नेपालमा यसकारण जरुरी छ लोकल फोरजी र लोकल फाइभजी

local 4G & 5G

‌ हामी सबैले थाहा पाएकै छौं, फोरजीमा थ्रीजीभन्दा डाटा स्पिड राम्रो हुन्छ । । यसमा सैद्धान्तिक रुपमा अधिकतम १०० देखि ३०० एमबीपीएससम्मको स्पिडमा इन्टरनेट चलाउन सकिन्छ । यसको अर्थ हाम्रो घरमा जोडिएको अप्टिकल फाइबर वा एडीएसएल इन्टरनेटबाट दिन सकिने सबै प्रकारका सेवाहरू अब मोबाइल इन्टरनेट बाटै दिन सकिने भयो । यसमा हामीले हाई ब्याण्डविथको आवश्यकता पर्ने नयाँ प्रकृतिका सूचना प्रविधिसम्बन्धी व्यवसायहरू संचालन गर्ने बारेमा पनि सोच्न सक्छौं ।

यो प्रविधिमा हामीले गर्ने भ्वाइस कल पनि आईपी प्याकेटको माध्यमबाट हुन्छ । त्यसै अनुरुप अहिले नेपाल टेलिकमले भीओएलटीई ल्याएको छ । तर अहिले केही मोबाइलमा यो सेवा चलेन भन्ने कुरा पनि आइरहेको छ ।परम्परागत सर्किट स्विचिङ मात्र सपोर्ट गर्ने डिभाइसमा त्यस किसिमको समस्या रहन्छ । तर यो क्षणिक समस्या हो किनकी यसलाई समाधान गर्ने प्रविधि सुलभ रूपमा उपलब्ध छ ।

फोरजीमा गइसकेपछि धेरै नयाँ नयाँ फिचरहरु पनि आएका छन् । यसमा इफिसेन्सी पनि राम्रो हुन्छ । यसको अर्थ सबैले राम्रो सेवा पाउने सम्भावना बढ्छ । यसलाई अधिकतम् सदुपयोग गर्नका लागि अहिले हामीले चलाइरहेका भ्वाइस र इन्टरनेट एप्लिकेसनका अतिरिक्त नयाँ प्रकारका सेवाहरूमा बारेमा पनि सोच्न सकिन्छ ।

अहिले महामारीको समयमा अत्याधिक प्रयोग भइरहेको भनेको शिक्षा अर्थात डिस्टेन्स लर्निङ हो । हामीले सबै घरमा अप्टिकल फाइबर-फिक्स ब्रोडब्याण्ड सेवा पुर्‍याउन सकेका छैनौं । त्यसको साटो हामीसँग मोबाइल कनेक्टिभिटी छ । हामीलाई डिस्टेन्स लर्निङ अर्थात् अनलाइन शिक्षण सिकाइका गतिविधि अगाडि बढाउन फोरजी राम्रो विकल्प हुनसक्छ । किनकि यसको डाटा स्पिडमा त्यस्ता एप्लिकेसन राम्रोसँग चल्न सक्छन् ।

अहिले कोभिडको असर विभिन्न चरणमा देखिन थालेको छ । यस्तो अवस्थामा हामीले शिक्षालाई त्यसै प्रकारले अगाडि बढाउनुपर्ने आवश्यकता छ । भ्वाइस र डेटा सेवा त थ्रीजीमा पनि छँदै थियो । हामीले फोरजीमा आधारित नयाँ नयाँ सेवा र एप्लिकेसन सोच्नुपर्ने हुन्छ । अर्को नयाँ प्रकारको सम्भावित सेवामा स्मार्ट ग्रिड पर्दछ।

अब क्रमशः हाम्रो घरमा भएका मिटरहरु पनि स्मार्ट हुँदै गइरहेका छन् । पुराना मिटरहरु स्मार्ट मिटरले प्रतिस्थापन गर्नुपर्ने हुन्छ । यसको अर्थ के हो भने हाम्रो घर-भवनमा कुन समयमा कति बिजुली खपत भइरहेको छ भन्ने कुरा थाहा पाउनका लागि डेटा आवश्यक पर्ने हुन्छ ।

यस आधारमा बिजुलीको उत्पादन र वितरणलाई राम्रोसँग व्यवस्थापन गर्न सकिन्छ । त्यसबाट हाम्रो लागत घट्छ र प्रभावकारिता बढ्छ । डेटा र भ्वाइस सेवा दिएर बाँकी रहेको फोरजीको नेटवर्कको क्षमतालाई हामी स्मार्ट ईनर्जीको क्षेत्रमा प्रयोग गर्न सक्छौ ।

यसको अर्को उपयोग भनेको सार्वजनिक सुरक्षाको क्षेत्रमा हो । हामीले सुरक्षाका लागि विभिन्न स्थानमा सीसीटिभी राखिरहेका हुन्छौं । ती क्यामेराहरुलाई केन्द्रीकृत रुपमा अनुगमन गर्न सकिने प्रणालीका लागि पनि फोरजी नेटवर्क प्रयोग गर्न सकिन्छ । 

सबैतिर तारयुक्त नेटवर्क हुँदैन । त्यस्तो ठाउँमा क्यामेराहरु सेटअप गरेर त्यहाँको भिडिओ फोरजीमार्फत ल्याएर केन्द्रीकृत सर्भरमा जोड्न सकिन्छ । यसलाई उपयोग गर्न सकिने अर्को क्षेत्र भनेको यातायात हो । हाम्रो बसपार्कमा बसहरु कतिखेर आइपुग्छन् भन्ने कुरा प्रायलाई थाहा हुँदैन ।

स्मार्ट ट्रान्सपोर्टेसनको न्युनतम सुविधाको कुरा गर्ने हो भने पनि बस स्टेसनमा कुन बस कतिखेर आइपुग्छ भन्ने कुरा चाँडो रुपमा हामीले सेवाग्राहीमा पुर्‍याउनुपर्ने हुन्छ । काठमाडौं जस्ता ठाउँमा यस किसिमको सेवा  अत्यावश्यक छ । काठमाडौंको जस्तो जनघनत्व भएका संसारका सबैजसो सहरहरुमा यस किसिमको सेवा  छ । 

स्मार्ट सिटीका कुराहरु राजनीतिक पार्टीका घोषणापत्रहरुमा व्यक्त गरेको देखिन्छ । त्यसमा योजना बनाएर बजेट पनि छुट्याइएको पाइन्छ । तर काम भने भइरहेको हुँदैन । यस किसिमको सन्दर्भमा फोरजी नेटवर्क प्रयोग गरेर यस किसिमका सेवा विस्तार गर्न सकिने संभावना छ । 

विकसित देशहरुमा लोकल फोरजी भन्ने हुन्छ । तर हाम्रो जस्तो देशमा यो अलिक असान्दर्भिक हुनसक्छ । ठूला फ्याक्ट्रीभित्र धेरै उपकरण हुन्छन् । ती उपकरणहरुलाई डिस्टेन्स मनिटरिङ गर्ने, नियन्त्रण गर्ने अथवा अटोमेसन गर्ने कुराहरु हुन्छन् । अहिले आएर त्यस्तो सेवाका लागि लोकल फाइभजीको पनि प्रयोग सुरु गरिएको छ ।

फ्याक्ट्रीबाहेक शपिङ मल, ठूला ठूला अस्पताल जस्ता ठाउँहरुमा पनि लोकल फोरजी वा फाइभजी को प्रयोग गर्न सकिन्छ । यस किसिमको प्रविधि नेपालमा पनि प्रयोगमा ल्याउन सकिने संभावना छ । जापानकै उदाहरण दिने हो भने पनि अहिले यहाँ लोकल फाइभजीका लागि स्पेक्ट्रम नै छुट्याइसकेको अवस्था छ ।

४.५ गिगाहर्ज र २८ गिगाहर्जको ब्याण्डमा लोकल फाइभजीका लागि फ्रिक्वेन्सी छुट्याइएको छ ।  त्यसको प्रयोग र लाइसेन्सिङ आआफ्नै प्याटर्नमा हुन्छ । तुलनात्मक रुपमा यो निकै सस्तो पनि हुन्छ र डिप्लोयमेन्ट गर्न पनि सजिलो हुन्छ । हाम्रोमा त्यतिधेरै अभ्यास नभए पनि अन्य देशहरुमा स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्ने ईकाई हुन्छन् ।

त्यस्ता संस्थाले यस किसिमको लाइसेन्स लिन्छन् । कुनै स्थानमा कृषि वा पशु पंक्षीको मनिटरिङ गरेर उत्पादन बढाउनका लागि नेटवर्क आवश्यक छ भने त्यस्तो कार्यमा यसलाई प्रयोग गर्न सकिन्छ । फलफुल, चिया खेती, आदि जस्ता व्यावसायिक कृषिको क्षेत्रमा माटो मनिटरिङ, वातावरण मनिटरिङ वा किरा फट्याङ्ग्रा मनिटरिङमा यो उपयोग हुनसक्छ । 

फोरजी तथा फाइभजीलाई हामी पर्यटनको क्षेत्रमा पनि प्रयोग गर्न सक्छौं । एआर/भीआर मार्फत घरमा बसेरै भर्चुअल रुपमा घुमफिरको अनुभव लिन सक्छौं ।  कोभिड व्यवस्थापन तथा अहिले अस्पतालहरुमा भएको बिरामीको चापको व्यवस्थापनमा इन्जिनियरिङ प्रयोग भइरहेको छैन ।

एउटा अध्ययन अनुसार स्वस्थ मानिस अस्पताल गएर फर्किँदा कुनै न कुनै प्रकारको संक्रमण भएर घर फर्किने संभावना १० प्रतशत भन्दा बढी छ । प्रविधिको प्रयोगले मात्र यसलाई न्यूनिकरण गर्न सकिन्छ ।  सम्बन्धित सरोकारवालाबीचबाट यसमा अध्ययन गरेर आवश्यक सेवा तथा एप्लिकेसन चाँडै विस्तार गर्न सकिन्छ ।

यो कार्यमा स्टार्टअप र नवप्रवर्तनको क्षेत्रमा काम गर्ने युवाहरुलाई लगाउन सकिन्छ । यसमा पनि फोरजी नेटवर्क उपयोग गर्न सकिन्छ । अहिले त झन्  एक दुई प्रतिशतमा झरिसकेको अवस्था छ । यसको अर्थ हामीसँग फिक्स लाइन पर्याप्त छैन र पुर्‍याउन पनि सक्दैनौं । अहिले मोबाइलले हामीलाई एक प्रकारको सुविधा दिएको छ । ग्रामीण दूर्गम क्षेत्रका घर घरमा पनि यो सुविधा पुगेको छ ।  हाम्रो जस्तो भूगोल भएको देशमा राम्रो कनेक्टिभिटी सम्भव हुने भनेको फोरजी-फाइभजी जस्ता प्रविधिले नै हो । 

यद्यपी सर्भर राखिएको ठाउँमा फिक्स लाइन सेवा नै आवश्यक पर्छ । तर उपभोक्तातिर हेर्ने हो भने मोबाइल सेट, मोबाइल एप्लिकेसन र मोबाइल नेटवर्क नै हो । नयाँ सेवाको कुरा गर्दा त्यसका लागि केही आधारभूत पूर्वशर्तको कुरा आउँछ । त्यसमा पहिलो कुरा कनेक्टिभिटी स्टेबल अर्थात भरपर्दो हुनुपर्छ ।

अर्को भनेको बिग डेटा र क्लाउड सर्भिसको कुरा आउँछ । अहिले त झन् एज क्लाउड भन्ने गरिन्छ । यो भनेको सेवा प्रदान गर्ने सर्भर प्रयोगकर्ताको नजिकै राखिएको हुनुपर्छ । यसले नेटवर्कको लेटेन्सी वा डिले कम हुने भएपछि सेवा फास्ट हुन्छ । साथसाथै डेटालाई सहरको वा देशको बोर्डरपारी पठाउनु परेन भने नेटवर्क सञ्चालन खर्च घट्छ र देश बाहिर जाने खर्च पनि जोगिन्छ ।  

हाम्रो जस्तो देशमा पूर्वाधारमा सरकारले लगानी नगरेको अवस्था छ । पूर्वाधार भनेको कनेक्टिभिटी मात्र नभएर प्लेटफर्म पूर्वाधार कुरा पनि हुन्छ । डिजिटल नेपाल फ्रेमवर्कले तयार पारेका ८० वटा अग्रसरतालाई प्राप्त गर्न सकिन्छ । फोरजी वा फाइभजीको कनेक्टिभिटी, त्यसपछि लोकल क्लाउडको कुरा आउँछ ।

सम्भव भएसम्म हरेक सहरमा सरकारी निजी साझेदारीमा भए पनि हामीले लोकल क्लाउड बनाउन अत्यन्तै आवश्यक छ । त्यसमा हुने कम्प्युटिङ प्लेटफर्मको कुरा पनि आउँछ ।  अहिले विभिन्न किसिमका प्लेटफर्मको सम्भावना हुनसक्छ । उदाहरणको लागि भर्चुअलाइजेसन गर्न सकिने ओपन स्ट्याट प्लेटफर्म हुनुक्छ ।  लिनक्समा आधारित अपरेटिङ सिस्टम हुनसक्छन् ।

सेक्युरिटीका विभिन्न सिस्टमको कुरा पनि आउँछ । उदाहरणको लागि नेपाल टेलिकम, एनसेल वा वर्ल्डलिङ्क जसले पनि होस्ट गर्न सक्छ ।  त्यस्तो पूर्वाधार कसरी प्रतिस्पर्धी संघसंस्थाले पनि प्रयोग गर्ने अथवा एउटा संस्थाले बनाएको पूर्वाधारबाट अर्को प्रतिस्पर्धी संस्थाका प्रयोगकर्ताले सेवा पाउने नीति आवश्यक छ ।

त्यसो भएको खण्डमा बिराटनगरमा रहेको एनसेलको ग्राहकले त्यहाँ रहेको टेलिकमको पूर्वाधार प्रयोग गर्न पाउँछ, त्यहीँको सेवा लिन पाउँछ । यसले गर्दा सञ्चालन खर्च घट्छ र सेवाको मूल्य पनि सस्तो हुन्छ । डेटाको प्रयोगका लागि सहरभित्रै कारोबार हुने हो भने किन महंगो लिने भन्ने प्रश्न पनि आउँछ ।

पहिलेको ट्रङ्क कल सेवा जस्तै अन्तर्राष्ट्रिय सेवामा एक्सेस गर्नुपर्‍यो भने महंगो लिने र स्थानीय सेवा उपयोग गर्दा सस्तोमा दिने उपाय पनि हुनसक्छ । यस्ता विषयमा नियामकले पनि सोच्न आवश्यक छ । डिजिटल नेपालको फ्रेमवर्कले एउटा भिजन दिएको छ । त्यो हेर्दाखेरी नेपालको भिजन अन्य विकसित र विकासशिल देशहरुको भिजनकै समान देखिन्छ ।

त्यसमा कुनै पनि प्रकारको कमी महसुस हुँदैन । तर त्यसलाई कार्यान्वयन गर्ने संयन्त्र भने अन्य देशको तुलनामा हाम्रोमा अस्पष्ट छ । उदाहरणका लागि यातायात क्षेत्रलाई स्मार्ट बनाउने हो भने कहाँबाट सुरु गरेर कहाँसम्म जाने त्यसको रोडम्याप चाहिन्छ । कसैले कागजमा लेखेर ल्याएको वा राजनीतिक एजेन्डाको रुपमा आएको रोडम्यापको काम छैन ।

त्यसैले कार्यान्वयन गर्न सकिने रोडम्याप चाहिन्छ । त्यस बारेमा हामी जति पनि बोल्न सक्छौं । तर त्यसले अन्ततः निस्किने नतिजा भनेको शून्य हो । त्यसैले माथि भनिए जस्तो फोरजीका लागि डेटा सेन्टर, क्लाउड कम्प्युटिङ प्लेटफर्म यति विस्तार गर्दै छौं र शेयर गर्नका लागि यस्तो नीति ल्याउँदै छौं भन्ने किसिमको स्पष्ट रोडम्याप आवश्यक हुन्छ ।

ता कि साना उद्यमीहरुले लिजमा सेवा लिन सक्छन् र आफ्नो आईडिया टेस्ट गर्न सक्छन् । उनीहरुको व्यवसाय बढ्दै गइसकेपछि त्यसै अनुसारको शुल्क लगाउँछौं भन्ने किसिमको लचकता हुनुपर्छ । यस किसिमका प्रवर्द्धनात्मक नीतिहरु आवश्यक हुन्छन् । यस्ता पर्वर्द्धनात्मक नीतिहरु कार्यान्वयनमा लैजान विकसित देशहरुमा सरकारले अनुसन्धानका लागि रिसर्च फण्ड छुट्याएको हुन्छ । 

त्यसमा रहेर शैक्षिक क्षेत्र, उद्योग, साना उद्यमी तथा स्टार्टअप र सरकारी निकायलेले संयुक्त रुपमा काम गरेर डिजिटल नेपालको फ्रेमवर्कले पहिचान गरेका मूख्य क्षेत्रहरुमा काम गर्छन् । यसरी निकालिएको निचोडबाट सेवाको प्लेटफर्म तयार पार्न सकिन्छ र त्यो नै प्रभावकारी हुन्छ । युरोप, अमेरिका, जापान, कोरिया, चीन जस्ता मुलुकहरुमा यसरी नै काम हुन्छ ।

जापानमा पनि नेपालमा जस्तै विभिन्न सेवाप्रदायकहरु छन् । अहिले जापानमा राक्तेन मोबाइल सेवाप्रदायक यहाँको चौथो ठूलो सेवाप्रदायकको रुपमा उदाएको छ । त्यसले फाइभजी नेटवर्क सेवा सार्वजनिक गर्दैछ । उसले एकदमै आकर्षक प्याकेज ल्याएको छ । अन्य ठूला सेवाप्रदायकका ग्राहकलाई आफूतिर आकर्षित गर्न यस्ता प्याकेजहरु ल्याउने गरिन्छ ।

त्यसका लागि भारतको रियालाइन्स जियोलाई पनि हामीले उदाहरणको रुपमा लिन सक्छौं । नेपाल टेलिकमको हकमा ग्राहक अरुबाट आफूतिर ल्याउनुपर्ने आवश्यकता नभए पनि आफ्ना ग्राहकलाई सन्तुष्ट राख्नका लागि त्यस्ता प्याकेजहरु अपडेट गर्दै लैजानुपर्ने देखिन्छ । बैंक तथा वित्तीय क्षेत्र, ईकमर्स क्षेत्रले दूरसञ्चार सेवालाई राम्रो प्रयोग गर्ने दिशा तिर लागिरहेका छन् ।

यसै गरी अन्य सेवाहरुलाई पनि लैजान सकिन्छ । हुन त सरकारले हालै मात्र नागरिक एप ल्याएको छ । तर त्यसका लागि आवश्यक पूर्वधार अझै पर्याप्त देखिँदैन । त्यसका लागि ओपन सर्भिस प्लेटफर्म आवश्यक हुन्छ । त्यसको अर्थ एपीआई खुला गरिदिनुपर्छ । त्यसो भएको खण्डमा खुल्ला रुपमा सोच्न सकिन्छ र नवप्रवर्तन गर्न सहज हुन्छ ।

नेपालमा कनेक्टिभिटीका साथै सूचना तथा सञ्चार प्रविधि-आईसीटीलाई प्रवर्द्धन गर्ने कार्यमा ग्रामीण दूरसञ्चार विकास कोष-आरटीडीएफलाई उपयोग गर्न सकिन्छ । आईसीटी भन्ने वित्तिकै इनोभेसन जोडिन्छ । इनोभेसन प्रवर्द्धन गर्न युवाहरुलाई त्यसमा कसरी संलग्न गराउने भन्ने प्रश्न आउँछ । त्यस दिशामा हामीले आरटीडीएफ परिचालन गर्न सक्छौं । 

नेपाल टेलिकम जस्ता दूरसञ्चार कम्पनीहरुले सरकारी सेवा होस्ट गरेर र कनेक्टिभिटी दिएर पनि आम्दानी गर्न सक्छन् । उदाहरणको लागि अहिलेको महामारीको समयमा अफिसको फिक्स लाइन उपयोग गर्न सकिँदैन । यसको विकल्पमा जापानका सेवाप्रदायकले क्लाउडमा आधारित फिक्स नेटवर्क सेवा दिन थालेका छन् ।

उदाहरणका लागि काठमाडौंको फिक्स लाइन ०१ बाट सुरु हुन्छ भने बिराटनगरको ०२१ बाट सुरु हुन्छ । क्लाउडमा आधारित टेलिफोन कन्ट्रोल सिस्टम बनाउन सकियो भने ती फिक्स लाइन नम्बरहरु पनि मोबाइल फोनमा प्रयोग गर्न सकिन्छ र आफूसँगै बोकेर जहाँ गए पनि नेटवर्कमा जोडिएर रहन सकिन्छ । यस किसिमको प्लेटफर्मको विषयमा पनि हामीले सोच्न सक्छौं । यो भनेको फिक्स पनि मोबाइल हुने र मोबाइल पनि फिक्स जस्तो हुने लचकता प्राप्त हुने अवस्था हो । मोबाइल फोन पनि फिक्स फोन जस्तै भरपर्दो किन हुन्छ भने फिक्स लाइनमा जुन गुणस्तरको सेवा प्राप्त हुन्छ, त्यही गुणस्तरको सेवा मोबाइल बाट पनि प्राप्त हुन्छ ।

फिक्स लाइनलाई क्लाउडमा आधारित सेवा बनाउने आइडिया केही वर्ष अघि नै आइसकेको विषय हो । अहिले कोभिड आइसकेपछि चाँडो चाँडो कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता महसुस गरिएको मात्र हो । हामीले अन्तर्राष्ट्रिय तथा द्वीपक्षिय सहकार्यबाट यस किसिमका जानकारीहरु लिन सक्छौं । हाम्रो नेपालमा सेवाप्रदायकहरुको रिसर्च विङ छैन ।

संसारमा कुन किसिमको इनोभेसनले दूरसञ्चारलाई अगाडि बढाउँदै छ र कोसँग कस्तो किसिमको ज्ञान छ अनि कसरी  सहकार्य गर्न सकिन्छ भन्ने कुरा त्यस्तो विङमार्फत अगाडि बढाउन सकिन्छ ।  यस किसिमका अवसरको बारेमा हामीले सोच्नुपर्ने हुन्छ । अन्यथा हामी स्थानीय बजारमा टिकिरहन त सक्छौं तर विस्तार हुन सक्दैनौं ।

उत्तम किसिमको सेवा दिन र सेवा प्राप्त गर्ने समयलाई घटाउन हामीले विभिन्न माध्यमबाट सहकार्य गर्न सक्छौं । आईटीयू, थ्रीजीपीपी, जीएसएमए जस्ता संस्थाहरुमा संलग्न हुँदा ज्ञान बाँड्न सकिन्छ । अहिले त भर्चुअलाइज्ड प्लेटफर्मको कुरा आइरहेको छ । यसबाट भर्चुअल मसिन बनाउन सकिने हुन्छ र त्यसलाई सफ्टवेयरले नै रिकन्फिगर गर्न सकिन्छ । 

यसको अर्थ कुनै पनि नयाँ सेवालाई इन्स्टल गर्नुपर्‍यो, अपग्रेड गर्नुपर्‍यो, डिप्लोइ गर्नुपर्‍यो वा मनिटर गर्नुपर्‍यो  भने पहिले जस्तो उपकरणलाई नै प्रतिस्थापन गर्नुपर्ने आवश्यकता हुँदैन ।  त्यसैले हामीले भविष्यमूखी पूर्वाधार कस्तो हुनुपर्छ, कहाँबाट, कहिले देखि कसरी प्रयोगमा ल्याउने भन्ने ज्ञान हुन आवश्यक छ ।  हामी यस्ता ज्ञानको क्षेत्रमा पछि रह्यौं भने सधैं पछि पर्छौं । अहिले फोरजीको डिप्लोयमेन्टमा पनि हामी १०/१२ वर्ष पछि परेका छौं भने फाइभजीमा पनि पछि पर्न सक्छौं ।

(नेसनल इन्स्टिच्युट अफ कम्युनिकेसन एन्ड टेक्नोलोजी जापानका रिसर्च म्यानेजर डा वेद काफ्लेले शनिबार टेकपाना द्धारा आयोजित दूरसञ्चार नीतिगत बहसका क्रममा व्यक्त गरेको विचारको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team