सेवाप्रदायकले इन्टरनेटमा किन लगाउँछन् एफयूपी ?

Fair Usage Policy FUP

काठमाडौं । विश्वका कतिपय मुलुकमा भोल्युम बेस अर्थात मोबाइल डेटामा जस्तै एफटीटीएच इन्टरनेट पनि निश्चित भोल्युम (जीबी) को रुपमा प्याकेज उपलब्ध गराउने चलन छ । तर नेपालमा भने सेवाप्रदायकहरुले निश्चित एमबीपीएस स्पिडका प्याकेज अनलिमिटेड इन्टरनेटको रुपमा उपलब्ध गराउँदे आएका छन् ।

अनलिमिटेड भनिए पनि यी प्याकेज वास्तवमै अनलिमिटेड भने होइनन् । किनभने सेवाप्रदायकहरुले विदेशबाट ल्याएको अन्तर्राष्ट्रिय ब्याण्डविथमा स्थानीय सर्भरमा क्याशको रुपमा रहेको ब्याण्डविथ आफ्ना प्रयोगकर्ताका लागि छुट्याएका हुन्छन् ।

सामान्य घरायसी प्रयोगकर्ताले लिने इन्टरनेट शेप्याकेजहरु शेयरिङ हुने गरी तयार पारिरहेका हुन्छन् । यसको अर्थ निश्चित इन्टरनेट ब्याण्डविथको प्याकेज ४ देखि ८ वटा घरमा वितरण गरिएको हुन्छ । यसरी शेयर गरिएको इन्टरनेट कुनै प्रयोगकर्ताले धेरै प्रयोग गर्दा अन्य प्रयोगकर्ताले औषत इन्टरनेट ब्याण्डविथ समेत नपाउने जोखिम रहन्छ ।

त्यसैले औषतमा एक जना प्रयोगकर्ताका लागि अधिकतम ब्याण्डविथत डेटा छुट्याइएको हुन्छ । जसलाई एफयूपी अर्थात फेयर युसेज पोलिसी भन्ने गरिन्छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल १ लाइन फिक्स्ड इन्टरनेट औषतमा ४.५ जनाले प्रयोग गरिरहेका हुन्छन् ।

तर कुनै कुनै लाइनमा भने दर्जनौं प्रयोगकर्ता हुने वा त्यही एउटा लाइन दुई/तीन वटा घरमा मिलेर चलाउने अभ्यास पनि भइरहेको हुन्छ । अर्कोतर्फ उच्च ब्याण्डविथ खपत गर्ने एप्लिकेसन चलाउने प्रयोगकर्ता समेत हुन्छन् । धेरै ब्याण्डविथ खपत गर्ने १० प्रतिशत प्रयोगकर्ताले इन्टरनेट सेवाप्रदायकको कूल ब्याण्डविथको ५० प्रतिशतभन्दा बढी खपत गरिरहरेका हुन्छन् ।

यस्ता प्रयोगकर्तामाथि एफयूपीको सीमाले लगाम लगाउँछ र उनीहरुले बढी खपत गर्ने ब्याण्डविथ अन्य प्रयोगकर्तालाई स्तरीय सेवा दिन तथा नयाँ प्रयोगकर्ता थप गर्न उपयोग हुन्छ । नेपाली इन्टरनेट बजारमा एफयूपी नियमनमा भने छैन । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यसका लागि कुनै मापदण्ड तय नगरेका कारण सेवाप्रदायकपिच्छे आ-आफ्नै एफयूपी छ ।

यस्तोमा सेवाप्रदायकहरुले आफ्नो सहजता अनुसार एफयूपी तयार पारेका हुन्छन् । हरेक प्रयोगकर्ताले कति जीबी ब्याण्डविथ खपत गरिरहेको छ भन्ने रेकर्ड आईएसपीले राखेका हुन्छन् । त्यसै आधारमा उनीहरुले एफयूपीको सीमा तय गर्छन् । ब्याण्डविथ खपत गर्ने र एफयूपी लागू गर्ने सफ्टवेयर, अल्गोरिदम र प्रक्रिया समेत आईएसपीअनुसार फरक पर्न सक्छ ।

यसरी तय हुन्छ एफयूपी लिमिट

सामान्यतया एफयूपीको सीमा तय गर्दा अधिकतम ब्याण्डविथ खपत गर्ने ५ प्रतिशत प्रयोगकर्ता र थोरै ब्याण्डविथ गर्ने ५ प्रतिशत प्रयोगकर्तालाई गणनाबाट हटाइन्छ । बाँकी रहेका ९० प्रतिशत प्रयोगकर्ताले खपत गरेको कूल ब्याण्डविथलाई प्रयोगकर्ता संख्याले भाग गरी एफयूपी सीमा तय गरिन्छ ।

यसरी तय गरिएको एफयूपी सीमा सधैं एकनासको हुन्छ भन्ने पनि होइन । ब्याण्डविथ खपतको ढाँचा पनि समयअनुसार फेरिँदै गइरहेको हुन्छ । त्यसअनुसार हरेक महिनाको एफयूपी फरक पर्न सक्ने सेवाप्रदायकहरु बताउँछन् ।

कतिपय आईएसपीले यसका लागि स्वचालित सिस्टम समेत राखेका हुन्छन् । लगातार एफयूपी सीमा नाघ्दा सेवाप्रदायकले त्यसको नोटिफिकेसन सम्बन्धित प्रयोगकर्तालाई पठाइरहेका हुन्छन् । त्यसका बाबजुत धेरै ब्याण्डविथ खपत गर्न नरोकिएको अवस्थामा प्राप्त गरिरहेको इन्टरनेट स्पिड घटाइदिने अभ्यास प्रचलनमा छ ।

हुन त तपाईंलाई आफूले धेरै ब्याण्डविथ खपत नगरेको भन्ने पनि लाग्न सक्छ । यस्तोमा टोरेन्ट जस्ता सफ्टवेयर आफ्नो डिभाइसमा राख्नु भएको वा भाइरसले संक्रमण भएको छ वा वाईफाईको पासवर्ड चोरी गरेर अरुले इन्टरनेट प्रयोग गरिरहेको पनि हुनसक्छ । ५० प्रतिशत प्रयोगकर्तालाई आफ्नो इन्टरनेटको ब्याण्डविथ बढी खपत हुँदा समेत जानकारी नहुने सेवाप्रदायकको अनुभव छ ।

तपाईंलाई लाग्न सक्छ, अनलिमिटेड भनेर किनेको इन्टरनेट स्पिड प्याकेज अवधिभर प्रयोग गर्न किन नपाउने ? यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने सेवाप्रदायकले दुई प्रकारका प्याकेज शेयर्ड र डेडिकेटेड इन्टरनेट बिक्री गरिरहेका हुन्छन् । यदि तपाईंले आफ्नो घरमा जडान गरेको इन्टरनेट शेयर्ड हो ।

डेडिकेटेड इन्टरनेट शेयर्ड भन्दा निकै महंगो हुने गर्दछ । डेडिकेटेड इन्टरनेटमा तपाईंले हर बखत भनेजति इन्टनरनेट स्पिड पाउने ग्यारेन्टी हुन्छ, त्यस्तो इन्टरनेटमा भने एफयूपी लागू हुँदैन । तर तपाईं हामीले घरमा चलाउने इन्टरनेट भनेको शेयर्ड इन्टरनेट हो । यसमा भने एफयूपी लागू हुन्छ ।

सेवाप्रदायक पिच्छे एफयूपीको सीमा फरक फरक हुन्छ । किनभने तपाईंले इन्टरनेट प्रयोग गरिरहेको कम्पनीले कूल ब्याण्डविथ कति खरिद गरेको छ र त्यो ब्याण्डविथ कति प्रयोगकर्तालाई बिक्री गरिएको छ भन्ने कुरामा भर पर्छ ।

कुनै सेवाप्रदायकले ब्याण्डविथ धेरै लिएको हुनसक्छ र प्रयोगकर्ता थोरै हुनसक्छन् । यस्तोमा त्यस्तो कम्पनीले एफयूपी लिमिट धेरै राखेको हुनसक्छ । अर्को भनेको ब्याण्डविथ थोरै लिएर धेरै प्रयोगकर्तालाई बिक्री गर्ने सेवाप्रदायक पनि हुनसक्छन्, जसको एफयूपी लिमिट थोरै हुन सक्छ ।

अनि तेस्रो सम्भावना भनेको ब्याण्डविथ खरिद गरेर ग्राहक धेरै बनाउन नसकेको सेवाप्रदायकले पनि धेरै एफयूपी लिमिट राखेको वा लिमिट नै नराखेको पनि हुनसक्छ । आफूसँग तत्कालीन अवस्थामा भएका ग्राहकहरुको माग धान्नका लागि पर्याप्त ब्याण्डविथ उनीहरुसँग हुनसक्छ । यस्तोमा जब क्रमशः ग्राहक बढ्दै जान्छन्, त्यस्तो सेवाप्रदायकले एफयूपी लागू गर्ने र सीमा पनि घटाउँदै लैजाने रणनीति हुन्छ ।

शेयर्ड इन्टरनेटमा एफयूपी सीमा कति रहने, लगातार कति दिनसम्म सीमा नाघेमा एफयूपी लगाउने र एफयूपी लागू हुँदा न्यूनतम स्पिड कति रहने भन्ने विषय नियामकले तय गर्न सकेको छैन ।

न्यूनतम इन्टरनेट स्पिड तोक्ने र त्यसलाई ग्यारेन्टी गर्ने दिशामा आवश्यक पहल भइरहेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल बताउँछन् । ‘हामीले यसका लागि आवश्यक अध्ययन अगाडि बढाइसकेका छौं,’ उनले भने, ‘सकेसम्म चाँडो यसलाई टुङ्ग्याएर न्यूनतम स्पिडको व्यवस्था लागू गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team