close

डिशहोममा गाभियो प्रभु टिभी, सेवा माइग्रेसनको प्रक्रिया सुरु

टेकपाना टेकपाना

जेठ २५, २०७८ १५:३७

डिशहोममा गाभियो प्रभु टिभी, सेवा माइग्रेसनको प्रक्रिया सुरु

काठमाडौं । डिशहोम र प्रभु टिभी एक आपसनमा गाभिने पक्का भएको छ । डाइरेक्ट टु दी होम (डीटीएच) तथा डिजिटल टेलिभिजन सेवा उपलब्ध गराउँदै आएका यी दुई कम्पनी मर्ज भई एउटै ब्राण्ड डिशहोमको रुपमा सेवा प्रदान गर्ने भएका हुन् ।

टेलिभिजन सेवामात्रै नभएर दुवै कम्पनीले गत वर्षबाट इन्टरनेट सेवा पनि उपलब्ध गराउँदै आएका छन् । अब इन्टरनेट सेवा पनी एउटैमा गाभिएर डिशहोम इन्टरनेटको रुपमा सेवा उपलब्ध गराउने निर्णय भएको डिशहोमका प्रवन्ध निर्देशक सुदिप आचार्यले बताएका छन् ।

आचार्यका अनुसार गाभिने निर्णय भइसकेको छ । त्यसका लागि कागजी प्रक्रियामात्रै बाँकी रहेको अहिलेकाे अवस्थामा सेवा माइग्रेसनको प्रक्रिया भने अघि बढिसकेको छ ।

‘सेवा माइग्रेसनको काम सुरु भइसकेको छ,’ आचार्यले भने, ‘हाल प्रभु टेलिभिजनका झन्डै एक लाख २५ हजारको हाराहारीमा ग्राहक रहेका छन् । भने इन्टरनेटतर्फ १० हजारको हाराहारीमा प्रयोगकर्ता रहेका छन् । लकडाउन भएका कारण सेवा माइग्रेसनका लागि २ महिना जति लाग्न सक्नेछ ।’

उनका अनुसार टेलिभिजनतर्फ ग्राहकले सेवा माइग्रेसनको क्रममा डिशहोम, आईपीटीभी, केबल टिभी, टेरेस्टियलमा आधारित टिभी जुनसुकै छनोट गर्न सक्नेछन् । हाल प्रभुले आईपीटीभी र टेरेस्टियलमा आधारित टिभी सेवा उपलब्ध गराइरहेकाले ग्राहकले त्यही प्रयोग गर्छुभन्दा पनि पाउने आचार्यले बताए ।

आचार्यका अनुसार सेवा माइग्रेसन गर्दा सेवाग्राहीले छनोट गर्ने सेवाका आधारमा शुल्क लाग्न सक्छ । ‘यदि पुरानै प्रविधिमा बस्ने हो भने त शुल्क लाग्ने भएन शुल्क लाग्ने ठाउँमा पनि सहुलियतमा सेवा उपलब्ध गराइने छ,’ उनले भने ।

यो मर्जरसँगै डिशहोमका टेलिभिजन ग्राहक संख्यामा थप १ लाख ५० हजार जोडिएका छन् भने, इन्टरनेटतर्फ १० हजार । त्यस्तै अब डिशहोमका इन्टरनेट प्रयोगकर्ता ३० हजार पुग्ने आचार्यले बताए । उनले मर्जरपछि सेवाग्राहीलाई थप सहुलियतमा सेवा प्रदान गर्न कम्पनी तत्पर रहेको समेत बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१