close

ह्वावे स्मार्टफोनको कथा : हामीले के पायौं, के गुमायौं ?

टेकपाना टेकपाना

जेठ २३, २०७८ १२:५२

ह्वावे स्मार्टफोनको कथा : हामीले के पायौं, के गुमायौं ?

काठमाडौं । यतिबेला हामी सबैलाई ह्वावेको कथा थाहा छ । सन् २०१९ को मे महिनामा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वावेमाथि ठूलो ठुगां नै खसाले । ह्वावेलाई अमेरिकाको ‘प्रतिबन्धको सूची’ मा सूचीकृत गरिदिए । जसले ह्वावेको स्मार्टफोन सेग्मेन्टमा ठूलो हलचल नै आयो । त्यहाँदेखि कम्पनीले आफूले गर्नसक्ने सबै क्षमता यसैमा लगाएको छ ।

सन् २०२० मा ह्वावे सामसङलाई पछि पार्दै विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन म्यानुफ्याक्चर कम्पनीसमेत भएको थियो । त्यसबेला अमेरिकी प्रतिबन्धका बावजुद पनि कम्पनीले उक्त सफलता हाल पार्न सक्नुलाई ठूलो उपलब्धिका रुपमा लिइएको थियो । तर, आज अर्थात एक वर्षको अन्तरालमा उक्त घटनाकाे परिणाम सुखद छैन । कम्पनी नम्बर वान त परै जाओस्, उत्कृष्ट पाँच कम्पनीको सूचीमा समेत छैन ।

अहिले ह्वावे जहाँ छ, त्यो कुनै अकल्पनीय विषय भने होइन । किनभने अमेरिकी कम्पनीसँगको पहुँच बिना ह्वावेलाई सफलता हासिल गर्न सम्भव थिएन । त्यसमा पनि सबैभन्दा महत्वपूर्ण थियो गुगलको प्रडक्ट, जसमा एन्ड्रोइड एक प्रमुख थियो । साथै थियो ‘चिप’, जुन विश्वमा अमेरिकाबाट आयात गरिएको विभिन्न प्रडक्टबाट निर्माण गरिएको छन् । किनभने अमेरिकाले आफ्नो प्रडक्ट प्रयोग गर्ने कम्पनीलाई समेत ह्वावेलाई सामान उपलब्ध गराउन प्रतिबन्ध लगाएको थियो ।

यो घटनाको बीचमा अर्को आश्चर्यजनक विषय के भइदियो भने ट्रम्पले गरेको निर्णयलाई हालका अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले पनि निरन्तरता दियो । अझ यो बिग्रिदै गएको छ । प्रविधिका विज्ञ तथा ह्वावेमाथि लगाइएको प्रतिबन्ध आजको लागि सही सावित भएतापनि यसले भोलिका दिने ठूलो असर पार्ने बताउँदै आएका छन् ।

यस्तैमा दुई वर्ष बितिसकेको छ । विश्वले यो बुझिसकेको छ कि ह्वावे अब स्मार्टफोन बजारमा प्लेयरको रुपमा रहने छैन । यस्तोमा अब हामी कहाँ उभिएका छौ भन्ने विषय हेर्न जरुरी छ । ह्वावे बिना स्मार्टफोन उद्योगमा कस्तो खालको परिवर्तन आयो ? यो उद्योग विस्तार भयो अथवा अझ साँघुरिदै गएको छ ? त्योभन्दा पनि महत्वपूर्ण विषय ह्वावेलाई के हुन्छ ?

हामीले के गुमायाैं ?

यो दुई वर्षको अवधिमा हामीले ह्वावेको सबैभन्दा उत्कृष्ट सिरिज मेट सिरिजको स्मार्टफोन गुमाएका छौं । जुन विश्वका धेरै प्रयोगकर्ताको लागि सधैं पर्खाइको विषय थियो । अझ त्यसमा प्रयोग हुने प्रविधि, ह्वावेले प्रयोगकर्ता दिने नयाँपन, फोटोग्राफीमा नयाँ आयाम । त्योभन्दा पनि इनोभेसन नै हामीले गुमाएका छौं । ह्वावेले ल्याउने इनोभेसनले सामसङलाई दबाब सिर्जना गर्दै आएको थियो ।

जसले गर्दा स्मार्टफोन बजारमा सँधै नयाँ इनोभेसन देख्न सकिन्थ्यो । तर, अब सामसङको प्रतिस्पर्धी नै नहुँदा सामसङबाट नयाँ इनोभेसनको आशा गर्नु पनि कुनै तात्पर्य रहँदैन् । यतिसम्म कि फोल्डेबल स्मार्टफोनको दुनियाँमा पनि ह्वावेले अन्य कम्पनीलाई नयाँ बाटो देखाएको थियो । उसैले सुरु गरेको यात्रामा अहिले अन्य कम्पनी विस्तारै अघि बढी रहेका छन् ।

हामीले के पायौं ?

जब ह्वावे विश्वका उत्ष्कृट पाँच स्मार्टफोनकाे सुचीबाट बाहिरियो, त्योसँगै अन्य चिनियाँ ब्राण्डलाई त्यहाँको बाटो खुलेको छ । त्यसमा सबैभन्दा ठूलो विजेता पक्कै पनि साओमी बनेको छ । जुन आज सामसङ र एप्पलपछि तेस्रो स्थानमा छ । तर, साओमीले सामसङलाई उछिन्नका लागि अझै धेरै वर्ष लाग्नेछ । जुन सफलता ह्वावेले हात पारिसकेको थियो । हुन सक्ला साओमीले अबको केही दुई वर्षमा एप्पललाई पछी पार्न सक्नेछ ।

यसका साथै बीबीके ब्यानर अन्तर्गतका धेरै ब्राण्ड पनि अघि बढ्न सफल भएका छन् । जसमा ओप्पो, भिभो, रियलमी रहेका छन् । मात्र तीन वर्षको अवधिमा रियलमी आज विश्वका उत्कृष्ट स्मार्टफोनको सूचीमा छैटौं स्थानमा पर्न सफल भइसकेको छ ।

त्यसबीचमा वानप्लसले पनि एउटा फुटप्रिन्ट क्रियन गर्ने मौका पाएको छ । ह्वावे बजारबाट बाहिरिदाँ प्रिमियम ब्राण्डको रुपमा बजारमा आफूलाई उभ्याउँदै आएको वानप्लसले बजारमा आफूलाई विस्तार गर्ने मौका पाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३