close

आईफोनपछि अब एन्ड्रोइडमा ‘एन्टी ट्रयाकिङ टुल’, विज्ञापनबाट पैसा कमाउने एपलाई धक्का पुग्ने

टेकपाना टेकपाना

जेठ २१, २०७८ १४:२०

आईफोनपछि अब एन्ड्रोइडमा ‘एन्टी ट्रयाकिङ टुल’, विज्ञापनबाट पैसा कमाउने एपलाई धक्का पुग्ने

काठमाडौं । गुगलले आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टममा एन्टी ट्रयाकिङ टुल ल्याउने तयारी गरेको छ । यो टुल प्रयोग गरी एन्ड्रोइड प्रयोगकर्ताले मोबाइल एप डेभलपरलाइ आफ्ना डेटामा पहुँच राख्न दिने या नदिने भनेर निर्णय लिन सक्छन् ।

एप्पलले केही समयअघि सार्वजनिक गरेकाे आईओएस १४.५ मा पनि एप ट्रयाकिङ ट्रान्सपरेन्सी टुल सार्वजनिक भएकाे थियाे । एप्पलकै कदम पछ्याउँदै गुगलले यही वर्षदेखि याे प्राइभेसी टुल कार्यान्वयनमा ल्याउने तयारी गरेकाे छ ।

अल्फाबेट इंक युनिटले आफ्नो सपोर्ट वेबसाइटमा उल्लेख गरेको जानकारी अनुसार एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले सर्भिस अपडेटमा यो अप्सन सन् २०२१ को अन्त्यतिर पाउनेछन् । कम्पनीले एन्ड्राेइड १२ सँगै याे फिचर सुरूवात गर्ने तयारी गरेकाे हाे ।

प्रयोगकर्ताले एपमा आउने विज्ञापन अस्वीकार गरे एप डेभलपरले प्रयोगकर्ताको युनिक एडभर्टाइजिङ आईडी देख्न पाउनेछैनन् ।

एन्ड्राेइड फाेन र ट्याब्लेटमा यस्ताे टुल कार्यान्वयनमा आएपछि प्रयाेगकर्ताकाे चाहना ट्रयाक गरी विभिन्न अनलाइन एड देखाएर पैसा कमाउने एप र वेबसाइटहरुलाई अप्ठ्याराेमा पार्ने विश्लेषण गरिएकाे छ ।

हाल कतिपय एपहरुले प्रयोगकर्ताको गोपनीयतामा निगरानी राखेको र विभिन्न विज्ञापनमार्फत् गोप्य सूचना संकलन गरिरहेको गुनासो बढिरहेको छ ।

गुगल आफैंमा डिजिटल विज्ञापनका लागि कहलिएको कम्पनी हो । यसले विज्ञापनमार्फत् एन्ड्रोइड डिभाइसका प्रयोगकर्ताबाट अर्बौं रकम कमाइरहेको छ ।

यस्तो आंशका गरिएकाे छ कि धेरै मानिसहरुले अनलाइन मोनिटरिङ गर्ने एप र वेबसाइटलाई निषेध गर्नेछन्, जसका कारण एडमार्फत नै धेरै हिस्सा कमाउने एपहरुलाई झड्का लाग्नेछ ।

यो टुलले मानिसहरुको चाहना अनुसारका विभिन्न अनलाइन एड देखाएर पैसा कमाउने एप र वेबसाइटहरुलाई रोक्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३