close

असार १ देखि नयाँ शैक्षिक सत्र, अनलाइनमार्फत शैक्षिक कार्यक्रम अगाडि बढाउन निर्देशन

टेकपाना टेकपाना

जेठ २४, २०७८ ९:५

असार १ देखि नयाँ शैक्षिक सत्र, अनलाइनमार्फत शैक्षिक कार्यक्रम अगाडि बढाउन निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्रमा शैक्षिक कार्यक्रमलाई वैकल्पिक विधिबाट अगाडि बढाउन निर्देशन दिएका छन् । आगामी असार १ देखि सुरु हुने नयाँ शैक्षिक सत्रलाई प्रभावकारी बनाउन उनले स्थिति सामान्य नभएसम्मका लागि अनलाइन सहित वैकल्पिक सिकाइको आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् ।

आइतबार शैक्षिक क्षेत्रका समसामयिक विषयवस्तुहरुको समीक्षा गर्न मन्त्री श्रेष्ठको अध्यक्षतामा मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको बैठक बसेको थियो ।शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड र जनक शिक्षा सामग्री केन्द्रका अधिकारी समेत रहेको सो बैठकले एसईई परीक्षा सम्बन्धी मन्त्रिपरिषदको निर्णय कार्यान्वयन तयारीको समीक्षा समेत गरेको छ ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दीपक शर्माले नयाँ शैक्षिक सत्रमा भर्ना तथा पाठ्यक्रम वितरणलाई सहज बनाउने, अनलाइन सहितका वैकल्पिक सिकाई प्रणालीबाट बालबालिकाको सिकाइलाई निरन्तरता दिने र शिक्षक तथा विद्यालय कर्मचारीलाई खोप उपलब्ध गराउन पहल गर्ने विषयमा समेत छलफल भएको बताए ।

बैठकमा मन्त्री श्रेष्ठले चालु शैक्षिक सत्रको बालबालिकाको सिकाइ उपलब्धीको उपयुक्त विधि र प्रकृयाका आधारमा मूल्याङ्कन गर्ने व्यवस्था गर्न र समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन आवश्यक प्रबन्ध मिलाउन समेत निर्देशन दिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३