close

अनलाइन लुडो : भाग्यको खेल कि कौशल देखाउने ?, अदालतले गर्दैछ फैसला

टेकपाना टेकपाना

जेठ २३, २०७८ १६:३४

अनलाइन लुडो : भाग्यको खेल कि कौशल देखाउने ?, अदालतले गर्दैछ फैसला

काठमाडौं । अनलाइनमा लुडो खेल्ने प्रचलन अहिले सामान्य बनिसकेको छ । तपाईंले पनि म्यासेन्जरमा लुडो खेल्नका लागि आग्रहसहितको लिङ्क पक्कै पाउनुभएको होला । निकै नै चर्चित यस्तो खेल आखिर सम्भावनाको मात्र खेल हो अथवा कौशलको पनि ?

अब यसको फैसला मुम्बई उच्च अदालतले गर्नेछ । महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) का केशव मुलेले लुडोलाई कौशल देखाउने नभई भाग्यको खेल भनिनुपर्ने मागसहित मुम्बई उच्च अदालतमा रिट दायर गरेका हुन् ।

उनले आफ्नो रिटमा मोबाइलमा खेलिने लुडो उपर कारवाहीको समेत माग गरेका छन् । यो रिटको सुनुवाइ दुई हप्तापछि हुँदै छ । मुलेको रिटमा लुडो सुप्रिम एपले प्रत्येक सहभागिबाट पाँच रुपियाँ संकलन गरेर हरेक खेलमा २० रुपियाँ उठाउने र विजेतालाई १७ रुपियाँ दिने गर्छ । बाँकी भने एप आफैले राख्छ ।

मुलेका वकिल निखिल मेङ्ग्देले लुडोका नाममा सुरु भएको जुवाले समाजमा खराब अवस्था सिर्जना भएको बताए । यससम्बन्धी मुद्दा पहिले जिल्ला अदालतमा पुगेको थियो । जहाँ लुडोलाई कौशलको खेल मानेर यस विरुद्धको उजुरी लिन अस्वीकार गरिएको थियो ।

रिट निवदेकले भने पैसा लिएर खेलिने लुडो जुवा प्रतिबन्ध ऐनका दफा तीन, चार र पाँच अन्तर्गत पर्ने उल्लेख गरेका छन् । त्यस्तै निवेदकले लुडो खेलले समाजमा नकारात्मक असर पारेको र युवाहरू थप आकर्षित हुँदै गएकोले रिट उपर तत्काल सुनुवाइ हुनुपर्ने माग पनि राखेका छन् । रिट दर्ता गर्नु अघि मुले पुलिस स्टेसन पनि पुगेका थिए । तर प्रहरीले यस उपर कुनै कारवाही भने गरेनन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३