलाई असल भन्ने चलन छ । उनले आफ्नो मनको कुरा सुने । अमेरिका उनलाई आफ्नो ठाउँ जस्तो लागेन र नेपाल फर्किए

यद्यपि उनी जागिर नै नखाई नेपाल फर्किए । कहिले बन्दविरोधी आन्दोलन त कहिले युवा उद्यमीलाई एकजुट पार्ने अभियान चलाइरहेका उज्वलले ‘विवेकशील नेपाली’ नाममा युवाहरूलाई संगठित गरेका थिए ।

आईटी उद्यमशिलता समेत सुरु गरेका उनले विवेकशिल नेपालीको राजनीति सुरु गरेपछि त्यसबाट विदा लिएका थिए । यद्यपि त्यस पछिका दिनमा समेत पूर्णकालिन रुपमा रोजगारीमा नलागेका उनी फ्रिल्यान्सिङको काम गर्दै आएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३